शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यून मूल्याङ्कनका कारण बीमाप्रति आकर्षण बढ्न नसकेको हो : अध्यक्ष यादव

बुधबार, १८ माघ २०७९, १० : ३९
बुधबार, १८ माघ २०७९

सिराहा । मधेस प्रदेशको सिराहा जिल्ला अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले बीमाको न्यून मूल्याङ्कनका कारण बीमाप्रति आम कृषकको आकर्षण बढ्न नसकेको बताएका छन् । 

मंगलबार नेपाल बीमा प्राधिकरणको आयोजनामा गाउँपालिकामा भएको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बीमा व्यवसायमा पारदर्शिताको कमी र न्यून मूल्याङ्कनका कारण माछा, पशुपन्छी, घर लगायतको बीमामा गुनासो आउने गरेको उल्लेख गरे । सोही अवसरमा अध्यक्ष यादवले देशको समृद्धिका लागि हरेक व्यक्ति आर्थिकरुपले सुरक्षित हुनु अपरिहार्य भएकाले सबैले जीवन तथा निर्जीवन बीमा गर्नुपर्ने बताए ।

यस्तै अर्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा सहभागी कृषकहरूले बोयर जातको बाख्रा र गाईको बजार मूल्य अनुसार बीमा गर्न नपाएको, कृषि तथा पशुपन्छीको बीमा दाबी प्रक्रियाका बारेमा बीमा कम्पनीले जानकारी नदिएको, कम्पनीहरूले माछाको बीमा गर्न नमानेको, बीमा दाबी गरेको एक वर्षसम्म पनि दाबी भुक्तानी नपाएको लगायतका गुनासा गरेका छन् ।

बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधिहरूले वास्तविक मूल्यभन्दा बढीको बीमा गर्न खोजिने गरेकाले बीमा गर्न समस्या भएको र कृषि प्राविधिकको सिफारिसका आधारमा बीमा गर्न तयार रहेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप