आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निफको जुरी प्रमुखमा डिन ली र प्रेमेन्द्र

बिहीबार, २६ माघ २०७९, १६ : १५
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुन लागेको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी प्रमुख मनोनित गरिएको छ । निफले फिचर फिल्मतर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री फिल्मतर्फको प्रमुखमा बेइजिङ फिल्म एकेडेमीकी डिन ली रान छनोट गरेको छ । जसको जानकारी निफले बिहीबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

प्रेमेन्द्र मजुमदार भारतीय फिल्म जगतमा पुनर्जागरण ल्याउने व्यक्ति मानिन्छन् । फिल्म समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रहरूमा प्रेमेन्द्रले आफूलाई विश्वव्यापी फिल्म समुदायको आवाजको रूपमा स्थापित गरेका छन् । फिल्म र सामाजिक गतिशीलताको राजनीतिमा विचार–उत्प्रेरक व्याख्यानहरू दिनेदेखि लिएर दक्षिण एसियाली स्वतन्त्र सिनेमाका नवीनतम प्रवृत्तिमा प्रेमेन्द्रको योगदान प्रभावकारी रहेको छ । प्रेमेन्द्रले अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल कान्स र काइरो अन्तर्राष्ट्रिय फिल्म क्रिटिक्स सप्ताह लगायतका निकै प्रतिष्ठित फिल्म महोत्सवहरूमा ओजनदार उपस्थिति जनाएका छन् । 

प्रेमेन्द्रको सबैभन्दा उल्लेखनीय उपलब्धिहरूमध्ये एक बृहत्त अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सुरुवात हो, जुन भारतका ४० भन्दा बढी शहरहरूमा प्रदर्शन गरिन्छ । सन् २०१५ मा कोलकातामा उद्घाटन गरिएको यो महोत्सव एक प्रमुख सांस्कृतिक कार्यक्रम भएको छ, जसले विश्व सिनेमाका उत्कृष्ट फिल्मलाई देशभरिका दर्शकमाझ पुर्याउँछ । भनिन्छ, ज्ञान, जोश र समर्पणको संयोजनले प्रेमेन्द्रलाई विश्व फिल्मको राजदूत बनाएको छ ।

त्यसैगरी ‘इन्टरनेशनल स्कूल अफ बेइजिङ फिल्म एकेडेमी’ की डीन लि रान फिल्म मार्केटिङ र वितरण पक्षको ज्ञाता मानिन्छिन् । उनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना र क्युरेटिङमा निकै अनुभवी छिन् । उनले चलचित्रसँग सम्बन्धित धेरै कार्यक्रममा प्रमुख आयोजकको रुपमा समेत अनुभव बटुलिसकेकी छिन् ।

लि रान सन् २०१४ देखि बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको मुख्य प्रतिस्पर्धा इकाईको निर्देशक, ०१५ मा प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि पहिलो राष्ट्रिय चलचित्र सप्ताहको कार्यकारी निर्देशक, २०१६ र ०१८ मा सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रतिस्पर्धा विभागको निर्देशक, २०१७ देखि अन्तर्राष्ट्रिय विद्यार्थी चलचित्र र भिडियो महोत्सवका कार्यकारी अध्यक्ष लगायतको जिम्मेवारीमा छिन् ।

यस वर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’ मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने निफका अध्यक्ष केपी पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप