मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
समाचार

उपराष्ट्रपति पत्नीलाई मनपरेन ‘ग्रीन हाउस’, फर्किइन् आफ्नै गाउँ

पद सधैँको लागि होइन, फर्केर यहीँ आउनुपर्छः चम्पादेवी
बुधबार, ०८ चैत २०७९, २२ : ५२
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादवका श्रीमती चम्पादेवी यादव उपराष्ट्रपति निवास ‘ग्रीन हाउस’ छाडेर आफ्नै गाउँ फर्केकी छिन् । बाराको कलैयास्थित घरमा गाईवस्तु र खेतीबारी हेर्नुपर्ने भन्दै उनी काठमाडौँ छाडेर आजै कलैया पुगेकी हुन् । 

चम्पादेवी आफ्नो घर छाडेर चैत ६ गते भएको उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रममा समेत काठमाडौँ आउन चाहेकी थिइनन् । शपथग्रहणमा ‘श्रीमतीको उपस्थिति अनिवार्य’ छ भनेर उनलाई कलैयाबाट जबरजस्ती काठमाडौँ ल्याइएको थियो । त्यसयता उनले दुई दिन जसोतसो काठमाडौँमा बिताइन् । 

चम्पादेवीका छोरा शत्रुधन यादव भन्छन्, ‘मम्मी शपथग्रहणमा पनि आउन मान्नुभएको थिएन । जसोतसो ल्यायौँ तर शपथग्रहण सकेकै दिनदेखि उहाँले गाउँ फर्किन्छु भन्न थाल्नुभयो । घरमा कोही छैन, गाईवस्तुको कस्तो भइरहेको होला ? खेतीपाती कसले हेर्‍यो होला भन्दै  घर जान्छु भनेर जिद्दी गर्नुभएपछि आज गाउँ पठाई दिएका छौँ ।’ 

चम्पादेवीको जिद्दीको अगाडि कसैको केही चल्दैन । उपराष्ट्रपति रामसहाय यादव जति सरल छन्, चम्पादेवी त्यति नै कडा । चम्पादेवीका लागि उपराष्ट्रपति पद केही होइन, उनका लागि आफ्नै गाईभैँसी र खेतबारी नै प्यारो छ । चम्पादेवीले भनिन्, ‘उपराष्ट्रपति सधैँका हुने होइनन् नि, पाँच वर्षपछि फेरि यही ठाउँमा आउनुपर्छ । यही गाईवस्तु र खेतीपातीमा रमाउनुपर्छ भने किन त्यहाँ बस्नु ?’

‘कलैयास्थित गाउँमा दुई कोठाको पक्की घर बन्दैछ । त्यहाँ मिस्त्रीले काम गरिरहेका छन् । एउटा बाछी छ । बाख्रा पनि छन् । खेतीपाती पनि छ । यो सब कसले हेर्दिन्छ ?’ चम्पादेवीले प्रश्न गर्दै यो सब कुरालाई त्यतिकै छाडेर काठमाडौँ बस्न नसकेको बताइन् । 

श्रीमान्, छोराछोरी काठमाडौँमा नै बसिरहेका कारण कहिलेकाहीँ आउने जाने गर्ने उनले बताइन्, ‘तर सधैँका लागि त्यहाँ बस्दिनँ । मालिक (श्रीमान्) र छोराछोरी त्यहाँ छन्, त्यसैले काठमाडौँ जाँदै नजाने कुरै हुँदैन । तर काठमाडौँभन्दा प्यारो मलाई आफ्नो घर कलैया नै प्यारो लाग्छ ।’

उपराष्ट्रपति यादव वन तथा वातावरण मन्त्री भएको बेला पनि चम्पादेवीलाई काठमाडौँ ल्याउन निकै प्रयास भएको थियो । छोरा शत्रुधन यादवले भने, ‘बुवा मन्त्री भएको बेला पनि मम्मीलाई काठमाडौँ ल्याउन निकै प्रयास गरेँ । मन्त्री क्वाटर निकै ठुलो छ । रमाइलो छ जाऔँ, त्यहीँ बसौँला भन्दा पनि उहाँले मान्नुभएन । एक दिन पनि काठमाडौँ आउनु भएन । शपथग्रहणमा बल्ल–बल्ल ल्याएका थियौँ, अब फेरि फर्किनुहुन्छ कि हुँदैन थाहा छैन ।’ 

चम्पादेवी यसअघि काठमाडौँमा एक वर्ष बसेकी थिइन् । २०६४ मा उपराष्ट्रपति रामसहाय यादव संविधानसभा सदस्यमा चुनाव जितेपछि चम्पादेवी पनि काठमाडौँ आएर बसेकी थिइन् । तर आर्थिक अवस्था बिग्रिँदै गएपछि उनी गाउँ गएर गाईवस्तु पाल्न थालिन् । त्यसबाट घरको आर्थिक अवस्थामा सुधार हुन थाल्यो । 

संविधान सभा सदस्यबाट हटेपछि रामसहाय यादव चम्पादेवीमा नै निर्भर भए । चम्पादेवीले पालेको गाईभैँसी र बाख्राबाट हुने आम्दानीले घर चल्थ्यो । पछिल्लो चुनावमा पनि एक लाख पर्ने एउटा भैँसी ६० हजारमा बेचेर रामसहाय यादवलाई उनले दिएकी थिइन् । 

छोराछोरी पनि चम्पादेवीकै सहयोगमा पढेका हुन् । त्यही भएर अहिले पनि उनी त्यो ठाउँ छाड्न चाहेकी छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप