शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् लिगलिगे साइकल दौड
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् लिगलिगे साइकल दौड

शनिबार, ०४ चैत २०७९

गोरखा । करिब १०० सहभागी रहेको लिगलिगे साइकल दौड यो वर्ष पनि गोरखाको पालुङटारमा आयोजना गरिएको छ । करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेसमा सहभागी हुन व्यावसायिक साइकल रेस खेलाडीका साथै साइकलप्रेमी सहभागी छन् । 

लिगलिगकोटबाट सुरु हुने यस साइकल प्रतियोगिता गोरखा र लम्जुङका विभिन्न क्षेत्रसम्म पुगेको थियो । सहभागीले पालुङटारकै आपँपिल, हर्मी भञ्ज्याङ, कोयापानी र रिपगाउँ हुँदै पाथिभरा, भण्डारथोकबाट चेपे खोला तरेर लम्जुङ्को गरमबेशीसम्म पुगेका थिए । त्यसपछि पालुङटार हवाइअड्डा हुँदै तालपोखरी, ठाँटीपोखरी, बाह्रपिर्के र बधडाँडा हुँदै फेरी लिगलिगकोट डाँडा पुगेका थिए । आयोजकका अनुसार लिगलिगकोटलाई साहसिक खेलको केन्द्रको रूपमा विकास गर्नको लागि २०७७ देखि हरेक वर्ष कार्यक्रम आयोजना गरिएको  हो ।

१६ औँ शताब्दीमा घले राजाहरूले शासन गर्ने गरेको लिगलिग राज्यको राजधानी लिगलिगकोट थियो । त्यस समयमा घले राजाहरूले हरेक वर्ष नयाँ शासक चुन्नको लागि दौड आयोजना गर्ने गर्दथे । द्रव्य शाहले पनि उक्त दौडमा भाग लिएको र जित पश्चात् नयाँ राजा चुन्नको लागि आयोजना गर्ने गरिएको उक्त दौड नै बन्द गराएर नेपालको एकीकरणको जग बसाउन सघाएको पनि विश्वास गरिन्छ ।

अहिलेसम्म यस क्षेत्रमा हरेक वर्ष दसैँको समयमा दौडको आयोजना गर्ने गरिन्छ । लिगलिगकोट दौड जस्तै साइकल रेस पनि आयोजना गरेर यहाँको भौगोलिक अवस्था र क्षेत्रको पर्यटकीय एवं साहसिक खेलको प्रवर्द्धन गर्नको लागि आयोजना गरिएको आयोजक टोलीका सदस्य सञ्जीव रानामगरले रातोपाटीलाई बताए ।

शनिवार भएको साइकल दौडमा भने ३ विधामा प्रतिस्पर्धा भएको थियो । मेन्स इलाइट, मेन्स मास्टर र स्थानीय गरेर सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए ।

मेन्स इलाइट तर्फका विजेताले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार पुरस्कार राशि र मेडल पाउने छन् । चौथो र पाँचौँ  स्थानमा दौड पुरा गर्ने सहभागीले भने १५ हजार र ७ हजार ५ सय पाउनेछन् ।

मेन्स मास्टर्स तर्फ प्रथम स्थानमा दौड पुरा गर्नेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउनेछन् । दौडमा पालुङ्टार, राइनस पालिका र सिराचोक गाउँपालिकाबाट दौडमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार पाउनेछन् । तेस्रो लिगलिगे साइकल दौडमा हिमाल टमटा पहिलो,

अचुत कृष्ण खरेल दोस्रो र कुमार तामाङतेस्रो भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया