शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

किन टिक्न सकिरहेका छैनन् ‘वैकल्पिक शक्ति’ भन्ने दलहरू ?

आइतबार, २२ माघ २०७९, ०८ : ४३
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेपालमा आफूलाई वैकल्पिक शक्ति भन्दै थुप्रै दलहरू खुले पनि उनीहरूले अपेक्षित सफलता हासिल गर्न सकेका छैनन् । केही पार्टीहरूको अस्तित्व नै समाप्त भइसकेका छन् भने केही अन्य पार्टीमा विलीन हुन पुगेका छन् । गठन भएको छोटो समयमा नै राष्ट्रिय स्वतन्त्र पार्टीले आम निर्वाचनमा सफलता हासिल गर्न त सफल भयो, तर यो पार्टी पनि अहिले विभिन्न विवादमा जेलिन पुगेको छ ।

पार्टीका सभापति रवि लामिछाने नै नागरिकता विवाददेखि र पासपोर्ट दुरुपयोगको आरोपमा मुछिएका छन् । पहिलो चुनावमा नै २० सिट जितेको सो पार्टीका सांसद तथा नेताहरू अलमलमा देखिन्छन् । यो पार्टीको भविष्य कस्तो रहने हो, त्यो कुरा रवि लामिछानेको अगामी कदमले निर्धारण गर्नेछ ।

उता जेलमै रहेर रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीको अवस्था पनि त्यस्तै देखिएको छ । चौधरीले अहिले पनि जेलबाट नै पार्टी सञ्चालन गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रविको नामबाट चले जस्तै उन्मुक्ति पार्टी पनि रेशमको नामले मात्र चलिरहेको छ । 

२०७८ पुसमा रेशम चौधरीले आफ्नो श्रीमती रञ्जिता श्रेष्ठको नामबाट गठन गरेको उन्मुक्ति पार्टीसँग पाँच जना सांसद छन् । तर पार्टी गठन भएदेखि नै विभिन्न विवादले घेरिएको छ । पार्टीमा परिवारवाद हाबी भएको भन्दै नेताहरूले आलोचना भइरहेको छ भने पार्टी रेशमको एकल निर्णय चलिरहेको भनेर नेताहरू असन्तुष्ट देखिएका छन् । पार्टीको हरेक निर्णय प्रति कुनै न नेताले त्यसको विरोध गरिरहेका हुन्छन् । यो पार्टीको भविष्यप्रति पनि धेरैले चिन्ता व्यक्त गरिरहेका छन् ।

यसअघि एमाले पार्टीबाट अलग भएर अशोक राईले देशकै वैकल्पिक शक्ति बनाउने भन्दै संघीय समाजवादी पार्टी नेपाल गठन गरेका थिए । नेता राईले पार्टी गठन गरकै वर्ष पाँच जनालाई संविधान सभा सदस्य बनाउन सफल भएका थिए । तर पछि बिस्तारै सो पार्टीबाट नेताहरू अलग हुन थाले । त्यसपछि राईले आफ्नो पार्टीलाई तत्कालीन मधेसी जनअधिकार फोरममा विलीन गराए ।

त्यस्तै माओवादीबाट अलग भएर २०७३ मा पुरै तामझामका साथ नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईले सो पार्टीलाई टिकाउन सकेनन् । २०७४ को चुनावमा भाग लिएको नयाँ शक्तिले थ्रेसहोल्ड पनि कटाउन सकेन ।  संघतर्फ डा. भट्टराई आफू मात्र चुनाव जिते भने प्रदेशतर्फ बागमतीमा रसुवाबाट प्रेम तामाङले मात्र निर्वाचन जिते । जसले पार्टीको नेता तथा कार्यकर्तामा चरम निराशा उत्पन्न भयो । पार्टी नै विघटनको अवस्थामा पुगेपछि डा.भट्टराईले उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालमा नयाँ शक्तिलाई विलीन गराए ।
 
तर भट्टराई जसपामा पनि टिक्न सकेनन् । त्यहाँबाट पनि निस्केर उनले नेपाल समाजवादी पार्टी गठन गरे । तर त्यो पार्टी पनि चलाउन नसकिने भएपछि माओवादीसँग एकताका लागि अहिले वार्ता जारी रहेको छ ।   

बीबीसीका चर्चित पत्रकार रवीन्द्र मिश्रले २०७४ को निर्वाचन नजिकै साझा पार्टी बनाए । आफ्नो व्यक्तित्वका कारण पार्टीलाई चर्चामा ल्याए । नयाँ युवालाई आकर्षित पनि गरे । तर चुनावमा भाग पनि लिँदा पार्टीले प्रत्यक्षमा कतै पनि चुनाव जित्न सकेन । प्रदेश सभाअन्तर्गत बागमती प्रदेशमा तीनजना प्रदेश सभा सदस्य समानुपातिकमा ल्याउन सफल भए । पछि साझा पार्टी र २०७४ मै गठन भएको मिलन पाण्डे नेतृत्वको विवेकशील पार्टीबीच एकीकरण भएर विवेकशील साझा पार्टी बन्यो । सो पार्टीमा रवीन्द्र मिश्र अध्यक्ष र पाण्डे संयोजक थिए । 

तर यो पार्टी पनि सग्लो रहन सकेन । २०७९ को चुनाव अघि नै रवीन्द्र मिश्र पार्टी छाडेर राप्रपामा प्रवेश गरे । आखिर चुनावमा रवीन्द्र मिश्र पनि जितेनन् भने विवेकशील साझा पार्टीको अवस्था दयनीय रह्यो । अहिले त्यो पार्टी लगभग विघटनको अवस्थामा पुगेको छ ।

नेपाली राजनीतिमा ‘नयाँ शक्ति’, ‘वैकल्पिक शक्ति’ नाम दिएर गठन भएका पार्टीहरूले युवाहरूलाई आकर्षित गर्न सफल भए पनि त्यसलाई निरन्तरता दिन नसकेको कारण ती पार्टीहरू विघटन भएको देखिन्छ । जोस नयाँ लिएर आए पनि पुरानै ढर्रामा ती पार्टीहरू सञ्चालन तिनका समर्थकहरू निराश भएको पाइन्छ । नयाँ पार्टीमा पनि त्यही पुरानै सोच छ भने पुरानै पार्टीमा किन नजाने भन्दै धेरैले त्यस्ता पार्टी परित्याग गरेको देखिएको छ । 

एउटा विशेष मुद्दामा राजनीति गर्ने पार्टीहरू आए पनि ती मुद्दा समाप्त भएपछि पार्टी पनि कमजोर भएको राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् । डा। भट्टराईले नयाँ शक्ति पार्टी गठन गरे पनि धैर्य गर्न नसकेको कारण पार्टी समाप्त भएको उनको टिप्पणी छ । उनले नयाँ शक्तिले बाटो बिराउनुका साथै विचारमा सङ्कट उत्पन्न भएको कारण समाप्त भएको बताए । विवेकशील साझा जस्ता पार्टीहरूले जनतालाई केही दिने नारा लगाएर राजनीतिमा आए पनि केही दिन नसकेपछि आफै बिलाएको टिप्पणी विश्लेषक सुवेदीको रहेको छ ।

रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी र सिके राउतले गठन गरेको जनमत पार्टीप्रति भने जनताको अझै विश्वास कायम रहेको उनले बताए । रविका पक्षधरले अझै पनि काम नै गर्न दिएन, काम गर्ने मौका दिनुपर्छ भनिरहेको उनको सुनाए । 

यता डा. बाबुराम भट्टराईको साथमा रहेर लामो समय काम गरेका राजनीतिक विश्लेषक डम्बर खतिवडाले ‘रियाक्टिभ पोल्टिक्स’ गरेका कारण नयाँ पार्टीहरू समाप्त भइरहेको बताए । उनले भने, ‘पुरानो पार्टीसँग रिस उठ्यो भनेपछि उनीहरूलाई गाली गर्दै रियाक्सनमा नयाँ पार्टी गठन हुन्छ । यस्ता पार्टी टिकाउ हुँदैनन् । पार्टी टिकाउनका लागि क्रिएटिभ हुनुपर्छ ।’ एउटा व्यक्तिलाई मात्र केन्द्रमा राखेका कारण पनि तीन पार्टीहरू असफल भइरहेको उनको बुझाई छ । ‘अर्को समस्या भनेको व्यक्तिलाई हिरो बनाउनु नै हो । व्यक्तिलाई केन्द्रमा राखेर पार्टी बनाएको कारण पनि ती पार्टी टिक्न नसकेका हुन्,’ उनले भने, ‘रवि लामिछाने, डा. बाबुराम भट्टराई, रवीन्द्र मिश्र, मिलन पाण्डेका पार्टीहरू व्यक्तिलाई केन्द्रमा राखेर गठन भए । अन्यको त्यहाँ कुरा नै सुनेनन् । अन्यले आफ्नो कुरा राख्ने मौका नै पाएनन् । त्यही भएर केही पार्टीहरू समाप्त भए केही विलयको संघारमा छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप