शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
सारांश
- बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सामना गरिरहेकै अवस्थामा स्वदेश फर्कने दृढता व्यक्त गरेकी छन् ।
- हसिनाको सम्भावित फिर्तीले प्रतिबन्धित अवामी लिग र सत्तासीन बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) बिचको परम्परागत प्रतिद्वन्द्वितालाई पुनः ब्युँताउनुका साथै कट्टरपन्थी इस्लामवादी शक्तिहरूको बढ्दो प्रभावलाई नियन्त्रण गर्ने आकलन गरिएको छ ।
- गत नोभेम्बरमा एक विशेष न्यायाधीकरणले उनलाई प्रदर्शनकारीविरुद्ध हिंसा भड्काएको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।
ढाका । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सामना गरिरहेकै अवस्थामा स्वदेश फर्कने दृढता व्यक्त गरेकी छन् । उनको सम्भावित फिर्तीले उनी र उनको दल अवामी लिगको नाटकीय पुनरागमनको बाटो खोल्न सक्ने आकलन गरिएको छ ।
विश्लेषकहरूका अनुसार हसिनाको फिर्तीले प्रतिबन्धित अवामी लिग र सत्तासीन बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) बिचको परम्परागत प्रतिद्वन्द्वितालाई पुनः ब्युँताउन सक्छ । यसले बंगलादेशमा कट्टरपन्थी इस्लामवादी राजनीतिक शक्तिहरूको बढ्दो प्रभावलाई नियन्त्रण गर्न समेत भूमिका खेल्ने अनुमान गरिएको छ ।
करिब दुई वर्षअघि विद्यार्थी नेतृत्वको जनआन्दोलनबाट सत्ताच्युत भएपछि ७८ वर्षीया हसिना छिमेकी मुलुक भारतमा शरण लिइरहेकी छन् । उनले आगामी डिसेम्बरमा गिरफ्तारी वा ज्यानको जोखिम मोलेरै भए पनि स्वदेश फर्कने योजना बनाएको बताएकी हुन् ।
गत नोभेम्बरमा एक विशेष न्यायाधीकरणले उनलाई प्रदर्शनकारीविरुद्ध हिंसा भड्काएको, गोली हान्ने आदेश दिएको र आन्दोलनका क्रममा भएका हत्या रोक्न नसकेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त आन्दोलनका क्रममा सुरक्षाकर्मीसँगको झडपमा करिब १ हजार ४ सय जनाको मृत्यु भएको थियो ।
हसिनाले एक अन्तर्वार्तामा आन्दोलनका क्रममा भएको रक्तपातप्रति दुःख व्यक्त गरे पनि सुरक्षा निकायलाई प्रदर्शनकारीमाथि गोली चलाउन आफूले आदेश नदिएको दाबी गरेकी छन् । उनले तत्कालीन अन्तरिम सरकारले आफ्नो दल अवामी लिगलाई राजनीतिक रूपमा किनारा लगाउन उक्त मुद्दा अघि बढाएको आरोपसमेत लगाएकी छन् ।
फेब्रुअरीमा भएको आमनिर्वाचनमा बीएनपीले भारी मतका साथ विजय हासिल गरेपछि तारिक रहमान हाल बंगलादेशको प्रधानमन्त्री बनेका छन् । सो निर्वाचनमा देशको सबैभन्दा ठुलो इस्लामवादी दल जमात–ए–इस्लामीले दोस्रो धेरै सिट जितेको छ ।
दुबईमा कार्यरत स्वतन्त्र राजनीतिक विश्लेषक यशवंत देशमुखका अनुसार हसिना अवामी लिगलाई पुनः जीवित गर्न चाहन्छिन् र उनले सुरक्षाका विषयमा बीएनपीबाट कुनै प्रकारको अनौपचारिक आश्वासन पाएको हुन सक्ने सम्भावना छ । बीएनपी पनि जमात–ए–इस्लामीको बढ्दो लोकप्रियताबाट चिन्तित रहेको हुन सक्ने उनको भनाइ छ ।
'यदि बीएनपीले अवामी लिगलाई राजनीतिक गतिविधि गर्न दिएन भने जमात–ए–इस्लामी देशको मुख्य राजनीतिक प्रतिस्पर्धी बन्नेछ । हसिनाको फिर्तीले उनलाई स्वतः प्रमुख प्रतिपक्षी नेताका रूपमा स्थापित गर्नेछ,' देशमुखले भने ।
भारतको ओपी जिन्दल ग्लोबल युनिभर्सिटीकी अन्तर्राष्ट्रिय सम्बन्ध विषयकी प्राध्यापक श्रीराधा दत्तका अनुसार बीएनपीले जमातको तुलनामा अवामी लिगलाई नै आफ्नो मुख्य चुनावी प्रतिद्वन्द्वीका रूपमा हेर्न रुचाउँछ । जमातको कट्टरपन्थी विचारधाराले बंगलादेशी राजनीतिलाई थप जटिल बनाउन सक्ने डर बीएनपीमा देखिन्छ ।
यस्तै, विश्लेषक देशमुखले बंगलादेशमा इस्लामवादी शक्ति सत्तामा नआओस् भन्नका लागि केही पश्चिमा राष्ट्रहरूले हसिनाको फिर्तीका सन्दर्भमा पृष्ठभूमिमा भूमिका खेलिरहेको हुन सक्ने संकेत गरे । 'यदि उनी बंगलादेश फर्किइन् भने उनको मृत्युदण्डको सजाय रद्द हुन सक्छ, तर उनलाई चुनाव लड्न प्रतिबन्ध लगाइने सम्भावना रहन्छ । तथापि, उनको पार्टी अवामी लिगलाई राजनीतिक गतिविधि गर्ने र दोस्रो ठुलो शक्तिका रूपमा स्थापित हुने अवसर भने मिल्न सक्छ,' देशमुखले थपे ।
बंगलादेशको राजनीति लामो समयदेखि बीएनपी र अवामी लिगको वरिपरि घुम्दै आएको छ । हसिनाको बहिर्गमनपछि विगत दुई वर्षमा जमातले आफ्नो प्रभाव तीव्र रूपमा बढाएको छ । जमातसँग चुनावी तालमेल गरेका विद्यार्थी नेताहरूले गठन गरेको 'नेसनल सिटिजन्स पार्टी'ले धार्मिक मामिलाभन्दा सुशासन र सुधारका मुद्दामा बढी ध्यान केन्द्रित गरिरहेको बताइएको छ ।
प्राध्यापक दत्तका अनुसार जमात र विद्यार्थी नेताहरूले हसिनाको फिर्तीको कडा विरोध गर्ने निश्चित छ । हसिनाको राजनीतिक भविष्य धेरै हदसम्म अन्तर्राष्ट्रिय समर्थन र लामो कानुनी लडाइँमा निर्भर रहने देखिन्छ ।
यसैबिच, बंगलादेशकी परराष्ट्र राज्यमन्त्री शमा ओब्याद इस्लामले हसिना स्वदेश फर्किएमा तुरुन्तै पक्राउ गरिने स्पष्ट पारेकी छन् । रोयटर्सका अनुसार उनले भनिन्, 'शेख हसिना सजाय पाएकी अपराधी हुन् । उनले आत्मसमर्पण गरेमा बंगलादेशको कानुन अनुसार कारबाही हुनेछ र उनलाई जेल पठाइनेछ ।'

सन् १९७१ मा पाकिस्तानविरुद्धको स्वतन्त्रता संग्राममा नेतृत्वदायी भूमिका खेलेको अवामी लिग बंगलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो । स्वतन्त्रता सेनानी शेख मुजिबुर रहमानकी छोरी हसिनाको कार्यकालका पछिल्ला महिनाहरूमा अधिनायकवादी शासन शैली अपनाएको भन्दै तीव्र आलोचना भएको थियो ।
अहिले पनि समाजको एउटा हिस्सामा अवामी लिगप्रति समर्थन कायम रहेको भए पनि शीर्ष नेतृत्वको अभावमा पार्टीले प्रभावकारी भूमिका खेल्न सकिरहेको छैन । हसिनाले आफ्नो उत्तराधिकारी चयन नगरेका कारण दलको भविष्य अझै अनिश्चित छ ।
प्राध्यापक दत्तका अनुसार हसिनाका हालैका अभिव्यक्तिहरू आफ्ना कार्यकर्ताको मनोबल बढाउन केन्द्रित छन् । 'नेतृत्वको अनुपस्थितिका कारण हाल अवामी लिगका गतिविधिहरू ठप्प प्रायः छन् । प्रमुख नेताहरू देशबाहिर रहेकाले पार्टीको भविष्य सुदृढ गर्न हसिनाले स्वदेश फर्कने बाटो खोज्नु आवश्यक ठानेकी छन्,' दत्तले भनिन् ।
साउथ चाइना मर्निङ पोस्टबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण