बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
विमानस्थल

महिनाको ३० लाख घाटा बेहोर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

पुनः उडान गर्न अल जजिराले सार्‍यो भाका
बिहीबार, २६ माघ २०७९, १२ : २८
बिहीबार, २६ माघ २०७९

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध बिमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । डेढ महिना अघिदेखि खराब मौसमको कारण देखाउँदै अन्तर्राष्ट्रिय उडान गर्दै आएका दुई एयरलाइन्सले उडान रोकेपछि अहिलेसम्म सुचारु भएको छैन । 

अन्तर्राष्ट्रिय उडान गर्दै आएका अल जजिरा र हिमालयन एयरलाइन्सले उडान रोकेका हुन् । अलजजिराले फेब्रुअरी २ देखि उडान पुनः सुचारु गर्ने बताएको थियो । तर एक साता बितिसक्दा पनि अलजजिराले उडान सुचारु गरेको छैन । गत डिसेम्बर २१ मा जजिराले र १६ डिसेम्बरमा हिमालय एयरलाइन्सले मौसमको खराबी देखाउँदै अन्तर्राष्ट्रिय उडान बन्द गरेका थिए । 

अहिले आएर जजिराले फेरि मार्चदेखि उडान हुने आश्वासन दिएको विमानस्थल आयोजनाका प्रवक्ता सुवास झाले बताए । २०७९ जेठ २ गते बुद्ध पूर्णिमाका दिन भव्य कार्यक्रमबीच विमानस्थल शुभारम्भ गरिएको थियो । यस गौतम बुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय हवाई उडानको यात्रा भने ७ महिना नबित्दै रोकिएको छ ।

जजिराले सुरुमा हप्ताको तीन दिन गर्दै दैनिक उडान गरेको थियो । पुस ६ गतेदेखि हुस्सुको कारण देखाउँदै उडान रोकेको थियो ।

प्राविधिक उपकरण सञ्चालन नहुँदा पनि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिमेकी मुलुक भारतको सीमा नजिकै भएकाले भारतीय आकाशको प्रयोग गर्नुपर्ने हुन्छ ।

तर भारतले आफ्नो आकाश प्रयोग गर्न नदिँदा पनि विमानस्थलको प्रयोगमा एयरलाइन्सहरूको अरुचि बढेको बताइन्छ । भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध विमानस्थललाई पायक पर्ने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिन मानिरहेको छैन ।

भैरहवा तथा यस आसपासको ‘भिजिबिलिटी’ २०० मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे आन्तरिक उडान हुने र नलागे उडान नै नहुने अवस्था छ । विमानस्थलमा जडित आईएलएस ९ उपकरणको मद्दतबाट विमान ल्यान्डिङ गर्ने प्रणाली सञ्चालनमा आउन नसक्दा भैरहवाका लागि हुने गरेका सबै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो ।

आईएलएस एक रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानहरूलाई रातमा वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । अरू बेला १ हजार ५०० मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा आईएलएसको सहयोगमा ८०० मिटरसम्मको भिजिबिलिटीमा हवाईजहाज अवतरण गराउन सकिने प्रवक्ता झाले बताए ।

अहिले मौसम सफा भए पनि यात्रु र अन्य कारणले एयरलाइन्सहरूले उडानका लागि इच्छा देखाएका छैनन् । ‘अलजजिराले फेब्रुअरीबाट उडान गर्ने भन्ने थियो, तर अझै पनि एयरलाइन्सले चलाउन नसक्ने खबर गरेका छन्’, प्रवक्ता झाले भने, ‘मार्च पहिलो सातासम्म चल्छ कि भन्ने छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ । प्रवक्ता झाका अनुसार विमानस्थल फुलफेजमा सञ्चालन नहुँदै उडान रोकिएकाले महिनाको ३० लाखसम्म विमानस्थल घाटा लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप