बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी

शुक्रबार, १७ चैत २०७९, २० : ४६
शुक्रबार, १७ चैत २०७९

धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रि म्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफूले जित्ने दाबी गरेका हुन् । 

शनिबार धनगढी रंगशालामा उपाधिका लागि उत्रन लागेका थ्री स्टारका कप्तान विक्रम लामाले सेमिफाईनलमा रातो कार्ड खाएका मिडफिल्डर दिपेश गुरुङको अनुपस्थितीले क्लबको प्रदर्शनमा कुनै असर नपार्ने बताए । उनले आफूहरूसँग सन्तुलित टिम रहेको उल्लेख गर्दै उपाधिमा आफ्नो स्वभाविक दाबी रहने उल्लेख गरे । फाइनल खेलमा आफ्नो भूमिकाबारे बोल्दै उनले भने, ‘भोलि रणनीति अनुसार मेरो भूमिका रहनेछ । प्रशिक्षक मेघराज केसीले जुन भूमिकामा खेलाउँछन् । म तयार रहेको छु ।’ 

उनले खेलाडीको रिकभरी समय कम भएकाले फिटनेसमा असर पारेको बताए । तर फाइनल खेलका लागि टिम मानसिक रुपमा तयार रहेको उनको भनाई छ ।

 ‘एन्फाले खेल तालिकालाई व्यवस्थित बनाएको भए मोफसलमा फुटबल कार्यक्रम गरिरहेका आयोजकले गरेको मेहनतले फुटबलमा राम्रो योगदान गर्ने थियो,’ उनले भने, ‘तेस्रो पटक खप्तड गोल्डकपको फाइनल खेल्दै गर्दा पहिलो पटक उपाधि जित्न चाहन्छौं । मोफसलको गोल्डकपले टिमलाई सेट हुन अवसर दिएको छ ।’

मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफूहरू तयार रहेको बताए । टिमको अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडु भोलि खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन् । उनको प्रदर्शनले टिमलाई धेरै सहज भएको छ ।’ 

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा चैत ९ गते सुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । 

प्रतियोगितामा ‘ए’ डिभिजन ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागी थिए । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको यस प्रतियोगिताको समापन प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले गर्ने कार्यक्रम रहेको आयोजक टिमका अध्यक्ष सुरेश हमालले बताएका छन् ।-न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप