शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले सरकारबाट बाहिरिने तयारीमा, शनिबारको बैठकले निर्णय गर्ने

शुक्रबार, १२ फागुन २०७९, २० : ५८
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । राष्ट्रपति पद आफूले नपाउने भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो कुरा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराएका हुन् ।

शुक्रबार दिउँसो दुई नेताबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री प्रचण्डले बैठकमा दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आफ्नो पाटीले पूर्व सहमति अनुसार राष्ट्रपति पद नपाए भोलि नै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । 

‘सम्भवतः भोलि नै एमाले सरकारबाट बाहिरिन्छ होला,’ लोसपाका नेता राजेन्द्र महतोले रातोपाटीसँग भने । 

यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार साँझ माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने ठुलो चिन्ता रहेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे शनिबारको बैठकले निर्णय गर्ने बताए ।

 ‘अब कसरी अघि बढ्ने के गर्ने ? सरकारमा रहने वा बस्ने भन्ने विषयमा शनिबारको बैठकले निर्णय गर्छ’ ज्ञवालीले रातोपाटीसँग भने । 

उनले बालुवाटारको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातिर धकेल्ने एमालेमा चिन्ता बढेको बताए । 

उनले भने, ‘केही नेताका कारण राजनीतिप्रतिको विश्वास टुट्दै जाने खतरा भयो ,राजनीति जुवाको खालजस्तो स्थिति बनाइदियो, यस निर्णयका पछाडि भूराजनीति पनि जोडिएको छ भन्ने एमालेको बुझाई छ ।’

सरकारमा रहेका अन्य दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भने प्रधानमन्त्रीले भोलि बिहान नै निर्णायक छलफल गर्ने भएको छ ।

 बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ । एमाले केन्द्रसहित प्रदेशका ६ वटा सरकारमा सहभागी छ । त्यसमध्ये ३ वटा प्रदेशमा सरकारकै नेतृत्व एमालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप