बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

रविले राहदानी विभागमा बुझाए छानविनमा परेको पासपोर्ट

आइतबार, १५ माघ २०७९, १७ : १९
आइतबार, १५ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छानविनमा परेको नेपाली पासपोर्ट राहदानी विभागमा बुझाएका छन् । आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाएको रास्वपाका नेता दीपक बोहराले रातोपाटीलाई जानकारी दिए ।

आइतबार मात्र काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्ति गरेका लामिछानेले अवैध नागरिकताबाट बनाएको पासपोर्ट फिर्ता गरेका हुन् । लामिछानेले ५ मार्च २०१४ मा अमेरिकी नागरिकका रुपमा पासपोर्ट बनाई नेपाल आएपछि अमेरिकी पासपोर्ट र नागरिकता त्याग नगरी २७ मे २०१५ मा नेपालबाटै अर्को नागरिकता बनाएका थिए । उक्त पासपोर्टमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

नेपाल नेगरिकता ऐन, २०६३ ले नेपालमा दोहोरो नागरिकता लिन प्रतिबन्ध लगाएको छ । कुनै विदेशीले झूटो विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेमा निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ मा दण्ड सजाय सम्बन्धी व्यवस्था गरिएको छ । ऐनमा २१ को को उपदफा १ मा विदेशी नागरिकले झूठो विवरण दिई नागरिकता लिएमा वा प्राप्त गरेमा हुने सजायबारे उल्लेख गरिएको छ । 

सन् २०१५ मा रवि लामिछाने अमेरिकी नागरिक रहेकै समयमा झूठो विवरण पेश गरी नेपाली राहदानी प्राप्त गरेको कारण सोही दफा अनुसार फौजदारी कसुरमा अनुसन्धान र सजाय हुन सक्नेछ । नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ मा यस्तो व्यवस्था रहेको छ ।

‘२१. दण्ड सजाय : (१) कुनै विदेशीले नेपाली नागरिक भएको दावी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।’

सोही दफाको उपदफा ३ मा ‘कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्ष देखि पाँच वर्षसम्म कैद वा बीस हजार देखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था रहेको छ । 

लामिछाने अमेरिकी नागरिक रहेकै समयमा झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै सो सम्बन्धमा छानबिन गर्न उजुरी नै परिसकेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । अब सर्वोच्च अदालतबाटै लामिछानेको राहदानी अमान्य घोषित भइसकेपछि लामिछानेको दोहोरो नागरिकताका सम्बन्धमा प्रहरीले पक्राउ समेत गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ । लामिछानेको सांसद पद खारेज भइसकेको कारण लामिछानेलाई पक्राउ गर्न प्रहरीले अन्य निकायबाट अनुमति लिन नपर्ने भएको कारण पक्राउ गरी अनुसन्धान समेत गर्न सक्नेछ ।  अनुसन्धानका क्रममा लामिछानेले दोहोरो नागरिकता प्रयोगमा ल्याएको पुष्टी भएमा प्रहरी प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दायर गर्दै लामिछानेलाई जरिवानाका साथै जेल सजाय पनि हुन सक्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप