बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने

शनिबार, २१ माघ २०७९, २१ : २०
शनिबार, २१ माघ २०७९

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ ।  राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष महिला हुनुपर्नेछ । जसका लागि कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको हो । अनिता देवकोटा पार्टीको प्रमुख सचेतक रहेका कारण दुईमध्ये एक जना उम्मेदवार बन्ने बताइएको छ । पन्त र गुरुङमध्ये पनि पन्त उम्मेदवार बन्ने सम्भावना बलियो रहेको छ ।

उपाध्यक्षको निर्वाचनको विषयमा छलफल गर्न कांग्रेसले शनिबार प्रतिपक्षी दलको बैठक समेत बोलाएको थियो । छोटो समय बसेको बैठकमा यसबारे प्रारम्भिक छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका थिए । त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उपाध्यक्ष पदमा आफ्नो पार्टीको दाबेदारी नरहेको स्पष्ट पारेका थिए ।

‘अन्य कुनै पार्टीको दाबेदार नरहेकाले भोलि कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिन्छ,’ लेखकले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘आइतबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पार्टीको पदाधिकारी बैठक बसेर यसबारे निर्णय लिनेछ ।’  यसअघि माओवादीबाट शशिकला दाहाल राष्ट्रिय सभा उपाध्यक्ष थिइन् । सो पदका लागि आगामी माघ २३ गते सोमबार निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप