शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीको सम्बोधन जारी

बिहीबार, २६ माघ २०७९, १६ : ५८
बिहीबार, २६ माघ २०७९

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा सम्बोधन गरिरहेका छन् । 

बिहीबार अपरान्ह ४ बजेबाट सुरु भएको सुदूरपश्चिम प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलको सम्बोधन जारी छ । उनले सुदूरपश्चिमको विकासका सन्दर्भमा विस्तृतमा आफ्नो धारणा राखिरहेका छन् । 

सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।

एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । नाउपाले विश्वासको मत नदिने अडान लिएपछि रावल सरकार सङ्कटमा परेको छ ।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। नाउपाको साथ नपाउने भएपछि रावललाई विश्वासको मतका लागि ५ सांसद अपुग भएको अवस्था छ ।

रावललाई अहिले प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, र राप्रपाका १ गरी २२ सांसदको माथ साथ छ ।

विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवाद) का ४ र १ स्वतन्त्र सदस्य छन्। आजको बैठकमा विश्वासको मत प्राप्त गर्न नसके रावल नेतृत्वको सरकार ढल्ने छ । त्यसपछि सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसलाई सरकार बनाउन बाटो खुल्नेछ ।

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप