मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमालेलाई पाखा लगाएर राष्ट्रपति पद हत्याउने कांग्रेसको मिसन !

राष्ट्रपतिमा एमाले र माओवादीबीच सहमति भएकै हो त ?
बिहीबार, १२ माघ २०७९, २२ : ०५
बिहीबार, १२ माघ २०७९

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सो पदमा दलहरुबीच तानातानको अवस्था देखिएको छ । सत्ता साझेदार दलबीच एमालेले सो पद पाउने मोटामोटी सहमति भएको बताइपनि स्पष्ट चित्र नआउँदा अन्योलता कायम भएको हो ।  वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । संवैधानिक राष्ट्रपति भएपनि विभिन्न राजनीतिक परिघटनामा भूमिका निर्णायक हुने र विगतमा राष्ट्रपतिकै कारण सरकार अफ्ठ्यारोमा पर्ने गरेकाले यो पदलाई दलहरुले महत्व दिएका छन् । सोहीअनुसार दलहरु आफू अनुकुलको व्यक्तिलाई पदमा विराजमान गराउने ध्याउन्नमा देखिन्छन् ।

 माघ ५ गते प्रतिनिधिसभाको सभामुख चयन भएपछि संसद भवनबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन सहमतिमै हुने प्रतिक्रिया दिएका थिए ।  त्यसलगतै संसद भवनबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी ओलीले भने प्रचण्डको प्रतिक्रियाको प्रतिवाद हुनेगरी एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका थिए । 

पत्रकारहरुसँग उनले भनेका थिए, ‘सहमति हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’  त्यसअघि पुस ३० विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग भेटघाटको क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा सहमति भइनसकेको बताएका थिए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा कसैसँग कुनै सहमति भएको छैन’, प्रचण्डको भनाइ थियो । यसआधारमा एमाले–माओवादी केन्द्रसहितको सत्ता साझेदार दलमा ठोस सहमति नजुटेको र दलहरु आ–आफ्नो पक्षमा लबिङमै रहेको प्रष्ट हुन्छ । 

उसो त पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि काँग्रेसको पनि चुरीफुरी बढेको छ । विश्वासको मत दिएको बदलामा राष्ट्रपति पाउने विश्वासमा रहेको कांग्रेस माओवादीको सकारात्मक जवाफको प्रतिक्षामा देखिन्छ । काँग्रेसका नेता एवं प्रवक्ता डा.प्रकाशशरण महतले संविधानको रक्षाका लागि राष्ट्रपति पदमा उपयुक्त व्यक्ति को होला भन्ने विषयमा छलफल भइरहेको बताए । ‘प्रधानमन्त्री प्रचण्डजी पनि पनि संविधानका रक्षाका लागि गम्भीर हुनुहुन्छ । काँग्रेस पनि त्यसप्रति गम्भीर छ’, उनले भने, ‘त्यसमा दुवै दलको कुरा मिलेको छ । त्यही बिन्दुमा दुवै दलको सहमति हुने हो कि भन्ने अपेक्षा काँग्रेसको छ ।’

एमालेले संसद विघटनको कुरा पटक पटक उठाएको उल्लेख गर्दै महतले त्यसले गर्दा माओवादी, काँग्रेसलगायत विभिन्न दलमा आशंका उब्जिएको बताए ।  संविधानको रक्षाका लागि सो पदमा कस्तो व्यक्ति उपयुक्त हुन्छ भन्ने बारेमा विभिन्न दलसँग छलफल भइरहेको उनले बताए ।    काँग्रेसले यस्तो छनक दिँदा एमाले अध्यक्ष ओलीले भने पुस २६ गते संसद भवनमा आफ्नो मन्तव्य राख्ने क्रममा कांग्रेसप्रति आक्रोश पोखेका थिए । 

‘यदि यो समर्थनभित्र सदासयताबाहेक अरु कुरा छैन भने, कुनै जाल होइन भने, यो समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने म भन्न चाहन्छु, जाल हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याके जस्तै हुनेछ । कोही यसभित्र भोलिका निम्ति अरुखालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ, किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने बाला छैन ।’

राष्ट्रपति पदका लागि तानातान हुँदा माओवादी केन्द्र निर्णायक तहमा देखिएको छ । माओवादी केन्द्रले गडबड गरेर सत्ता साझेदारबाट फुत्किने गरी निर्णय लिएको खण्डमा कांग्रेसका लागि राहत मिल्नेछ । अन्यथा, कांग्रेसका लागि सो पद ओलीले भनेजस्तै ढोक्सा बन्ने निश्चित छ । 

एमाले सशंकित
प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग पनि विश्वासको मत लिएपछि एमाले सशंकित देखिन्छ ।  प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिका लागि कसैसँग सहमति भएको छैन भन्नु र एमालेले राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति भइसकेको छ भन्नुले एक अर्कामाथि अविश्वास बढाएको हो । त्यस बीचमा एमालेले खेलिरहेको छ ।  एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले र माओवादीबीच भएको सहमतिका आधारमा नै सरकारका सबै कामकारवाही अगाडि बढेको बताए । एमालेका अध्यक्ष अ‍ोली र माओवादीका अध्यक्ष प्रचण्डबीच राष्ट्रपति र उपराष्ट्रपतिमा मौखिक सहमति भएको उनको भनाइ छ । 

‘त्यही सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री हुनुभयो, एमालेबाट देवराज घिमिरे सभामुख बन्नुभयो, प्रधानमन्त्री र सभामुखमा पालोपालो रहने सहमति भएको छ, त्यसपछि राष्ट्रपति एमालेले लिने र उपराष्ट्रपति माओवादीले लिने सहमति भएको छ त्यही सहमति अनुसार सबै हुन्छ’, उनले रातोपाटीसँग भने, ‘काँग्रेसले एउटा पासो फ्यालेको छ, त्यसमा सबै अहिले रुमलिरहेका छन् अहिले त्यसले  खासै अर्थ राख्दैन, एमाले र माओवादीबीच भएको सहमति कार्यान्वयनमा आउँछन् ।  तर प्रधानमन्त्री प्रचण्डले सम्पादकहरुसँगको छलफलमा भनेका थिए, ‘काँग्रेसले विश्वासको मत दिइसकेकाले उसलाई पनि विश्वासमा लिनु मेरो जिम्मेवारी पनि हो नि । कांग्रेसले कल्पना नै नगरेको काम गरेर मलाई समर्थन गरेको छ ।’ 

पद हत्याउने कांग्रेसको मिसन
विश्वासको मत लिइसकेका प्रधानमन्त्री प्रचण्डले सभामुख, उपसभामुखमा नसघाएकाले राष्ट्रपतिमा सघाउने आशा कांग्रेसमा छ ।  काँग्रेस त्यही विश्वासका साथ तयारीमा लागेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि विषयवस्तुतमा नचिढ्याउन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको बताइन्छ । 
उनले पदाधिकारीको बैठकमा राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम अघि सारेका छन् । सभापति देउवाले कुनै पनि हालतमा राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार निर्वाचित हुने वातावरण बनाउनुपर्ने भन्दै नेताहरूलाई अन्य दलसँग छलफलमा जुट्न निर्देशन पनि दिइसकेका छन् ।  सभापति देउवाको निर्देशनपछि सो पार्टीका नेताहरुले माओवादी केन्द्रलगायत अन्य दलका नेता शीर्ष नेताहरुसँग अनौपचारिक छलफल सुरु गरिसकेका छन् । 

त्यसले एमालेलाई झन झस्काएको छ । एमालेका स्कूल विभागले माघ ११ गते आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गठबन्धन भत्काएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको धारणासमेत राखेका थिए । ओलीको संकेत राष्ट्रपतिमा सहमति भइसकेको र त्यसमा दायाँबायाँ हुन नसक्ने भन्ने थियो ।  उसो त माओवादीले काँग्रेसलाई साथमा लिएपछि ओली दवावमा देखिएका छन् । सोही कारण ओलीले सत्ता गठबन्धनभित्रै पनि आफ्ना पक्षमा दलहरुलाई ध्रुवीकृत गर्न थालेका छन् । उनले राजेन्द्र लिङ्देल नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो पक्षमा लिएका छन् । उता प्रधानमन्त्री प्रचण्डले जनमत पार्टी, जसपा, लोसपाका साथै काँग्रेस र नेकपा एकीकृतलाई साथमा राखेका छन् । 

यसैबीच प्रचण्डले पार्टी एकताको पहल पनि सँगै थालेको अवस्था छ । माओवादीले डा.बाबुराम भटट्राई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको प्रकृया अगाडि बढाइसकेको छ । नेकपा एकीकृत समाजवादी, जसपासँग पनि एकता गर्ने गरि प्रकृया अगाडि बढाएको छ । यसरी माओवादी केन्द्रले वामपन्थी मोर्चा बनाउन थालेको सो मोर्चा आफू विरुद्धको रहने बुझाइ एमालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप