शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इरानले अझै पनि ट्रम्पलाई आक्रमण गर्न खोजिरहेको छ :  सैनिक अधिकारी

शनिबार, १३ फागुन २०७९, २२ : २०
शनिबार, १३ फागुन २०७९

तेहरान । इरानका एक सैनिक जनरलले आफ्ना शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन आफ्नो देशले अझै पनि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विदेशमन्त्री माइक पोम्पेओलाई मार्न खोजिरहेको बताएका छन् ।
तेहरानले सन् २०२० को जनवरीमा बग्दाद विमानस्थलमा अमेरिकी ड्रोन आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कोरका विदेशी अपरेसनका प्रमुख सुलेमानीको हत्याको बदला लिने प्रतिबद्धता पटक–पटक गर्दै आएको छ ।

“ट्रम्प, पोम्पेओ, (पूर्व अमेरिकी जनरल केनेथ) म्याकेन्जी र सुलेमानीलाई मार्न आदेश दिने सैन्य कमान्डरहरूलाई मार्न सक्नेमा हामी विश्वस्त छौँ,” गार्ड्सको एयरोस्पेस युनिटका कमान्डर जनरल अमिराली हाजीजादेहले शुक्रबार राति इरानी टेलिभिजनसँगको कुराकानीमा भने ।

इराकमा अमेरिकी हितमा भएका कैयौँ आक्रमणको जवाफमा उक्त आक्रमणको आदेश ट्रम्प प्रशासनले दिएको थियो ।  त्यसको केही दिनपछि इरानले इराकमा रहेको अमेरिकी एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो । कसैको पनि मृत्यु नभएको बताइए पनि वासिङ्टनले दर्जनौंको मस्तिष्कमा क्षति पुगेको बताएको छ ।

संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका साथै मध्यपूर्वमा इरानको ‘अस्थिर’ भूमिकाको बारेमा बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् । 

इरानले अब दुई हजार किलोमिटरको दूरीमा अमेरिकी जहाजलाई प्रहार गर्न सक्न पनि हाजिजादेहले बताए । “हामीले युरोपेलीहरूको सम्मानका लागि दुई हजार किलोमिटरको सीमा निर्धारण गरेका छौं र हामी आशा गर्दछौं कि युरोपेलीहरूले आफूलाई यस सम्मानको योग्य साबित गर्नेछन्,” इरानी जनरलले भने ।

शनिबार इरानको सरकारी टेलिभिजनले गार्ड्सले विकास गरेको १,६५० किलोमिटर (१,०२५ माइल) को दूरीमा नयाँ अनावरण गरिएको ‘पावेह क्रुज क्षेप्यास्त्र’ को भिडियो प्रसारण गरेको थियो । इरानले सिरियाको रक्षात्मक क्षमतालाई ‘मजबुत’ बनाउन सतहबाट हावामा प्रहार गर्ने मध्यम दूरीको खोर्दाद क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने सम्भावना रहेको इरानको सरकारी प्रसारकले शुक्रबार जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप