मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सरसफाइ अभियानको लागि निकालियो मानव साङ्लो

मङ्गलबार, ३० फागुन २०७९, १५ : १२
मङ्गलबार, ३० फागुन २०७९

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अनुसार छ लेनमा मानव साङ्लो निकालिएको हो । 

अभियानमा सबै नागरिकवासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताए ।

योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरूले एक—आपसमा हात जोडेर सरसफाइ अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए ।

सरसफाइ तिलोत्तमाको पहिचान र सभ्यता हो भन्ने कुरामा सबै नगरवासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ । सहभागीहरूले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभाबी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

मंगलबार नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाइ स्मारक उद्घाटन समेत गरिएको छ । अभियान १०० औं श्रृंखलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाइ स्मारक निर्माण गरिएको हो । स्मारकमा पुरुष र महिलाले सरसफाइ गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ । स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा उद्घाटन गरिन् ।

त्यसक्रममा नगर प्रमुख खाणले सरसफाईलाई तिलोत्तमाबासीको संस्कार र संस्कृतिसँग जोडेर दिगो बनाउने अभियानमा नगरपालिका रहेको बताए । तिलोत्तमाले बनाएको स्वच्छ र सफा नगरको पहिचानले यहाँ बसाइसराइको दर समेत तीव्र रुपमा बढेको नगर प्रमुख खाणले उल्लेख गरे । उनले बुधबार आयोजना गरिएको मुख्य कार्यक्रममा सहभागी हुन सबै नगरबासीलाई आह्वान समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप