मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

पार्टीको सर्कुलरपछि जुरमुरायो मधेसमा माओवादी, विवाद मिलाउन बैठक आह्वान

बिहीबार, २६ माघ २०७९, १५ : ५९
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको निर्णयअनुसार मातहतका कमिटीमा सर्कुलर पठाएसँगै मधेसमा पार्टीले गति लिने आशा गरिएको छ । माओवादी केन्द्रले बिहीबार पठाएको सर्कुलरमा मधेस पार्टीमा रहेको समस्याबारेको विषय उठाउँदै त्यसलाई समाधान गर्न पहल गरिने उल्लेख गरिएको छ । 

पार्टीभित्रको गुट उपगुटका कारण मधेस प्रदेश कमिटी समेत बन्न नसकेको सन्दर्भमा पार्टीले तदर्थ समितिका साथै मातहतका कमिटी गठन गर्न पहल गर्ने भएको हो । ‘मधेस प्रदेशमा प्रदेश समिति गठन नभइसकेको हालको अवस्थामा पार्टी केन्द्रीय सदस्यहरूले प्रदेश समन्वय समितिको भूमिका निर्वाह गर्ने र मधेस प्रदेशमा आवश्यक गृहकार्य गरी प्रदेश तदर्थ समिति निर्माण गर्न पहल गर्ने’, पार्टीको सर्कुलरमा भनिएको छ । 

यही पृष्ठभूमिमा मधेस प्रदेश समितिको बैठक बस्न लागेको छ । आगामी शनिवार बिहान ११ बजे (माघ २८ गते) महोत्तरीको बर्दिबासमा प्रदेश समितिको बैठक बस्न लागेको हो ।  

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विश्वनाथ शाहले शनिवार मधेस प्रदेशको बैठक बस्न लागेको जानकारी दिए । पार्टीका सबै नेताहरूमा समझदारी बन्न सकेमा प्रदेश समिति, जिल्ला समिति र स्थानीय तहको नेतृत्व टुङ्गो लगाउने गरी गृहकार्य गरिएको उनको भनाइ छ । 

 ‘अहिले मधेस प्रदेशमा कुनै कमिटी फर्मेसन भएको छैन । गणेश साहजी नै इन्चार्ज हुनुहुन्छ । प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य सहित पदाधिकारीको बैठक बसेर कार्य योजना बनाउने भन्ने छ’ रातोपाटीसँग कुरा गर्दै शाहले भने, ‘मधेस प्रदेशमा कुनै पदाधिकारी नभएकाले थप केही हुँदैन । समन्वय समिति जस्तो केन्द्रीय समिति र प्रदेश समितिका नेताहरूको कमिटी बनाएर काम गर्ने तयारी छ ।’ 

सबै नेताहरूबिच समझदारी भएमा प्रदेश समिति, जिल्ला समिति र स्थानीय तहको नेतृत्व सहित पदाधिकारीको टुङ्गो लगाउने विषयमा छलफल हुने शाहले बताए । ‘हाम्रो पार्टीको प्रदेश सहित जिल्ला र पालिकामा नेतृत्व सहित पदाधिकारी नहुँदा चुनावमा राम्रो नतिजा ल्याउन सकेनौँ । यदि प्रदेश समितिको बैठकबाट सर्वसम्मत भएमा नेतृत्व टुङ्गो लगाउने गरी छलफल गर्ने छौँ’, शाहले भने ।

पार्टीको बैठकबाट पुरानै इन्चार्ज दोहोरिएपछि मधेस प्रदेशलाई पूर्णता दिने तयारी गरिएको बताइएको छ । मधेस प्रदेश समिति जिल्लामा छरितो कमिटी नहुँदा स्थानीय तहमा समेत माओवादीले नराम्रो क्षति व्यहोर्नु परेको थियो । 

 कुल १ सय ३६ स्थानीय तहमध्ये माओवादीले ९ वटा मात्र जित्न सफल भएको थियो । जबकि २०७४ सालको चुनावमा १९ स्थानीय तह जितेको थियो । यस्तै प्रदेश र प्रतिनिधि सभा चुनावमा समेत माओवादी उस्तै कमजोर भयो । प्रतिनिधि सभामा कुल ३२ सिटमध्ये एक सिट जित्न सकेको थिएन । 

 माओवादी चुनाव चिन्ह हँसिया हथौडा लिएर नेपाल समाजवादीका महेन्द्र राय यादव मात्र निर्वाचित भएका थिए । यस्तै माओवादीकै समर्थन स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह निर्वाचित भएका थिए । 

यस्तै प्रदेश सभाका ६४ क्षेत्रमध्ये चार जनाले मात्रै प्रत्यक्ष चुनाव जितेका थिए । मधेस प्रदेशको माओवादीको अवस्था स्थानीय तहदेखि प्रदेश र  प्रतिनिधि सभामा कमजोर उपस्थित देखिएको छ । यस्तो अवस्थामा पार्टीको शनिवार बस्ने बैठकमा सबै विषयमा जीवन्त छलफल हुने नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप