बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचन : महेन्द्र मोरङ क्याम्पसको सभापतिमा यादवको उम्मेदवारी घोषणा

बुधबार, २४ फागुन २०७९, १५ : १०
बुधबार, २४ फागुन २०७९

विराटनगर । अखिल (क्रान्तिकारी) महेन्द्र मोरङ क्याम्पस कमिटीद्वारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव (विकास) र सचिवमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो । 

बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताए । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी दिएका यादव महेन्द्र मोरङ क्याम्पसमा बीबिएस प्रथम वर्षमा अध्ययनरत हुन् । सचिवमा उम्मेदवारी दिएकी लम्साल बिए अन्तर्गतको राजनीतिक शास्त्र लिएर अध्ययनरत छिन् । उनी अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीको अध्यक्ष पनि हुन् । 

उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार लम्सालले विद्यार्थीहरूको हकहितमा लागि पर्ने बताइन् । महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि विद्यार्थीहरूलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्ने आफ्नो एजेण्डा रहेको उनले बताइन् ।

‘अहिले क्याम्पसको छात्र र छात्रावास बन्द भएको वर्षौ भइसकेको छ,’ उनले भनिन्, ‘टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूको लागि अवासको व्यवस्था गरिएको थियो । अहिले यो आवास बन्द छ । हामी तत्काल संचालनमा ल्याउन प्रयत्न गर्नेछौं ।’

उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा युवा नेता देवा यादवले अखिल क्रान्तिकारीले एकल रुपमा उम्मेदवारी दिएर चुनावमा लड्ने बताए । यसअघि २०६५ सालमा सम्पन्न स्ववियु निर्वाचनमा महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार जयराम सुन्दास विजयी भएका थिए । यस पटक उक्त विरासतलाई कायमै राख्ने यादवले दाबी गरे ।

महेन्द्र मोरङ क्याम्पस स्ववियुमा २१ सदस्यीय कार्यसमितिको लागि हुन लागेको निर्वाचनमा ५ हजार ९४२ जना मतदाता रहेका छन् । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

स्ववियु निर्वाचनमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा वि.सं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप