शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रासायनिक मलको मूल्य वृद्धि फिर्ता गर्न एमालेको माग

आइतबार, ०५ चैत २०७९, १४ : ५७
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । नेकपा एमालेले रासायनिक मलमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेकपा एमाले कृषि तथा पशुपन्छी विभाग प्रमुख गिरीधारीलाल न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै ०७९ फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त निर्णय फिर्ता लिन माग गरेको हो । 

सरकारको उक्त निर्णयअनुसार युरियामा प्रतिकेजी ११, डिएपीमा ७ र पोटासमा ९ रुपैयाँले मूल्यवृद्धि भएको छ । जसको प्रत्यक्ष मार नेपालमा कडा परिश्रम गरिरहेका नेपाली किसान र आम उपभोक्तामा पर्न गएको छ । एकातिर भारतबाट ठुलो मात्रामा कृषि उपजको आयात हुने र अर्कोतिर रासायनिक मलको मूल्यवृद्धि गरी उत्पादन लागत झन् बढाई उत्पादन लागतमा थप वृद्धि हुन पुगेको एमालेको ठहर छ  । 

‘वर्तमान नेपाल सरकारको रासायनिक मलमा अनुदान कटौतीको निर्णयबाट सरकार स्वदेशी उत्पादनलाई निरुत्साहित गरी भारतीय कृषि उपजको व्यापार बढाउन उद्यत रहेको स्पष्ट हुन गएको छ’, एमालेले भनेको छ, ‘यसरी मूल्यवृद्धि गर्दा उत्पादन लागत बढ्ने र उत्पादित कृषि उपजहरूको अत्यधिक मूल्य वृद्धि हुने हुँदा स्वदेशी भन्दा विदेशी उत्पादन सस्तो पर्न गई कृषि उपजमाथिको परनिर्भरता बढाउनेतर्फ सरकार लागिपरेको प्रस्ट हुन्छ । सरकारले कृषकका उत्पादनको उचित मूल्यमा खरिद गर्ने व्यवस्था गरी आफ्नै उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ वर्तमान सरकारले बेवास्ता गरिरहेको छ ।’

एमालेले अनुदान कटौतीको निर्णयले नेपाली किसानको प्रतिस्पर्धी क्षमतालाई कमजोर पारी विदेशी उत्पादनलाई नेपाली बजार कब्जा गर्न सहज गराउने नियोजित उद्देश्य रहेको आरोप समेत लगाएको छ । ‘विना आधार मलको मूल्यवृद्धि गर्ने किसान मारा निर्णय सच्चाई मलको मूल्य यथावत् कायम गर्दै आवश्यक मात्रामा मलको सहज आपूर्तिको सुनिश्चितता गर्न र किसानहरूले उत्पादन गरेको कृषि उपजहरूको उचित मूल्यमा खरिद गर्ने कार्यक्रम लागु गर्न हाम्रो विभाग नेपाल सरकारसँग जोडदार माग गर्दछ’, एमालेले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप