आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रादेशिक हब अस्पताल : ‘नाम फेरियो, सेवा कहिले फेरिन्छ ?’

सोमबार, ०८ फागुन २०७९, १७ : ४३
सोमबार, ०८ फागुन २०७९

दाङ । प्यूठान मच्छीकी २७ वर्षीय कुुमार बुढा गत हप्ता गर्भ चेकजाँचका लागि प्यूठान जिल्ला अस्पतालमा पुगिन् । टिकटका लागि लाइनमा बसिन् । गर्भ चेकजाँचका लागि भिडियो एक्सरे गर्न भनि उनले काउण्टरमा भनिन् । काउण्टरका स्टाफले उनलाई भिडियो एक्सरे सेवा नभएको जवाफ दिए ।

उनी चेकजाँच नगरी घर फर्किन् । अर्काे दिन उनी चेकजाँचका लागि दाङ झरिन् । यो बाध्यता बुढाको मात्रै होइन, प्यूठानवासीकै समस्या बनिरहेको छ । उनले भनिन्, ‘जिल्ला अस्पतालमा सामान्य गर्भ चेकजाँचको सेवा नहुुदा दुुःख पाउनुु प¥यो ।’ जिल्ला अस्पतालमा सामान्य भिडियो एक्सरे सेवा नहुुँदा बुढाले जिल्ला छोड्नुुमात्रै परेन, आर्थिक व्ययभार समेत खेप्नुु प¥यो ।

अस्पताल भए पनि सेवा नपाउँदा समस्यामा परेको उनी सुनाउँछिन् । २०४५ सालमा १५ बेडबाट सेवा सुरु गरेको अस्पतालमा अहिले ५० बेडको सुविधा छ । बेड थपिए पनि सेवा र संरचना नथपिँदा सर्वसाधारणहरु सामान्य उपचारका लागि पनि जिल्ला छोड्नुु परेको उनको भनाइ छ ।

प्यूठान, बिजुुवाका कमल रउलेको गुुनासो पनि उस्तै छ । जिल्ला अस्पताल रिफर सेन्टरका रुपमा सञ्चालित हुँदा जिल्लावासीहरु सामान्य चेकजाँच बाहेक अन्य उपचारका लागि दाङ, बुटवल धाउनुुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने, ‘जिल्ला अस्पतालमा न डाक्टर छन्, न सेवा छ, न उपकरण नै छन् ।’ जिल्ला अस्पताल भए पनि अस्पतालको अवस्था दयनीय रहेको उनले बताए ।

नाममात्रै फेरियो, अवस्था उस्तै

२०४५ सालमा १५ बेडबाट सेवा सुरु गरेको प्यूठान जिल्ला अस्पताल २०७३ सालमा जिल्ला अस्पतालका रुपमा ५० बेडसहित स्तरोन्नति भएको थियो । २०७७ माघमा प्रदेश सरकारले १२ बेड थप गरी प्रादेशिक हब अस्पताल बनायो । तर अस्पतालको संरचना, जनशक्ति र उपकरण भने उही १५ बेडकै छ ।

अहिले प्यूठान जिल्ला अस्पताल प्रादेशिक हब अस्पतालका रुपमा चिनिन्छ । नाम फेरिए पनि सेवा, संरचना र उपकरण नफेरिँदा हब अस्पताल रिफर सेन्टरका रुपमा चिनिने गरेको प्यूठान मल्लरानीका कुमार दसौदीले बताए ।

उनले भने, ‘नाममात्रै फेर्छन्, सेवा कसैले फेर्दैैनन् ।’ जसका कारण प्यूठानवासी गुुणस्तरीय स्वास्थ्य सुविधा पाउनबाट बञ्चित हुनुु परेको उनले बताए । उक्त अस्पताललाई लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य उपचारको महत्वपूर्ण केन्द्रस्थल बनाउने लक्ष्यका साथ प्रादेशिक हब अस्पतालका रुपमा अघि सारेको छ ।

सो अस्पतालमा दैनिक औसत २ सय जना बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनको तथ्याङ्क छ । सामान्य चेकजाँच बाहेक अन्य उपचारका लागि अस्पतालले रिफर गर्दै आएको छ ।

जनशक्ति र उपचार अभावका कारण अस्पतालले बाध्यतावस रिफर गर्नुु परेको अस्पतालका निमित्त प्रमुुख वरिष्ठ नर्सिङ अधिकृत प्रतिमा भट्टराईले जानकारी दिइन् । उनका अनुुसार अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सको दरबन्दी छ । यद्यपि अहिले बालरोग, अर्थाेपेडिक, सर्जन, एनएसथेसिया र रेडियोलोजिष्ट विशेषज्ञ चिकित्सकविहीन रहेको उनले बताइन् ।

५४ जना स्थायी दरबन्दी रहेको उक्त अस्पतालमा २० जनामात्र छन् । विशेषज्ञ चिकित्सक, संरचना र उपकरण अभावमा सेवा फेर्न नसकेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप