शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

धमाधम अल्पमतमा पर्दै प्रदेश सरकार, गण्डकीपछि लुम्बिनीमा एमाले सरकार संकटमा

आइतबार, १२ चैत २०७९, १३ : ५६
आइतबार, १२ चैत २०७९

काठमाडौँ । केन्द्रीय राजनीतिमा समीकरण फेरिएसँगै एमाले–माओवादी गठबन्धनमा बनेका प्रदेश सरकार पनि परिवर्तनको संघारमा पुगेका छन् । खासगरी एमाले नेतृत्वमा बनेका प्रदेश सरकार यस बेला धमाधम अल्पमतमा पर्न थालेका छन् । नेकपा माओवादी केन्द्रले शुक्रवार मात्र गण्डकी प्रदेश सरकार छोडेकोमा आइतबार लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

लुम्बिनी प्रदेशमा एमाले नेता लीला गिरीको नेतृत्वमा सरकार बनेको थियो । एमाले नेता गिरी नेतृत्वको सरकारमा माओवादी केन्द्रका तीन मन्त्री थिए । तीनै जनाले आइतबार राजीनामा दिएसँगै त्यहाँको सरकार पनि अल्पमतमा परेको छ । लुम्बिनीमा माओवादी केन्द्रबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी सहभागी थिए । लुम्बिनीमा मुख्यमन्त्री गिरीले विश्वासको मत नपाए पुन: ठुलो दलको हैसियतले एमाले नेतृत्वमै अल्पमतको सरकार बन्ने सम्भावना छ ।

यसअघि शुक्रवार गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीले राजीनामा दिएका थिए । गण्डकीमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री र तथा सांसद रेसमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रहेका थिए । दुवैले राजीनामा  दिएपछि एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो । लुम्बिनी र कोशी दुवै प्रदेशका मुख्यमन्त्रीले सरकार टिकाउन अव ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यदि त्यसवेला बहुमत सिद्ध गर्न नसके सरकार ढल्ने र नयाँ सरकार बन्ने प्रक्रियामा जानुपर्ने हुन्छ ।

उता कोशी प्रदेशमा भने माओवादीले तत्काल सरकार नछोड्ने बताउँदै आएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रवार पत्रकार सम्मेलन गरी कोशी प्रदेशमा तत्काल सत्ताको समीकरण फेरिने अवस्था नरहेको भन्दै सरकार नछोड्ने निर्णय सार्वजनिक गरेका हुन् ।

पुस १० मा एमाले माओवादी शीर्ष नेताबीच भएको सहमतिअनुसार एमालेले लुम्बिनी,गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेको थियो भने कर्णाली र बागमतीमा माओवादी केन्द्रले मुख्यमन्त्री पाएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा कांग्रेसबाट समेत विश्वासको मत पाउने अवस्था भएपछि सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारले विश्वासको मत नै नपाउँदा कांग्रेस नेतृत्वमा सरकार बनेको थियो ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप