शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा नेपाली सेना : दुःखको सारथि

सोमबार, १६ माघ २०७९, ११ : ५५
सोमबार, १६ माघ २०७९

सुर्खेत । कर्णाली भौगोलिक रूपमा विकट छ । अझै पनि गाउँठाउँमा सडक पुग्न सकिरहेको छैन । कर्णालीमा कहिले भोकमरी आउँछ त कहिले प्राकृतिक प्रकोपले नागरिकलाई सताइरहन्छ । बाढी, पहिरोले बर्सेनि सयौँ मान्छेले ज्यान गुमाउँछन् भने मान्छेहरूले समयमा उपचार नपाउँदा पनि ज्यान गुमाउँछन् । किनकि सहज रूपमा सडकको विकास हुन सकिरहेको छैन भने सबै नागरिकहरूको स्वास्थ्यमा पहुँच पुग्न सकिरहेको छैन ।

 यद्यपि नेपाली सेनाले भने जनताको रक्षाका लागि अग्रसर बनाइरहेको छ । जहाँ–जहाँ प्राकृतिक प्रकोपले क्षति पुर्‍याउँछ, त्यहाँ सबैभन्दा पहिला नेपाली सेना पुग्ने गरेको छ । चट्टाने सडक निर्माणदेखि दुर्गमका सुत्केरीहरूको उद्धारमा समेत सेनाले आफ्नो भूमिका निभाउँदै आएको छ । नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा गरेका कामबारे जानकारी गरायो । साउन महिनायतामात्रै ४१ वटा सुत्केरी महिलाहरूको हेलिकप्टरबाट उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको सुत्केरी महिलाको उद्धार कार्य गरेको हो ।  

उत्तर पश्चिम पृतना हेडक्वार्टर मेजर रेनु शाहले गत साउन यता कर्णालीका ९ जिल्लाका २६ जना र सुदूरपश्चिमका ६ जिल्लाका १५ जनाको उद्धार गरिएको बताइन् । 

जसमध्ये कर्णालीका डोल्पाबाट ४, मुगुबाट २, दैलेखबाट ६, हुम्लाबाट २, रुकुमबाट ३ जना रहेका छन् । यस्तै जुम्लाबाट १, कालिकोटबाट ३, जाजरकोटबाट ५ सुत्केरी महिलाको उद्धार गरिएको छ । यस्तै सुदूरपश्चिमको बैतडीका १, डोटीका २, डडेलधुराका १, बाजुराका ३ दार्चुलाका ४ र अछामका ४ महिलाको हवाई उद्धार गरिएको हो । गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनीहरूलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँमा ल्याएर उपचार गर्ने गरिएको छ ।

उनका अनुसार सेनाले गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीमा परि घाइते भएका १४ जनाको पनि हेलिबाट उद्धार गरेको थियो । 

प्रकोपको समयमा सेनाले उद्धार कार्य मात्र नभई सवारी साधन नपुगेका स्थानका नागरिकहरूलाई राहत सामग्री समेत हेलिकप्टरबाट पुर्‍याउने काम गरेको छ । यस अर्थमा नेपाली सेना दुःखको सारथि बनिरहेको छ । शाहले १४ हजार ७ सय ३५ केजी राहत सामाग्री हेलिकप्टरमा मार्फत बाढी, पहिरो प्रभावित क्षेत्रमा पु¥याएको बताइन् ।

photo  (2)

साथै सेनाले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–६, हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–४, मुगुको सोरु गाउँपालिकाको सोरुकोट, डोल्पाको से–फोक्सुण्डो गाउँपालिका ८ को रिग्मोमा हेलिप्याड निर्माण गरेको जनाएको छ । उक्त हेडक्वार्टर पृतनापति उपरथी हिरालाल जोशीले सेनाले राष्ट्रियता, जनताको रक्षाका लागि साथ दिँदै आएको बताए । 

उक्त हेडक्वार्टरमा रहेको सेनाले कर्णालीका सल्यान र रुकुम पश्चिम बाहेकका ८ जिल्ला र लुम्बिनी प्रदेशका बाँके र बर्दियालाई हेर्दै आएको छ । यी जिल्लाहरुमा आउने प्राकृतिक प्रकोपदेखि उदारका क्षेत्रमा भूमिका निर्वाह गर्दै आएको जोशीले बताए । बाढी पहिरोको समयमा २१२ जना फौज परिचालित गरिएको थियो भने स्थानीय तहको निर्वाचनमा समेत सो हेडक्वाटरबाट फौज परिचालित गरिएको थियो ।

मुगु, जुम्ला र कालिकोटका विभिन्न स्थानमा नागरिकको सहजताका लागि काठे पुल निर्माणदेखि बाँके र बर्दियाका विभिन्न ठाउँमा डुबानका परेका ९ जनाको उद्धार पनि सेनाले गरेको उनले बताए । ‘अफ्ठेरो परिस्थितिमा नेपाली सेना जनताकै सारथि भएर अग्रसर भइरहेको छ,’ उनले भने ।

‘रन फर युनिटी’को आयोजना गर्दै सेना 

photo  (1)

सेनाले प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा एकताका लागि ‘रन फर युनिटी’ को आयोजना गर्न लागेको छ ।  

प्रदेशको पहिचानका रूपमा रहेको लामो दुरीको दौडको प्रवद्र्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि माघ २१ गते उक्त प्रतियोगिता गर्न लागिएको हेडक्वार्टर मेजर शाहले जानकारी दिइन् । 

‘खेलकुद क्षेत्रको विकासमा थप टेवा पुग्नुका साथै विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने उद्देश्य स्वरूप उक्त प्रतियोगिता गर्न लागिएको हो,’ उनले भनिन,‘ करिब एक हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दुरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ ।’ 

जसमा ५ किलोमिटर पैदल यात्रा, ५ किलोमिटर पुरुष महिला दौड र १० किलोमिटर पुरुष महिला दौड रहेका छन् ।  प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न संघसंस्थाले भाग लिन पाउने छन् । 

प्रतियोगिताका विजेताहरूलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिने छ । यस्तै उक्त दिन सेनाले युद्ध कौशल, हात हतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरूको प्रर्दशनीसमेत गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप