शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रेम दिवस : पाल्पाको रानी महलमा सम्मानित हुँदैछन् २५ विवाहित जोडी

मङ्गलबार, ०२ फागुन २०७९, ०६ : ५१
मङ्गलबार, ०२ फागुन २०७९

रुपन्देही । नेपालको ताज महल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानी महलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मंगलबार २५ जना विवाहित जोडीहरू सम्मानित हँदैछन् । पाल्पाको तानसेन नगरपालिका वडा नं. १३ मा पर्ने रानी महल दरबारमा प्रेम दिवसको अवसर पारेर विवाहित तथा अविवाहित सयौँ पर्यटक जोडी पुग्ने गर्दछन् । 

प्रेम दिवसको अवसर पारेर तानसेन नगरपालिकाले मंगलबार आयोजना गरेको विविध कार्यक्रममा २५ जोडी विवाहित पर्यटकलाई सम्मान गर्न लागिएको तानसेन नगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिए ।

तानसेन नगरपालिकासँग नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) लुम्बिनी प्रदेशले पनि समन्वय गरेर कार्यक्रम गर्न लागिएको नाट्टाका प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । उत्तर बाहिनी गङ्गाको दर्शन गरी रानी महलको महादेव मन्दिरमा सिक्का चढाउने र दिइने बचनले युगौँ युगसम्म प्रेम अमर रहन्छ भन्ने मान्यता रही आएका छ । यही मान्यतालाई देश विदेशसमक्ष पुर्याउन र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रानी महलमा विविध कार्यक्रम गर्न लागिएको पन्तले उल्लेख गरिन् । 

पन्तका अनुसार आयोजक तानसेन नगरपालिका र नाट्टा लुम्बिनीका पदाधिकारीहरू सोमबार नै रानी महल पुगेका छन् । भारतका विभिन्न ठाउँ र नेपालका विभिन्न टाढाको दुरीबाट आउने पर्यटकहरू पनि सोमबार नै रानी महल पुगेका छन् । रानी महलको छेवैमा रहेको कालिगण्डकी नदीमा र्याफ्टिङ गरेर आनन्द लिने पर्यटकहरूले हालै निर्माण भएको झोलुङे पुलमा मनोरम दृश्यको अवलोकन तथा सेल्फी लिएर रमाउने छन् । प्रेम दिवसको दिन यहाँ पर्यटकको घुँइचो नै लाग्ने गर्दछ ।

रानी महलको महत्त्व

पाल्पाको रानी महल एक प्रसिद्ध पर्यटकीय स्थल हो । विक्रम संवत् १९५० देखि १९५४ सम्म चार वर्ष लगाएर बनाइएको कलात्मक रानी महल दरबार पर्यटकको मुख्य रोजाई बन्ने गरेको छ । पाल्पा गौँडाका तत्कालीन जनरल खड्ग शमशेरले दिवङ्गत रानी तेजकुमारीको सम्झनामा बनाएको यो रानी महल दरबार बेलायती इन्जिनियरले डिजाइन गरेका हुन्, जो निकै कलात्मक छ ।

खासगरी प्रेमको प्रतीकका रूपमा रहेको यो महल हेर्न मुख्यतः प्रेम दिवसको दिन पर्यटकको निकै भिड लाग्ने गर्दछ । नयाँ वर्षको पहिलो दिन र प्रेम दिवस (१४ फेब्रुअरी) का दिन यहाँ अत्यधिक पर्यटक पुग्ने गर्दछन् । अन्य दिन पनि यहाँ पर्यटकहरू घुम्न जाने गरेका हुन्छन् ।

ranimahal 2

सदरमुकाम पाल्पाबाट १३ किलोमिटर उत्तरतर्फ बौवागुम्बास्थित कालिगण्डकीको किनारमा ठुलो चट्टानमाथि यो दरबार अवस्थित छ । महलभित्र पोखरी, मन्दिर, बगैँचा आदि छन् । कालिगण्डकीको तिरमा मनोरम प्राकृतिक स्थलमा रहेको रानी महललाई तानसेन नगरपालिकाले सङ्ग्रहालय बनाएर संरक्षण गरेको छ । तानसेनबाट पैदल हिँडेरै पनि साढे दुई घण्टामा पुग्न सकिने रानी महल पछिल्लो समय पाल्पामा पहिलो पर्यटकीय स्थलको रूपमा परिचित छ । चिसो मौसम, स्वच्छ वातावरण रहेको रानी महल नजिकै खाना तथा बास बस्नका लागि होटेल तथा रेष्टुराहरु पनि सञ्चालित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप