शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा एमालेले संसदबाट घोषणा गरेर सरकार छाड्ने

शुक्रबार, १० चैत २०७९, ०८ : २५
शुक्रबार, १० चैत २०७९

हेटौडा । बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । एमालेका ४ मन्त्रीहरूले प्रदेशसभा बैठकमा घोषणा गरेर पदबाट राजीनामा दिने तयारी गरिएको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।

एमालेले शुक्रबार बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता सहित मन्त्रीहरूले राजीनामा दिने उनले बताए । एमालेका सांसद र मन्त्रीहरूले शुक्रबारको बैठकमा उपस्थित भएर आफ्ना धारणा प्रस्तुत गर्दै सरकारबाट बाहिरिने उनको भनाई छ ।  

सरकार गठनका लागि गत पुस १० गते भएको एमाले र माओवादी केन्द्र बिच भएको राजनीतिक सहमति एकतर्फी रूपमा माओवादी केन्द्रले तोडेको उनको आरोप छ । एमालेले अहिलेसम्म सरकारमा रहेर गरेका कामहरू जनतालाई बुझाउनका लागि सरकारमा बसिरहेपनि उक्त अवसर नदिनका लागि मुख्यमन्त्री जम्कट्टेलले एकतर्फी ढङ्गबाट अघि बढ्दा समस्या भएको उनले बताए । उनले बुधबारको बैठक स्थगित भएको प्रति असन्तुष्टि व्यक्त गर्दै शुक्रबारको बैठकमा एमालेका सबै सांसदहरू भने उपस्थित नहुने बताए । एमालेका सीमित सांसद र मन्त्रीहरू मात्रै बैठकमा सहभागी हुने उनले बताए ।

‘वर्तमान राजनीतिक समीकरण र परिस्थितिमा एमाले सरकारमा बसिरहन मिल्दैन । शुक्रबारको प्रदेशसभा बैठकमा हामी उपस्थित भएर हाम्रा धारणा राख्दै सरकारबाट बाहिरिन्छौ । एमालेलाई अलग गरेर माओवादी केन्द्रले फरक समीकरण बनाएर अघि बढेको देख्दा देख्दै हामी सरकारमा बसिरहन मिल्दैन । हाम्रा मन्त्रीहरूले राजीनामा दिनुहुन्छ ।’ उनले भने, ‘पार्टीको ग्रासरुट कार्यक्रम पनि रहेकाले हामीले बैठक सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएका थियौ । तर, मुख्यमन्त्रीले एकतर्फी ढङ्गबाट अघि बढ्नु भयो । पहिलेदेखि नै उहाँले एकतर्फी रूपमा लैजानु भएको थियो । हाम्रा मन्त्रीहरू उपस्थित हुनुहुन्छ । सबै सांसदहरू उपस्थित नहुन पनि सक्नुहुन्छ ।’

मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक इमानदारिता नदेखाउँदा सत्ता समीकरणका दलहरू बिच पनि असमझदारी पैदा भएकोले बुधबारको बैठक बस्न नसकेको उनले बताए । प्रमुख सचेतक पौडेलका अनुसार एमालेले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने तयारी गरेका छ । मुख्यमन्त्रीले गठबन्धन दलहरू बिच छलफल नै नगरी एकतर्फी रूपमा अघि बढ्दा पटक पटक समस्या हुँदै आएकाले विश्वासको मतको विपक्षमा मतदान गर्ने एमालेको तयारी रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री जम्मरकट्टेलले आज शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । बैठक अपराह्न १ बजे बस्नेछ । गत बुधवार नै विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित भएपछि स्थगित गरिएको थियो ।

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले सङ्घीय सरकारमा गठबन्धन फेरिए पछि दोहो¥याएर विश्वासको मत लिने तयारी गरेका हुन् । तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले नियुक्त भएको ६७ दिनमा नै दोस्रो पटक विश्वासको मत लिने तयारी गरेका हुन् । तत्कालीन सत्ता गठबन्धन दलहरू माओवादी केन्द्र, एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पाटीका ७० जना सांसदको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले पहिलो पटक माघ ३ गते सांसदबाट विश्वासको मत लिएका थिए ।

राप्रपाले गत फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सोही कारणले चैत १२ गतेसम्ममा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । संवैधानिक व्यवस्था अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले सांसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप