बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

लमही–तुलसीपुर फोरलेन सडक : ठेकेदारले तहसनहस बनाए, अभियन्ता मर्मतमा जुटे

सोमबार, १६ माघ २०७९, १६ : ४३
सोमबार, १६ माघ २०७९

दाङ । सोमबार मध्याह्नको समय । स्थान घोराही उपमहानगरपालिका वडा नं. १० सौडिकुला ।  जहाँ निर्माणाधीन अवस्थामा अलपत्र परेको फोरलेन सडकको खाल्टाखुल्टीमा  केही टिपरले गिट्टी झार्दै थिए ।  झारिएको गिट्टी ग्रेडरले बिछ्याउँदै क्रम चल्दै थियो भने बिछ्याएको गिट्टी रोलरले च्याप्ने क्रम पनि चलिरहेको थियो ।

केही युवाले यताउता गर्दै ग्रेडर र रोलरलाई आवश्यक सहजीकरण गरिरहेका थिए । सडकको धुलोले उनीहरु धुलाम्य देखिन्थ्यो । झ्वाट्ट त्यो देख्दा अलपत्र फोरलेन सडक निर्माणको कामले गति लिएछ भन्ने बुझिन्छ । तर अलपत्र फोरलेन सडक निर्माणको कामले गति लिएको नभई मर्मत सम्भारको काम सुरु भएको हा ।

सम्झौताअनुसार उक्त सडक निर्माण सम्पन्न भइसक्नुपर्ने हो । तर, जसको निर्माणका लागि हालसम्म ३ पटकसम्म म्याद थप भएपनि निर्माण सम्पन्न हुन सकेको छैन । त्यही भएर स्थानीय युवाहरू अलपत्र फोरलेन सडकको मर्मतका लागि स्वस्फूर्त सडकमा उत्रिएका हुन् । 

निर्माणाधीन अवस्थामा अलपत्र परेको लमही–घोराही–तुलसीपुर फोरलेन सडक निर्माणका नाममा जताततै पारिएका खाल्टाखुल्टीका कारण सर्वसाधारणहरूले सडकको सास्ती मात्रै होइन, कतिपयले ज्यान ज्यानै गुमाउनु परेको छ । अहिले स्थानीयहरू युवाहरूले सामाजिक सञ्जाल मार्फत अलपत्र फोरलेन सडक मर्मत अभियानको थालनी गरी मर्मत सम्भारमा जुटेको फोरलेन मर्मत सम्भार अभियन्ता नारायण भुसालले बताए ।

उनले भने, ‘४ वर्षदेखि अलपत्र परेको फोरलेन सडकमा न निर्माण कामले गति लिन्छ, न खाल्टाखुल्टी नै पुरिन्छन्, हिलोधुलो उस्तै छ, खाल्टामा परि अकालमा मान्छेको ज्यान गइरहेको छ । ’ जसका कारण फोरलेन सडक मर्मतका लागि अभियान नै संञ्चालना गरेको उनको भनाइ छ । 

निर्माण कम्पनीले सडक निर्माणका नाममा तहस–नहस पारेको लमही–घोराही–तुलसीपुर ३६ किलो मिटर सडक स्थानीय युवाहरूले अभियानमार्फत मर्मत सम्भार गर्न थालेको उनले बताए ।  उनले थपे, ‘न ठेकेदारले काम गर्छ, न सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्छ । बरु उल्टै सरकारले म्याद थप गर्दै जनतालाई दुःख दिइरहेको छ ।’ 

राज्यले कारबाही र ठेकेदारले काम गर्न नसक्दा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको अलपत्र लमही–घोराही–तुलसीपुर फोरलेन दाताहरुको सहयोगमा मर्मत गर्नुपर्ने बाध्यता देखिएको फोरलेन सडक मर्मत अभियानका अभियन्ता वसन्त अधिकारी (विश्व) को  भनाइ छ । 

अलपत्र फोरलेन सडक मर्मतका लागि सामाजिक सञ्जालमार्फत थालनी गरी घोराही उपमहानगरपालिका, सडक डिभिजन दाङ, फोरलेन सडक निर्माण आयोजना कार्यालय दाङको प्राविधिक सहयोगमा मर्मत थालनी गरिएको हो । घोराही उपमहानगरपालिकाले ग्रेडर र रोलर, सडक डिभिजन दाङले रोलर सहयोग भएको छ भने फोरलेन सडक निर्माण आयोजनाको कार्यालय दाङबाट २ जना प्राविधिक पठाएको छ । 

उक्त यान्त्रिक उपकरणका लागि आवश्यक पर्ने इन्धन भने सामाजिक सञ्जाल मार्फत अभियान्ताहरुले जोहो गरिरहेका छन् । अभियान सुरु भएको ४ दिनमा ८६६ लिटर इन्धन सडक मर्मतका लागि संकलन भएको अलपत्र फोरलेन सडक मर्मत अभियानका अभियन्ता नारायण भुषालले जानकारी दिए । स्थानीय सरकार र सरोकारवाला निकायहरूले यान्त्रिक उपकरण सहयोग गरेपनि इन्धन व्यवस्थापन गर्न नसक्ने अवस्था रहेकाले सामाजिक सञ्जाल मार्फत सहयोग संकलन अभियान सुरु गरिएको उनको भनाइ छ । 

‘ठेकेदारले काम गर्दै, सरकारले कारबाही’

अलपत्र फोरलेन सडक निर्माणको जिम्मा २०७५ पुस १३ गते भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा पोजेक्टले पाएको थियो । ०७८ असोज मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी १ करोड २१ लाख ८२ हजार डलरमा उक्त सम्झौता भएको थियो ।   उक्त सडक निर्माणका लागि हालसम्म निर्माण कम्पनीले ३ पटक म्याद थप र ३ वटा प्रतिनिधि फेरिसकेको छ । तर काम भने निर्माण कम्पनीले गरेकै छैन । 

अलपत्र फोरलेन सडकको मुख्य दोषी नै निर्माण कम्पनी हो । तर काम नगर्ने निर्माण कम्पनीलाई  कारबाही गर्नुको साटो सरकारले पटक पटक म्याद थप गर्दा सडक निर्माणको अलपत्र परेको भालुवाङ– बाग्दुला, भिमगिठे, चन्द्रौटा– कृष्णनगर, लमही–घोराही– तुलसीपुर फोरलेन सडक आयोजनाका सनत कुमार तिवारीले बताए । उनले भने, ‘सरकारले म्याद होइन, भारतीय निर्माण कम्पनीलाई कारबाही गर्नु पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप