सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
सारांश
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी कोरिडोरका उद्योगहरूले फोहोर पानी सिधै नदीमा विसर्जन गरी प्रदूषण फैलाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- मन्त्रालयले उद्योगहरूलाई स्वीकृत वातावरणीय प्रतिवेदनअनुसार प्रदूषण न्यूनीकरणका उपाय कार्यान्वयन गर्न र मापदण्डअनुरूप मात्र फोहोर पानी विसर्जन गर्न निर्देशन दिएको छ।
- मापदण्डको पूर्ण परिपालना नगरे प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी कोरिडोरमा सञ्चालित उद्योगहरूले मापदण्डविपरीत फोहोर पानी सिधै नदीमा विसर्जन गरी प्रदूषण फैलाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रका उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदी र खोलामा मिसाइएको सम्बन्धमा विभिन्न माध्यमबाट गुनासो र उजुरी प्राप्त भएको तथा सञ्चार माध्यममा समेत सो विषय आएकाले यस्तो चेतावनी दिएको हो।
प्रचलित औद्योगिक तथा वातावरणीय कानुन बमोजिम उद्योग दर्ता, क्षमता वृद्धि वा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्दा उद्योगहरूले उत्पादन प्रक्रियाबाट उत्पन्न हुने प्रदूषण र फोहोर पानी व्यवस्थापनका लागि 'फोहोर पानी प्रशोधन प्रणाली' जडान गरी सञ्चालन गर्नुपर्ने अनिवार्य व्यवस्था छ।
मन्त्रालयले स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसारका प्रदूषण न्यूनीकरणका उपायहरूको प्रभावकारी कार्यान्वयन गर्न र नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुरूप मात्र फोहोर पानी विसर्जन गर्न उद्योगहरूलाई निर्देशन दिएको छ।
नदी र खोला प्रदूषण गरिनु आधारभूत मानव स्वास्थ्यको दृष्टिले समेत गम्भीर सवाल रहेको मन्त्रालयको ठहर छ। विज्ञप्तिमा भनिएको छ, 'सम्पूर्ण उद्योग प्रतिष्ठानहरूले प्रचलित औद्योगिक तथा वातावरणीय सम्बन्धी कानुन र मापदण्डको पूर्ण परिपालना गरी उद्योग सञ्चालन गर्नुहुन मन्त्रालय अनुरोध गर्दछ।'
यदि औद्योगिक तथा वातावरणीय मापदण्डको पूर्ण परिपालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम उद्योग विभाग र अन्य सम्बद्ध निकायहरूबाट कडाभन्दा कडा कारबाही गरिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत्युको मुखबाट फर्किएर विश्वकपका नायक बनेका जिमेनेज
-
‘दुःखका कुरै नगरौं, बसमा झुण्डिएर बस्थेँ, भाडा माग्नुअघि नै झर्थें’
-
हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन
-
पोखरामा सबैभन्दा धेरै पानी पर्ने, कुन सहरको तापक्रम कति ?
-
चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाको पुनरागमन जित
-
संसदीय खेलका खेलाडी सांसदहरू हुन्, सभामुख होइन : महासचिव पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण