आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल शिक्षक सङ्घ लमजुङको अध्यक्षमा सूर्यबहादुर केसी विजयी

आइतबार, २१ फागुन २०७९, ११ : ५६
आइतबार, २१ फागुन २०७९

लमजुङ । शिक्षक सङ्घको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा विद्याज्योति माध्यमिक विद्यालय, सुन्दरबजार, खहरेका प्रधानाध्यापक सूर्यबहादुर केसी भारी मतान्तरले विजयी भएका छन् ।

अध्यक्ष पदका प्रत्याशी भैरवकाली माध्यमिक विद्यालय, मध्य नेपाल, रम्घाका प्रधानाध्यापक हरिश्चन्द्र लम्सालले २ सय ८३ मत प्राप्त गर्दा सूर्यबहादुर केसीले ४ सय ४९ मत प्राप्त गरी विजयी भएका हुन् ।

यसै गरी महिला उपाध्यक्ष पदमा सीता बरालले ३ सय ५९ मत प्राप्त विजयी भइन् भने अर्का प्रत्याशी तुलसी गुरुङले ३ सय ३३ मत प्राप्त गरिन् । यसै गरी उपाध्यक्ष पदमा शैलपुत्री माध्यमिक विद्यालय, राईनासका प्रधानाध्यापक दिनेश चिलुवालले ३ सय ७३ मत प्राप्त गरेर विजयी भए भने उपाध्यक्ष पदका प्रत्याशी रणबहादुर गुरुङले ३ सय ४३ मत प्राप्त गरेका थिए ।

यसै गरी सचिव पदमा आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक राजीव पण्डितले ४ सय ९५ मत प्राप्त गरी विजयी भए भने उनका प्रत्याशी राजु राउतले २ सय २८ मत प्राप्त गरे । यसै गरी अर्थ सचिवमा प्रदीपराज घिमिरेले ३ सय ८५ मत प्राप्त गरी विजयी भए भने अर्का प्रत्याशी दिनेश गुरुङले ३ सय १८ मत प्राप्त गरेका छन् । यस्तै सहसचिव पदमा भरत घिमिरेले ४ सय १ मत प्राप्त गरी विजयी भए भने प्रत्याशी बेल बहादुर थापाले २ सय ९४ मत मात्र प्राप्त गरे ।

आइतबार बिहान सम्पन्न मत परिणाम अनुसार सदस्यहरुमा गणेश अधिकारीले ४ सय ८५ मत, बद्री प्रसाद पौडेलले ३ सय ६२ मत, सन्तोष भट्टराईले ४ सय ४० मत, हरिचन्द्र बरालले ३ सय ९० मत प्राप्त गरी विजयी भएका छन् । सदस्य पदका प्रत्याशी देवेन्द्र न्यौपानेले ३ सय २४ मत, बद्रीनाथ खनालले २ सय ९२ मत र हरिराज रेग्मीले २ सय ६३ मत प्राप्त गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर केसी यस अघि उपाध्यक्ष पदमा रहेर कुशल नेतृत्व गरिसकेका व्यक्ति हुन् । नेपाल शिक्षक सङ्घको मर्म र भावनाअनुरूप शिक्षक र शिक्षा क्षेत्रको विकासको लागि काम गर्न आफू सधैँ तल्लीन रहेको निर्वाचित अध्यक्ष केसीले बताउँदै आएका थिए ।

स्पष्ट रूपमा दुई प्यानलमा विभाजन भई भएको निर्वाचनमा हरिश्चन्द्र लम्सालको प्यानलबाट चुनाव लडेका उपाध्यक्ष दिनेश चिलुवाल र सदस्य सन्तोष भट्टराईले मात्र चुनावी परिणाम हात पारेका छन् । यसै गरी प्रदेश प्रतिनिधिमा दीपक खनिया, अनिल अधिकारी, बुद्धराज सेढाई, रवीन्द्रनाथ घिमिरे र रमेश अधिकारी निर्वाचित भएका छन् । यसै गरी सङ्घीय प्रतिनिधिमा शिवराज अधिकारी, विष्णुहरि बास्तोला, सोमराज चिलुवाल र रमाकान्त अधिकारी विजयी भएका छन् ।

शिक्षक सङ्घको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, अर्थ सचिव, सहसचिव, महिला सहसचिव, महिला अर्थ सहसचिव १र१ जना उम्मेदवार हुनेछन् भने समावेशी तर्फबाट २ जना सहसचिव, ३ जना महिला सहित ७ जना सदस्य, २ महिला सहित ६ जना सङ्घीय प्रतिनिधि र २ महिला सहित ७ जना प्रदेश प्रतिनिधि हुने व्यवस्था छ । कार्यसमिति र सङ्घीय तथा प्रदेश प्रतिनिधिमा निर्वाचित भएका बाहेक अन्य पद निर्विरोध भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप