शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
सिंहदरबार

सिंहदरबारको सुरक्षामा एसपी खटाउने तयारी

आइतबार, ०५ चैत २०७९, १५ : ४३
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । सिंहदरबार भित्र रहेको नेपाल प्रहरीको गणमा प्रहरी उपरीक्षक (एसपी) राख्ने तयारी भएको छ। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा डिएसपीको नेतृत्वमा अहिले एक सय ३५ जना सुरक्षाकर्मी कार्यरत छन्। 

खासगरी सिंहदरबार भित्रै संघीय संसद् र राष्ट्रिय सभाको कार्यालय रहने भएपछि सुरक्षा वन्दोवस्ती बढाउनुपर्ने देखिएपछि दरबन्दी बढाएर एसपीलाई नेतृत्व दिन लागिएको हो। 

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले एसपी दरबन्दी राख्ने तयारीका बारेमा छलफल भएको पुष्टि गरे। उनले भने,‘ एसपी राख्नुअघि ओएनएम गराउनुपर्छ। दुई वटै संसद् कार्यालय सिंहदरबार भित्रै रहने भएपछि हाल मौजुदा सुरक्षाकर्मीले मात्रै थेग्दैन। दरबन्दी बढाउनुपर्छ।’ 

सिंहदरबार भित्र गणमा राखिएका सुरक्षाकर्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सञ्चार मन्त्रालयमा समेत खटिँदै आएका छन्। त्यसैगरी सिंहदरबारको पूर्वी र दक्षिण गेटमा २४ सै घण्टा प्रहरी खटिँदै आएका छन्। 

अहिले गणमा गुल्मको जत्तिनै दरबन्दी छ। एसपीको दरबन्दी राखेपछि हाल मौजुदाभन्दा तीन गुणा सुरक्षाकर्मीले सिंहदरबारको सुरक्षामा खटिने मन्त्रालयका एक उच्च अधिकृतले बताए। ती अधिकृतले भने,‘ अहिले गणमा राखिएको सुरक्षाकर्मी मन्त्रालयपिच्छे खटाउँदै ठिक्क छ। तिनले अन्य काम गर्न भ्याउँदैनन्। सुरक्षा दरबन्दी बढाएपछि सिंहदरबार सुरक्षाथप मजबुत हुनेछ।’ 

त्यसो त गणमा यसअघि पनि एसपी राख्ने चर्चा थियो। यसपटक भने प्रधानमन्त्री कार्यालयबाटै एसपी खटाउने गरी व्यवस्थापन मिलाउन गृहलाई निर्देशन दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप