शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाका सात पालिकामा भेटिए कुष्ठ रोगी

बुधबार, १८ माघ २०७९, ०९ : २०
बुधबार, १८ माघ २०७९

पाल्पा । पाल्पा जिल्लाका धेरैजसो पालिकामा कुष्ठ रोगी भेटिएका छन् । जिल्लाका दश पालिकामध्ये सात पालिकामा कुष्ठ रोगी फेला परेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका सात पालिकाभित्र १२ जना कुष्ठ रोगी फेला परेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको तानसेन नगरपालिकामा तीन, रिब्दीकोट र माथागढी गाउँपालिकामा दुई÷दुई जना कुष्ठ रोगी फेला परेका छन् । यस्तै रैनादेवी छहरा, बगनासकाली, पूर्वखोला र निस्दी गाउँपालिकामा एक÷एक जना कुष्ठ रोगी फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । १२ जना कुष्ठ रोगीहरूमा नौँ जना पुरुष र तीन जना महिला रहेको गिरीले बताए ।

गत असारसम्ममा पाल्पामा १८ जना कुष्ठ रोगी रहेकाले हाल उक्त सङ्ख्या घटेर १२ जना भएको कार्यालयको भनाई छ । पछिल्लो केही वर्षयता पाल्पा जिल्लामा कुष्ठ रोगीको सङ्ख्या बढ्ने क्रममा रहेको क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले उल्लेख गरे । गाउँमा अहिले पनि कुष्ठ रोगीप्रति गरिने भेदभावका कारण कुष्ठ रोगीको सङ्ख्या बढ्न सक्ने उनले बताए । पत्ता लागेका कुष्ठ रोगीको स्वास्थ्य अवस्था भने सामान्य रहेका र कोही पनि अपाङ्गताको अवस्थामा नरहेको न्यौपानेको भनाइ छ ।

पाल्पाका १२ कुष्ठ रोगीहरूमध्ये सात जनाको जिल्ला अस्पताल तानसेनमा, एक जनाको रामपुर अस्पतालमा र अन्य चार जनाले पायक पर्ने स्वास्थ्य संस्थामै उपचार गरिरहेका जनाइएको छ । कुष्ठ रोगीबाट श्वासप्रश्वासका माध्यमबाट रोग सर्ने गरेको छ । समयमा नै यसको उपचार गरे निको हुने भएपनि कुष्ठ रोगलाई समयमै उपचार नगर्दा समस्या बढ्ने गरेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीले बताउँछन् । यसको उपचार स्वास्थ्य संस्थामा निःशुल्क हुने र उपचार बापत बिरामीले भत्ता समेत पाउने व्यवस्था रहेको गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप