शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष ओलीसँग बेलायती राजदूत काथ्रिनको भेटवार्ता

बुधबार, १८ माघ २०७९, १६ : ०४
बुधबार, १८ माघ २०७९

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला काथ्रिन पोलिटले शिष्टाचार भेट गरेकी छन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको  सदियौंदेखिको सम्बन्ध, आपसी हित र सहयोगका विषयमा कुराकानी भएको छ । 

भेटमा राजदूत पोलिटले वर्तमान सरकार र सत्ता साझेदारमध्ये सबैभन्दा ठुलो दल एमालेको प्राथमिकताका विषयका बारेमा जिज्ञासा राखेकी थिइन् । 

त्यस अवसरमा अध्यक्ष ओलीले वर्तमान सरकार न्यूनतम साझा कार्यक्रमका आधारमा अगाडि बढ्ने जानकारी गराउँदै देशको विकास, सुशासन र जनताको जीवनस्तर उठाउने विषय वर्तमान सरकार र आफ्नो पार्टीका प्राथमिकताका विषय भएको बताएका छन् ।

अध्यक्ष ओलीले न्यूनतम साझा कार्यक्रममा ती विषयहरू रहेको बताउँदै कार्यान्वयनका लागि राजनीतिक स्थायित्वमा आफूहरूको जोड रहेको जानकारी गराए ।

अध्यक्ष ओलीले नेपाल र संयुक्त अधिराज्य बेलायतबीच दुईसय वर्ष अघिदेखिको सम्बन्ध र आपसी सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदान लगायत विषयहरू स्मरण गर्दै बेलायतले विगतमा नेपालको शिक्षा, आर्थिक विकास र पूर्वाधार क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिएका छन् । 

भेटमा ब्रिटिस गोर्खा सैनिकका विषयमा पनि कुराकानी भएको अध्यक्ष ओलीको साथमा रहेकी एमाले परराष्ट्र मामिला विभाग सचिव डाक्टर अन्जान शाक्यले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप