सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद

आइतबार, ०३ साउन २०८३, १८ : ४३
आइतबार, ०३ साउन २०८३

इटहरी । सुनसरीको रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीका छोरा देवेन्द्र नारायण चौधरी नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन्।

विशेष अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम ६ महिना कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो।

विशेष अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त  इजलासले असार ३० गते चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० अनुसार कसुरदार ठहर गर्दै उक्त सजाय सुनाएको हो।

चौधरीले रामधुनी नगरपालिकामा इन्जिनियर पदमा नियुक्तिका लागि पेस गरेको उच्च माध्यमिक तह (प्लस टु) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको हो।

उनले सरकारी सेवामा प्रवेश गर्न र लाभ लिनका लागि भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

अदालतले झुटा शैक्षिक प्रमाणपत्र पेस गरी लाभ लिने कार्य भ्रष्टाचार निवारण ऐन अन्तर्गतको कसुर भएको निष्कर्ष निकाल्दै चौधरीलाई जरिवानासहित कैद सजाय सुनाएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप