शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति चुरेका हाकिमले आफ्नै कर्मचारीलाई आँखा लगाएपछि...

आइतबार, २९ माघ २०७९, १० : ०६
आइतबार, २९ माघ २०७९

रुपन्देही । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति बुटवलका कार्यालय प्रमुख राजन रेग्मीले आफ्नै कार्यालयकी एक महिलालाई यौन दुराशय राखेपछि उक्त कार्यालयमा लफडा भएको छ । 

एक वर्षअघि करार सेवामा राखिएकी सुपरभाइजर एक महिला कर्मचारीलाई पटक–पटक यौनजन्य गतिविधि गर्न खोजेको र महिलाले नमानेपछि उनलाई जागिरबाट समेत हटाइएको रहस्य सार्वजनिक भएको छ । रातोपार्टीको सम्पर्कमा आएकी ती महिलाले भनिन्, ‘मलाई हाकिमसापले पटक–पटक यौनजन्य आशय राखेर बोलाउने र रातिमा धेरै डिष्टर्व गर्ने गर्नुभयो, मैले अस्वीकार गरेपछि अन्ततः जागिरबाटै हटाउनुभयो ।’ 

उनले थपिन्, ‘गत असार मसान्तको दिन कपिलवस्तुमा मुख्यमन्त्रीको कार्यक्रममा गएर आउँदा ड्राइभरसहित चार जना थियौँ, उहाँहरूले धेरै मदिरा पिउनुभएको थियो, म एक्लै थिएँ । घरमा आएपछि ड्राइभरलाई छोडेर एक्लै गाडी लिएर राति १० बजे मेरो रुममा आउनुभयो । उहाँले धेरै बेर हर्न बजाएपछि म निस्किए । एउटा काम पर्‍यो भनेर मलाई गाडीमा बसाउनुभयो । त्यसपछि उहाँको अभद्र व्यवहार देखेपछि म बाटोमै गाडी रोकाएर झगडा गरी एक्लै फर्किए ।’ 

होटेलमा लगेर बस्ने कुरा सुनाएपछि उनले आफूले प्रतिकार गरेर छुट्टिएको उनले बताइन् । उक्त घटनापछि ती महिलाले अर्को दिन साउन १ गते उक्त कार्यालयका इन्जिनियर प्रकाश बस्नेतलाई सुनाएर भण्डाफोर गर्ने बताएपछि बस्नेतले कार्यालय प्रमुख रेग्मी र ती महिला कर्मचारीलाई भेट गराएर छलफल गराएका थिए । बुटवलको नयाँ गाउँमा रहेको आरम्भ रिपोर्टमा दुबैजनालाई बोलाएर बस्नेतले छलफल गराएका थिए । छलफलमा कार्यालय प्रमुख रेग्मीले माफी मागेपछि घटना साम्य भएको थियो ।

इन्जिनियर बस्नेतले रातोपाटीको जिज्ञासामा भने,‘अघिल्लो दिन उहाँहरुबीच के के भयो मलाई थाहा भएन, अर्को दिन महिला कर्मचारीले कार्यालयमै गएर लफडा गर्ने देखिएपछि मैले अराम्भ रिपोर्टमा दुबै जनालाई बोलाएर हाकिमसापलाई माफी मगाएको हुँ ।’ त्यसपछिका घटनाक्रमबारे आफूलाई जानकारी नभएको बस्नेतले बताए ।

उक्त घटनापछि पनि बेला बेलमा उस्तै प्रकारको गतिविधि गरेको र आफूले नमानेपछि गत पुस महिनाबाट रेम्मीले आफूलाई जागिरबाट समेत हटाएको ती महिला कर्मचारीले बताइन् । रातोपाटीको जिज्ञासामा कार्यालय प्रमुख रेग्मीले उक्त आरोपको खण्डन गरे । उनले भने, ‘मलाई लगाएको उनको आरोप गलत हो, बरु उनले वनभोजको बेला वाइन खाएर आफै लफडा गरेकी हुन्, अन्य कर्मचारीलाई धम्क्याएकी हुन् ।’ कार्यालयमा काम नभएकाले केही महिनाको लागि उनलाई निकालेको र चैत महिनाबाट फेरि जागिरमा फर्काउने बचन दिएको उनले बताए ।

समाचार स्रोतका अनुसार कार्यालय प्रमुख रेग्मी र ती कर्मचारी महिलाबीच खटपट भएपछि रेग्मी नियमित कार्यालय जान छोडेका छन् भने ती महिला कार्यालयमा पुगेर आफ्नो जागिर नियमित हुनुपर्ने माग गरिरहेकी छन् । ती महिलासंग लफडा भएपछि उनीसँगै जागिरमा लागेकी अर्की एक महिलालाई समेत रेग्मीले जागिरबाट हटाएका कार्यालय स्रोतले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप