शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनमत पार्टी छोडेर जानेलाई पुनः प्रवेश गरेमा ६ वर्षसम्म कुनै पनि लाभकाे पदमा सहभागी हुन नदिइने !

मङ्गलबार, ०२ फागुन २०७९, १५ : ००
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ ।  जनमत पार्टीले पार्टी छोडेर गएका नेताहरूलाई पुनः प्रवेशमा कडाइ गर्ने तयारी  गरेको छ । काठमाडौँमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विशेष बैठकले पार्टी छोडेर गएका नेता तथा कार्यकर्ताहरूलाई पुनः प्रवेश गरेको खण्डमा ६ वर्षसम्म कुनै पनि लाभकाे पदमा वा निर्वाचनमा सहभागी हुन नदिने निष्कर्ष निकालेको हो ।

निर्वाचनको क्रममा अन्तर्घात गरेका, खुला वा छद्म रूपमा अन्य पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका वा बागी उम्मेदवार बनेका सदस्यहरूमाथि कडा कारबाहीको तयारी भइरहेको पार्टीले जनाइएको छ । उक्त विषयहरूमा पुनः बैठक बसी केही दिनमै निर्णय सार्वजनिक हुने जनमत पार्टीले जनाएको छ ।

माघ २८ देखि फागुन १ गतेसम्म चलेको बैठकमा सङ्गठनको पुनर्संरचना, केन्द्रीय संरचनाहरूको पुनर्गठन, सङ्घीय परिषद् र प्रादेशिक समितिहरूको गठन बारे पनि छलफल भएको छ । घर–घर जनमत अभियान, जनमत प्रवेश महाअभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन,  जिल्ला इन्चार्जहरूको नियुक्ति÷फेरबदल, जिल्ला अधिवेशनको तयारीबारे पनि बैठकमा छलफल भएको छ । भातृ सङ्गठन, मोर्चा र विभागहरूको पुनर्गठन, हरेक जिल्लामा प्रभावकारी र नियमित कार्यालय तथा हेल्पडेस्क व्यवस्थापन आदि विषयमा छलफल भएको छ । 

पार्टी प्रवेश गर्न चाहने राष्ट्रिय तथा जिल्ला स्तरका नेताहरूलाई पार्टी प्रवेश शीघ्रताका साथ गराउने र त्यसको लागि संयन्त्र निर्माण गरिने विषयमा समेत बैठकमा छलफल भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप