शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कर्मचारीको सरुवा, बढुवा प्रदेशबाटै, अब कर्मचारीले पाउनेछन् विवाह बिदा !

बिहीबार, १९ माघ २०७९, २१ : १८
बिहीबार, १९ माघ २०७९

पोखरा । संघीयता कार्यान्वयनमा भएपछि कतिपय कर्मचारी प्रदेश रोजेर आए । कतिपयले पायक पर्ने साथै नयाँ अवसर प्राप्त हुने विश्वास गरे । उनीहरूलाई प्रदेश आउँदा आफ्नो वृत्ति विकास नै ठप्प होला भन्ने कल्पनासम्म थिएन । तर भइदियो त्यस्तै ।  प्रदेश समायोजन भएका कर्मचारीहरूको गएको पाँचदेखि केहीको त नौ वर्ष वृत्ति विकास ठप्प रह्यो । कोहीको समय आउँदा बढुवा पनि हुन पाएनन् । सरुवामा पनि झन्झट भयो । कार्यसम्पादन मूल्याङ्कनको थिति बसेन । एकातिर कर्मचारीको स्वयंको वृत्ति विकास रोकियो भने अर्कोतिर प्रदेश सरकारले आवश्यक जनशक्ति पदपूर्ति गर्न सकेन ।

यी समस्याको एउटै जड थियो- प्रदेश निजामती सम्बन्धी कानुन नहुनु ।  प्रदेश सरकार कानुन ल्याउन चाहन्थ्यो । तर, संघीय निजामती ऐन नआउँदा प्रदेशअघि बढ्न सकेन । संघीय कानुनसँग बाझिएला भनेर प्रदेश सरकारले कानुन बनाउन आँट गरेको थिएन ।   तर, कर्मचारीको चर्को दबाब र आवश्यकताकै कारण नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको तत्कालीन सरकारले ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न’ अध्यादेश ल्यायो । संसद् चालु थिएन, कार्यकालको उत्तरार्द्धमा पोखरेलले कर्मचारीका माग र आवश्यकता अध्यादेशमार्फत सम्बोधन गरे । 

नयाँ निर्वाचनपछि नयाँ सरकार आयो, तर फरक पार्टीको । यद्यपि पूर्ववर्ती सरकारले ल्याएको त्यही अध्यादेशलाई एमाले नेता तथा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले गण्डकी प्रदेश सभाबाट पारित गराएको छ । बिहीबार गण्डकी प्रदेशसभाले दुइटा अध्यादेश पारित गरेको हो । अघिल्लो सरकारका कानुन मन्त्री विन्दु थापाले अधिवेशन सुरु भएको पहिलो दिन पुस १८ गते उक्त अध्यादेश टेबुल गरेका थिए । 

बिहीबारको प्रदेश सभा बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहाथापाले अध्यादेशलाई स्वीकृत गरियोस् भन्दै गरिएको प्रस्तावको सत्तापक्ष र प्रतिपक्ष सांसदले सर्वसम्मतिले पारित गरेका हुन् । 

सभामुख कृष्ण धितालले उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने सूचना सभामा दर्ता नभएको जानकारी गराएका थिए । प्रदेश सभा नियमावलीको दफा ९५ मा अध्यादेश अस्वीकार गर्न प्रस्ताव पेस भएमा त्यसउपर छलफल गरी निर्णयार्थ पेस गर्नुपर्ने व्यवस्था छ । तर त्यस्तो सूचना सभामा पेस भएन । अध्यादेश स्वीकृत गर्ने प्रस्तावलाई सभामुख धितालले निर्णयार्थ प्रस्तुत गरे । त्यसमा सबै सांसदले ‘ध्वनिमत’बाट स्वीकृति जनाए ।

‘प्रस्तावको पक्षमा हुने माननीयहरूले हुन्छ भन्नुहोस्’ भन्ने सभामुखको बोलीपछि सत्तापक्षका सबै र प्रतिपक्षकाहरुले पनि हात उठाउँदै हुन्छ भनेका थिए । अरू विधेयकहरूमा जस्तै सभामुखले ‘प्रस्तावको पक्षमा हुन्न भन्ने माननीयहरूले हुन्न भन्नुहोस्’ भनेर निर्णयार्थ राख्दै राखेनन् । सबैले हुन्छ भनेको हुँदा विधेयक स्वीकृत भएको घोषणा गरे ।  अध्यादेश सदनबाट पारित भएको हुँदा अब त्यो ऐन बन्नेछ । सभामुखले प्रमाणित र प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भएपछि विधेयकले ऐनको रूप लिनेछ । यी ऐनले प्रदेश र स्थानीय तहका कर्मचारीको हकहितको बाटो खुला गरेको निजामती कर्मचारीहरूको आधिकारी ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुसालले बताए । ‘जनशक्ति व्यवस्थापन गर्न, कर्मचारीको सरुवा र बढुवा गर्न बाटो खुला भएको छ,’ उनले भने, ‘तत्कालका बाधा व्यवधान हटाएको छ र बाँकी कुराका लागि छलफल खुला भएको छ ।’ 

यो ऐन आएपछि यसअघि संघ सरकारले गर्दै आएको एघारौँ तह (सहसचिव) सम्मको कर्मचारीको सरुवा बढुवा र वृत्ति विकास मुख्यमन्त्री कार्यालय आफैँले गर्ने छ । ‘अधिकृत एघारौँ तह (सहसचिव) वा सो सरहको कर्मचारीको सरुवा बढुवा प्रदेश सरकार अर्थात् मन्त्रिपरिषद्को बैठकमार्फत गर्न सक्नेछ,’ स्वीकृत भएको कानुनमा छ । 

अब अधिकृत दसौँ, नवौँ, आठौँ र सातौँ तह वा सो सरहका कर्मचारीको सरुवा प्रदेशको प्रमुख सचिवले गर्न सक्छ । अन्तर मन्त्रालयगत सरुवा भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने छ । अधिकृत छैटौँ तह र सोभन्दा मुनिका सबै कर्मचारीको सरुवा अधिकार सम्बन्धित मन्त्रालयका सचिवलाई अधिकार दिइएको छ ।  प्रदेश सरकारले पास गरेको उक्त विधेयकमा निजामती कर्मचारीले अब विवाह बिदा समेत पाउनेछन् ।

‘कर्मचारीहरूको सेवा, सर्त र सुविधाको जनशक्ति पदपूर्तिको बाटो खुल्यो । अब प्रदेशबाटै सरुवा,बढुवा व्यवस्थापन सहज हुन्छ,’ अध्यक्ष भुसालले भने । अब गण्डकीका कर्मचारीले विवाह बिदा पाउने भएका छन् । संघमा पनि यसअघि यस्तो बिदाको व्यवस्था थिए । विवाह बिदा नौलो प्रयोग हो । यसअघि भैपरी आउने र पर्व, बिरामी, अध्ययन, असाधारण, किरिया, प्रसूति, र प्रसूति स्याहार बिदा मात्रै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप