आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

शनिबार, ०६ फागुन २०७९, १६ : ५१
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ । शुक्रबार र शनिबार भएका ती सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको हो । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार डोटीको केआइ सिंह गाउँपालिका १ लोलीमा भएको दुर्घटनामा सोही गाउँपालिका  १ महादेवी बस्ने ३६ वर्षीय गोविन्द शाहीसहित २ जनाको मृत्यु भएको छ । सु.प.प्र.०१००१ च ३३२९ नम्बरको जिप दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनाको सुजङ अस्पताल राजपुर हुँदै थप उपचारको लागि शैलेश्वरि अस्पताल दिपायल रिफर गरिएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ ।  बा ४ ख ४४५८ नम्बरको बसको ठक्करबाट पैदलयात्री ८१ वर्षीया बिमला देबी अर्यालको शुक्रबार साँझ मृत्यु भएको हो । सोही महानगरपालिका ३ बस्ने उनी गम्भीर घाइते भएलगत्तै केएमसी अस्पताल सिनामंगलमा पुर्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै वर्दिया, बाँसगढी नगरपालिका– ३ उत्तरभकारीमा म १ ख ८२८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ मदाहा बस्ने २३ वर्षीया ममता सुनारको मृत्यु भएको छ ।  शुक्रबार राति सुनारको घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता, चितवनमा पनि बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–४ लंकु पुलस्थित सडकमा बाप्र०३–००१ च १३६७ नम्बरको गाडीले बाप्र ०३–००४ प ४४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३४ वर्षीय प्रभाकर पौडेलको मृत्यु भएको हो ।

बाराका स्थायी बासिन्दा उनी हाल चितवन भरतपुर महानगरपालिका–४ बेलचोकमा बस्ने गर्दथे ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सो घटनाका गाडी र चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उता, पर्सामा पनि मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । शुक्रबार राति भएको सो दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका–६ घर भएका १४ वर्षीय दिपेशकुमार यादवको मृत्यु भएको हो । जिल्लाको धोबिनी गाउँपालिका–४ पुल चोकमा लंगडीबाट हरिहरपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००६ प ५६५८ नम्बरको मोटरसाइकल  दुर्घटना परेको प्रहरीको भनाई छ । 

त्यसैगरी बाराकै फेटा गाउँपालिकामा भएको अर्को मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।   सोही गाउँपालिका वडानम्बर –३ स्थित सडकमा बा २८ प ५२९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । मृतकको पहिचान खुलिनसकेको प्रहरीले जानकारी दिएको छ । 

त्यस्तै सुनसरीमा पनि मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित सडकमा को.२५ प ८८०९ नम्बरको मोटरसाइकलको ठक्करबाट भारत अररीया अचरा बस्ने सुबोध मुखियाकी ७ वर्षीया छोरी नैनाकुमारी मुखियाको मृत्यु भएको हो । शनिबार दिउँसो मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, बाँकेमा ट्रयाक्टरबाट लडेर चालकको मृत्यु भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१६ सुख्खा बन्दरगाहमा युपि ४०० जेड ७८६९ नम्बरको ट्याक्टरबाट लडेर चालक ४० वर्षीय जय प्रकाश बर्माको मृत्यु भएको हो ।  भारत बहराईज बाबागंज घर भएका उनको शनिबार दिउँसो ट्रयाक्टरबाट लडेर मृत्यु भएको हो । लडेर  गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप