कर्णालीमा बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने, यी हुन् सम्भावित मन्त्री

सुर्खेत । मन्त्रालय भागबण्डा मिलेसँगै कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालिएको छ । मंगलबार मन्त्रालयको भागबण्डाको टुंगो लगाएसँगै नेताहरू मन्त्री छनोटको तयारीमा लागेका हुन् ।
सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ भने नेकपा एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको छ ।
यसैबीच मन्त्रालयको टुंगो लागेसँगै कुन दलबाट को मन्त्री बन्ने भन्ने विषयमा चर्चा हुन थालेको छ । २७ पुषमा नियुक्त भएका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ सहित एमालेको तर्फबाट विनोदकुमार शाह र माओवादीको तर्फबाट मंगलबहादुर शाहीले २८ पुषमा पद तथा गोपनीयताको शपथ लिएका थिए । १० औं दिनमा प्रदेश सभामार्फत विश्वासको मत लिएका शर्मा बुधबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा लागेका छन् ।
एमालेले मन्त्री छनोट गर्ने जिम्मेवारी दलका नेता यामलाल कँडेललाई दिएको छ भने माओवादीले प्रदेश इञ्चार्ज कालीबहादुर मल्ल, दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा र प्रदेश अध्यक्ष विमला केसीलाई दिएको छ । माओवादी प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले बुधबार मन्त्री छनोटको विषयमा छलफल हुने बताए । ‘भोलि (बुधबार) दिउँसो शपथ ग्रहण गर्नेगरी मन्त्री टुंग्याइने छ,’ उनले भने ।
यी हुन् मन्त्रीमा सम्भावित व्यक्ति
बुधबार एमाले–माओवादीका गरी चार जना नयाँ मन्त्री नियुक्त हुनेछन् । यसअघि एमालेबाट विनोदकुमार शाह र माओवादीबाट मंगलबहादुर शाही मन्त्री बनिसकेका छन् । विना विभागीय मन्त्रीले समेत मन्त्रालयको जिम्मेवारी पाउनेछन् । सम्भवतः एमालेका शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको नेताहरूको भनाई छ । बाँकी एमालेबाट जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर मल्ल र डोल्पाका शेरबहादुर बुढा मन्त्रीका लागि सम्भावित छन् । तर, अन्य नेताहरुपनि मन्त्रीमा आकांक्षा राखेका छन् । ‘पार्टीभित्र उहाँहरु तीन जनाकै नाम विशेष गरी उठिरहेको छ,’एमालेका एक सांसदले भने ।
माओवादीमा भने अधिकांश सांसदहरू मन्त्री बन्ने लाइनमा देखिएका छन् । अघिल्लो कार्यकालमा मन्त्री भइसकेका विन्दमान विष्ट र वीरबहादुर शाही मन्त्री बन्ने लाइनबाट बाहिर छन् । माओवादीले पहिला मन्त्री बनिसकेका भन्दा पनि नयाँलाई प्राथमिकतामा राखेर मन्त्री छनोट गर्ने तयारी गरेको छ ।
माओवादीबाट कृष्ण जिसी, भीमप्रकाश शर्मा, उर्मिला विश्वकर्मा, दुर्ग रावत मन्त्रीका लागि सम्भावित व्यक्ति हुन् । कालिकोटले अघिल्लो कार्यकालमा मुख्यमन्त्री पाइसकेको र अहिले उपसभामुख पाइसकेकाले रावतको सम्भावना न्यून रहेको नेताहरूको भनाई छ । यसअघि मुगुका मंगलबहादुर शाही मन्त्री भइसकेका छन् ।
माओवादीले महिला सांसद विश्वकर्मालाई मन्त्री बनाएमा भीम प्रकाश शर्मा र जिसी मध्ये एक मन्त्री बन्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा ४ जना मृत फेला
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य
-
रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन