बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निर्विकल्प होइन संसदीय पद्धति

बुधबार, ०३ फागुन २०७९, १२ : ३९
बुधबार, ०३ फागुन २०७९

हामी पुँजीवादी लोकतान्त्रिक समाज–व्यवस्थाको अभ्यासमा रहेका छौँ । राष्ट्रिय राजनीति संसदीय प्रणालीद्वारा निर्देशित रहेको छ । मूलतः संसदीय प्रक्रियामा बहुदलीय प्रतिस्पर्धा, बालिग मताधिकारका आधारमा आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, मानव अधिकार, सामाजिक न्याय र सुशासनको वकालत गरिन्छ । यी लोकतन्त्रको सैद्धान्तिक, नीतिगत तथा आदर्शगत आधारभूत अवधारणा हुन् । 

तर आज यस्ता स्वादिला र गुलिया शास्त्रीय दिव्य–वाणीका पर्दाभित्र विभिन्न स्वार्थगत हर्कतमा सीमित हुँदै गइरहेको छ संसदीय लोकतन्त्र अर्थात् आआफ्नै निहित स्वार्थमा यसको चरम अपव्याख्या हुनथालेको छ । यो असाध्यै विकृत बन्दै गइरहेको छ अर्थात् जनअपेक्षा र समय सापेक्ष यसको रूपान्तरण अनिवार्य हुँदै गइरहेको देखिन्छ ।  

नेपालमा संसदीय प्रणालीको अभ्यास आरम्भ भएको पनि तीन दशक बढी भइसकेको छ । यो अवधिमा यसले जनताका उन्मुक्तिका कुरा, स्वतन्त्रता, समानता, न्याय, जनजीविका, विकास, समृद्धि र सुखी नेपालीको धेरै वकालत गरिएको छ । जनतालाई यो दिन्छौँ, त्यो दिन्छौँ अनि यो गर्छौं त्यो गर्छौं भनेको पनि अति नै भइसकेको छ । 

चुनावमा गरिएका सम्पूर्ण वाचा–कसमहरूको विवरणलाई अभिलेखीकरण गर्ने हो भने फाइलको भण्डारण क्षमताले धान्नेवाला छैन । जनताले यस्ता धेरै चुनावहरू झेलिसकेका छन् अनि सुगरकोटेड खोक्रो आस्वासन धेरै पचाइसकेका छन् । तर जनताका चाहना र संसदीय लोकतन्त्रको अर्थराजनीतिक कार्यसम्पादनबीच सन्तुलन देखिँदैन अर्थात् जुन रूपमा जनताका उपभोगवादी लालसा र भावना उर्लिरहेको छ त्यही अनुपातमा राजकीय दायित्व पुगिराखेको छैन । 

पछिल्लो विकसित राष्ट्रिय राजनीतिक घटनाक्रमहरूलाई नियाल्दा संसदीय प्रणाली झनै गलत दिशातर्फ गइरहेको आभाष हुन्छ । न्यूनतम रूपमा स्थायित्वका लागि बहुमत आवश्यक हुन्छ । आज संसदीय राजनीतिले जसरी पनि बहुमत पु¥याउने खेलमा आफ्नो मूल्य–मान्यतालाई लिलाम गरिरहेको छ । बहुमत पु¥याए पनि समस्याको हल भइराखेको छैन । अल्पमत हुँदा त झन् हुने कुरै भएन । 

विडम्बना नै भन्नुपर्छ, बहुमत पुग्यो भत्काउने खेल हुन्छ, पुगेन पु¥याउने अर्को रणनीतिक खेल हुन्छ । मिल्यो फुटाउने चलखेल हुन्छ । झगडा ग¥यो झनै बल्झाउने जालझेल हुन्छ । पुरानोले गरेन, नयाँले गर्छ कि अनि एबीसीडीले गरेन, अरूले गर्छ कि भनेर अमूक पार्टी र व्यक्तिभित्र विकल्प खोज्दा अहिलेसम्म समाधनमुखी वा वस्तुवादी विकल्प भेटिएको छैन । नयाँले गर्छ कि वा अर्कोले पो गर्छ कि भन्ने बनीबनाउ विकल्पमा हाम्रो राजनीति घुमिरहेको छ । तर अहिलेसम्म सही विकल्प फेला परेको देखिँदैन । यसले दुईवटा आयामलाई आकर्षित गर्दछ । एउटा यसलाई हामीले उपयोग गर्न जानेनौँ भनेर स्वीकार गर्न सकिन्छ । अर्को यो अब असफल हुँदैछ, यसकारण यसको सही विकल्प खोज्नुपर्छ भनेर बहस गर्न सकिन्छ । 

वस्तुतः जनताले विकल्प खोजेको देखिन्छ तर उनीहरूले प्रणालीमा नभएर अमूक पार्टी, गुट र पात्रमा विकल्प खोजिरहेका छन् । सारभूत कमजोरी यहीँनेर भइरहेको छ । यही सिलसिलाअन्तर्गत उनीहरूले नयाँ पार्टी, गुट, व्यक्ति, युवा र स्वतन्त्र भन्दै बरालिने र बहकिने  क्रम बढिरहेको छ । उनीहरू जति जति नयाँ पार्टी, पात्र र युवा जस्ता बनिबनाउ विकल्पहरूमा बहकिनु हुन्छ त्यति नै राष्ट्रिय राजनीति विकृत र अराजक बन्दैगइरहेको छ । यसले पो गर्छ कि उसले पो गर्छ कि भन्दाभन्दै पुस्तौँ–पुस्ता बित्ने देखिन्छ । तर समग्र यात्रा समाधनको दिशातिर छैन । 

वस्तुतः जनताले विकल्प खोजेको देखिन्छ तर उनीहरूले प्रणालीमा नभएर अमूक पार्टी, गुट र पात्रमा विकल्प खोजिरहेका छन् । सारभूत कमजोरी यहीँनेर भइरहेको छ ।

यद्यपि जनताका स्तरबाट यस्तो बालसुलभपन राख्नु अन्यथा होइन । किनकि उनीहरू सबैलाई प्रणाली के हो ? चुनाव के हो ? पार्टी र पात्र के हो ? त्यसमध्ये पनि सबैभन्दा निर्णायक कुन हुन्छ भन्ने न्यूनतम राजनीतिक सचेतना नभएसम्म जनस्तरबाट गरिने पैmसलाहरू सही नै हुन्छन् भन्ने वस्तुगत आधार हुँदैन । 

तर अब जनताले पनि सत्य–तथ्य बुझ्नु पर्दछ । पद्धति, पार्टी, पात्र, पुरानो, नयाँ, बूढा र तन्नेरीको भूमिका कति हो भनेर खुट्याउनुपर्छ । सही र गलत छुट्याउनुपर्छ । प्रणाली र सरकार वा राज्यसत्ता र सरकारको अन्तरलाई चिरफार गर्नुपर्दछ । कुन दृष्टिकोण, विचार, कार्यदिशा, कार्ययोजना र कार्यक्रम सही छ भन्ने ज्ञान राख्नुपर्छ । 

अग्रगामी र पश्चगामी, जनपक्षीय र जनविरोधी, देशभक्त र देशद्राही, ढोंगी र सक्कली, अभिनय र यथार्थ, बोली र व्यवहार, भनाइ र गराइ सुगरकोटेड नारा र धरातलीय कार्यदिशागत प्रक्रिया, योजना विन्यास र कार्यान्वयन अनि लोलीमा बोली र धरातलीय जीवन व्यवहारलाई राजनीतिक रूपमा राम्रोसँग पहिचान गर्नसक्ने सचेत नागरिक हुनु भनेको लगभग आधा समस्या स्वतः समाधन हुनु हो । तपाईं हामीले कुनै पनि वस्तु, सत्ता वा व्यक्तिप्रति वस्तुवादी भएर विश्लेषण र व्याख्या गर्नुपर्दछ । तब मात्र तथ्यमा पुग्न सकिन्छ । तथ्यमा पुगेर मात्र समस्याको जरा पत्तो लगाउन सकिन्छ । 

    वास्तवमा आज जुन ढङ्गले मतदाताहरू बहकिन र बरालिन थालेका छन् त्यो राजनीतिक सचेतनाकै कमी हो । उनीहरूमा पार्टी, पात्र र स्वतन्त्रहरू खास राजनीतिक दृष्टिकोणद्वारा निर्देशित पद्धतिभन्दा दायाँ–बायाँ जान सक्दैनन् भन्ने सामन्य ज्ञान देखिँदैन । तब उनीहरू अमूक पार्टी, पात्र, गुट, पुरानो, नयाँ, बूढो र तन्नेरीहरूलाई विकल्पको रूपमा उभ्याउने गर्छन् । उनीहरूलाई त्यस्ता पार्टी र पात्रहरूलाई प्रणालीले दिशानिर्देश  गरिरहेको हुन्छ भन्ने गाँठी कुरा थाहा हुँदैन । 

वस्तुतः यो उनीहरूमा विद्यमान रहेको राजनीतिक अल्पज्ञानबाट पैदा भएको दृष्टिदोष नै हो । एकपछि अर्को जति नै नयाँ पार्टी र पात्रहरू आए पनि समस्या भने जहाँको त्यहीँ कायाम रहनु यसैको उपज हो । उनीहरू भने आवेगमा भाँतारिँदै झनै अरू नयाँ–नयाँ पार्टी र पात्रहरूको निरपेक्ष विकल्पमा लाग्छन् । यही मेसोमा राजनीतिक परिदृश्यमा श्रम नगरेका, नदेखिएका वा नचिनिएका पार्टी र पात्रहरू फिल्मी शैलीमा अभ्युदय हुने गर्दछ । यो वर्तमान हाम्रो राष्ट्रिय राजनीतिको यथार्थ परिदृश्य हो । 

यता जनतालाई प्रणाली र पद्धतिको सन्दर्भमा पर्याप्त सचेतना हुन्थ्यो भने उनीहरूले संसदीय प्रणालीमाथि प्रश्न गर्ने थिए । पद्धति प्रधान रहेछ भने पार्टी र पात्र सहायक रहेछ भन्ने सत्य कुरा बुझ्ने थिए । प्रणालीलाई विघटन नगरेसम्म जो गए पनि अन्ततः उही ड्याङको मुला हुने रहेछ भनेर जान्ने थिए । संसदीय पद्धतिको विकल्प खोज्ने थिए । यति धेरै तिकडमबाजी गरेर चुनाव जित्ने, अरू धेरै तिकडमबाजी गरेर सरकार बनाउने अनि अभैm महाजालझेल गरेर सरकार टिकाउने, भत्काउने अनि कामकारबाही चाहिँ औसत पुरानै हुने भनेपछि समस्या पार्टी र पात्रमा भन्दा पनि प्रणालीमा रहेछ भन्ने मर्मबोध हुनेथियो । तर यसमा साधरण जनतालाई धेरै दोष दिने ठाउँ छैन । किनभने उनीहरूलाई प्रणाली भनेको के हो ? पद्धति, पार्टी र पात्रमासबैभन्दा महत्त्वपूर्ण कुन हुन्छ ? संसदीय व्यवस्था कस्तो पद्धति हो । यसका सबल र दुर्बल पक्षहरू केके हुन् ? भनेर अहिलेसम्म कुनै पनि किसिमको स्कुलिङ र प्रशिक्षण भएको पाइँदैन । बरु उल्टै पुँजीवादी लोकतन्त्रमा आधारित संसदीय प्रणाली संसारकै सबैभन्दा राम्रो वा उन्नत शासन व्यवस्था हो । कम्युनिस्टहरू सबै असफल भए । यसको अर्को कुनै विकल्प छैन भनेर घोकाएका छन् । तब प्रणालीमाथि कसरी प्रश्न गर्न सक्छन् ? कसरी बुझ्छन् जनताल प्रणाली प्रमुख हो भने पार्टी र पात्रहरू सहायक हुन् भनेर े ? यसैको दुष्परिणाम आज तपाईं–हाम्रो राजनीति झनै अनिर्णय, अन्योलता र अस्थिरताको चक्रव्यूहमा फस्दैगइरहेको छ । 

यसकारण जनतालाई खास राजनीतिक दृष्टिकोणद्वारा निर्देशित पद्धति प्रधान हुन्छ र पार्टी, पात्र, बूढो र तन्नेरी सहायक हुन्छ भनेर बुझाउनु पर्दछ । होइन भने बहकिएका र बरालिएका मतदाताले कुनै अमूक पार्टी र पात्रहरूलाई महत्त्वाकाङ्क्षी शिखरमा पु¥याउला, पद, पावर र प्रतिष्ठाको भ¥याङ चढाउला । उनीहरू पनि यो वा त्यो मिडिया स्टन्टबाजी र सस्तो ढोंगमार्पmत् बहुमत ल्याउला । सरकार बनाउला, सत्ता–भोगविलासमा रमाउला, नाम वा प्रतिष्ठा पनि कमाउला अनि सामाजिक सञ्जालमा वाही वाहीसहितको राम्रै कभरेज पनि पाउला । तर नेपाली राष्ट्रिय राजनीतिक आकाशमा मडारिएको कालो बादल हट्नेवाला छैन । बेथिति थितिमा आउनेवाला छैन । अस्थिरतामा स्थिरता भेटिनेछैन । गोलचक्करमा रुमलिएको राजनीतिले गति पकड्नेवाला छैन । राजनीतिक तिकडमबाजी र खिचतानी साम्य हुनेवाला छैन । मौजुदा दृष्टिकोणीय प्रणालीमा जुन जोगी आए पनि खरानी धसाइमा तलमाथि होला तर सोच, चिन्तन र जीवन–व्यवहारको दृष्टिबाट उनीहरू सबै उही ड्याङको जोगी नै हुनेवाला छ । किनभने ती सबै जोगीहरू एउटै औसत जोगी मूलमन्त्रद्वारा निर्देशित छन् ।

तसर्थ हाम्रो मुख्य समस्या राजनीतिक दृष्टिकोणद्वारा निर्देशित पद्धतिमा हो । पुँजीवादी लोकतन्त्रमा हो । संसदीय पक्रियामा हो । यही प्रणाली जीवित रहेसम्म  जति नै नयाँ नयाँ पार्टी र व्यक्तिहरूलाई अवसर दिए पनि औसत परम्परामा गुणात्मक परिवर्तन हुने सम्भावना देखिँदैन । त्यसैले अब बहस नयाँ पार्टी र पात्रहरूलाई शृङ्खलाबद्ध रूपमा पालो पु¥याउने भन्दा पनि वा स्वाद चखाइरहने भन्दा पनि राजनीतिक प्रणालीको खोटमा समेत बहस गर्नुपर्ने ऐतिहासिक आवश्यकता भइसकेको छ । किनभने राम्रो जोगी हुनको लागि जोगी मन्त्र वा विचार पनि उन्नत, प्रगतिशील वा राम्रो चाहिन्छ । उही औसत जोगी मन्त्र सिकेका सयौँ नयाँ जोगीलाई सत्तामा पु¥याए पनि आखिर गर्ने यस्तै औसत काम नै हो । 

त्यसैले संसदीय लोकतन्त्रलाई निर्विकल्प भन्नेहरूलाई कि त रूपान्तरणसहितको संसद्वाद चाहियो भनौँ कि त यसको प्रगतिशील विकल्प खोजौँ । एउटा संसदीय लोकतन्त्रको विकल्प अर्को संसदीय लोकतन्त्र हुन सक्दैन । यसको एकल तथा उन्नत साझा विकल्प भनेको समाजवाद नै हो । जनतालाई चेतना भया !  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप