सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी

शनिबार, ११ चैत २०७९, १४ : २६
शनिबार, ११ चैत २०७९

झापा । जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ दिनको म्याद दिएको जनाएको छ । 
पन्ध्र दिनभित्र हकदाबी गर्न कोही नआएमा कानुनबमोजिम लिलामी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा बेवारिसे अवस्थामा यस्ता मोटरसाइकल सयौँको सङ्ख्यामा वर्षौंदेखि राखिँदै आएको छ । अधिकांश मोटरसाइकल चालू अवस्थामा छैनन् भने कतिपयको पार्टपुर्जा हराएका वा बिग्रिसकेका छन् । ब्लूबुक नभेटिएका, भारतबाट चोरी भएर आएका, चेसिस नम्बर र नम्बर प्लेट नभएकालगायतका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिने गरेको छ । सुरक्षितरुपमा भण्डारण नगरिएका कारण कैयौँ मोटरसाइकल लगातार घामपानी परेर कबाडी बनिसकेका छन् । 

मन्त्रिपरिषद्ले जारी गरेको सरकारी सम्पत्ति तथा जिन्सी मालसमान लिलाम बिक्रीसम्बन्धी कार्यविधि २०७९ परिच्छेद ३ को दफा २० अनुसार प्रहरीले स्वामित्व नखुलेका पुराना सवारीसाधन लिलाम बिक्री गर्न लागेको सूचना अधिकारी रिजालले बताए । लिलामी प्रक्रिया सुरु गरिएका अधिकांश मोटरसाइकल नेपाली नम्बरकै छन् । केही साधन भारतीय नम्बरका र केहीको नम्बर प्लेट नै पत्ता नलागेको अवस्था रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप