बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बुटवलमा एकै पटक दुई वटा केबुलकार धमाधम बन्दै

सोमबार, १६ माघ २०७९, १० : २१
सोमबार, १६ माघ २०७९

रुपन्देही । बुटवलमा दुई वटा केबुलकार निर्माणको काम धमाधम भइरहेका छ । लुम्बिनी केबुलकार र सिद्धार्थ केबुलकार कम्पनीले भारत तथा तेस्रो मुलुकबाट लुम्बिनी आएका पर्यटकहरूलाई बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजाने योजना सहित आफ्नो परियोजनालाई तीव्रता दिएका हुन् । 

बुटवल उपमहानगरपालिका–३ बम घाटमा आधार स्टेसन रहेको लुम्बिनी केबुलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा छ । यो केबुलकार व्यवसायी चन्द्र ढकाल लगायतको समूहको हो । २ महिनाभित्र सम्पन्न गर्ने गरी अहिले बुटवल र पाल्पा तर्फका स्टेसन निर्माणको काम भइरहेको छ । केबुलकारका लागि आवश्यक पोलहरू भने गाड्ने कार्य गरिसकिएको कम्पनीले जनाएको छ ।

लुम्बिनी केबुलकारको लागि साढे तीन अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेको छ । यहाँ पाँचतारे होटेल र पार्कसहितका संरचनामा पनि लगानी रहेको छ । वसन्तपुर डाँडामा १५० कोठाको पाँचतारे स्तरको होटेल बन्ने छ । सो निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने दाबी कम्पनीको रहेको छ ।  यो केबुलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । 

lumbini cable car (2)-001

त्यसको केही हप्तापछि एमाले उपाध्यक्ष विष्णु पौडेलले शिलान्यास गरेको सिद्धार्थ केबुलकारको काम पनि धमाधम भइरहेको छ । बुटवलको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबुलकार पाल्पाको नुवाकोट पुग्नेछ । 

त्यहाँ पनि अहिले स्टेसन निर्माणको काम भइरहेको छ । अहिले १२ वाट पोल मध्ये ८ वटा पोल निर्माणको काम सम्पन्न भएको छ । अब बाँकी ४ वटा छिटै निर्माण हुने छ ।  सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष अध्यक्ष राजेन्द्रसिंह गुरुङले यो केबुलकार अबको वैशाख महिना भित्र सञ्चालनमा आउने गरी निर्माणको कामलाई तीव्र पारिएको बताए । यहाँ झन्डै १ अर्बको लगानी हुने छ ।  

अहिले नुवाकोटमा सुविधा सम्पन्न रिसोर्ट बन्दै छ । त्यस्तै चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र पनि बन्ने छ । त्यसै गरी ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले शान्ति पार्क बनाउने छ भने गुम्बा, भ्यु टावर, स्वास्थ्य केन्द्र लगायतका संरचनाहरू पनि बन्ने छ । 

sirddhath cable car (3)-001

शिखर देउरालीमा रहेको बेस स्टेसनदेखि नुवाकोट डाँडामा रहेको टप स्टेसनमा ८ मिनेटमा पुग्न सकिने १ दशमलव ९४ किलोमिटर लम्बाइको केबुलकारमा एउटा गोन्डुलामा ८ जना यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुने सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष गुरुङले बताए ।

नियमित रूपमा केबुलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने दाबी कम्पनीको दाबी छ । सरकारले यो केबुलकार परियोजनाभित्र पर्ने ६ दशमलव ०९८ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ । 

यता बुटवलका पाल्पाकै वसन्तपुर पुग्ने लुम्बिनी केबुलकारका पनि आफ्नै विशेषता रहने छन् । लुम्बिनी केबुलकारमा २५ वटा गोन्डुला हुनेछन् । प्रति गोन्डुला आठ जना यात्रु सवार गर्न सक्ने छन् । जसमा प्रतिघण्टा ६ सय जना यात्रु ओहोरदोहोर गर्न सक्ने कम्पनीको दाबी रहेको छ । तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको लुम्बिनी केबुलकारले बुटवल–३ को चुरे सामुदायिक वन समेतको ३ दशमलव १६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरी डाँडा न्याउली सामुदायिक वनसमेतको ३ दशमलव ११ हेक्टर गरी ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ । 

केबुलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउने गरी सरकारले स्वीकृति दिएको छ । 

एकै पटक दुई केबुलकार बन्दा व्यवसायी उत्साहित  

बुटवलमा दुईबाट केबुलकार एकै पटक बन्ने भएपछि यहाँको व्यवसायीहरू उत्साहित  भएका छन् । खास गरी पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ  । भैरहवामा गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठुल्ठुला होटेलमा लगानी गरेका यहाँका व्यवसायीले यी दुई केबुलकारले यस क्षेत्रमा अर्थतन्त्र चलायमान हुने भन्दै हौसिएका छन् । बुटवलमा बन्दै गरेका दुई केबुलकारले बुटवलको नयाँ पहिचान सहित  बजार चल्ने बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुले बताए । होटेल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले बुटवल क्षेत्रका होटलहरु व्यापार वृद्धि हुने बताए । उनले केबुलकारबाट भारत तथा नेपाल दुवै देशमा पर्यटकहरू आउने भएपछि यहाँको पर्यटन क्षेत्रसँग सिङ्गो बजारमा नै चहलपहल हुन बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप