शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

बिहीबार, २६ माघ २०७९, १४ : २२
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ । 
नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो । ए डिभिजनका अधिकांश क्लवले आफूहरुलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए । 

खेलाडी थप गर्ने माग लगायत शहीद स्मारक ए डिभिजन लिग सञ्चालन सम्बन्धमा बुधबार बसेको बैठकले खेलाडी कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले बताए । उनले अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लवहरुले कोटा थप्न माग गरेअनुसार अब क्लवले ५ जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने बताए । उनले टिममा एक जना एशियाली र एक जना दक्षिण एशियाका खेलाडी अनिवार्य गरिएको पनि बताए । उनले एक खेलमा ४ विदेशी खेलाडीहरु खेल्न पाउने प्रावधान ल्याएको बताए । 

उनले भने, ‘पहिला क्लव र एन्फाको सहमति ४ जना विदेशी खेलाडी राख्न पाउने सहमति गरेका थियौँ, तर पछिल्लो समय खेलाडीहरु विदेश गइरहेको र नेपालमा क्लव लिग खेल्ने खेलाडीहरुको अभाव भएको भन्दै क्ल्वहरुले एन्फासँग विदेशी खेलाडीको कोटमा बढाउनुपर्ने माग गर्नुभएको थियो । एन्फा र क्लव पदाधिकारीबीच बुधवार बसेको बैठकमा यस विषयमा छलफल गरी अब हामीले ५ जना विदेशी खेलाडी क्लवमा समावेश गर्न पाउने निर्णय गरेका छौँ । जसमा पनि एक जना दक्षिण एशियाली र अर्को एक जना एशियाली खेलाडी हुनैपर्ने नियम बनाएका छौँ । तर क्लवले एउटा खेलमा ४ जना मात्रै विदेशी खेलाडीहरुलाई खेलाउन पाउने प्रावधान छ ।’

राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लवहरुले सामुहिक रुपमा विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजनका ११ वटा क्लवले आफ्नो माग सहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए । पछिल्लो समय राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी अष्ट्रेलिया पुगेका छन् । तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्या समेत बढ्ने क्लवको चिन्ता छ । सोही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने भन्दै क्लवहरुले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका थिए ।

शहीद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लवले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै शुरुवाती–११ मा ४ जना विदेशी खेलाडी राख्न पाइनेछ । एक जना विदेशी खेलाडी भने बेन्चमा रहनेछन् । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगका लागि पाँचौं चरण सम्मको तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिका अनुसार उद्घाटन खेल खुमलटार युथ क्लव र फ्रेण्ड्स क्लवबीच हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप