आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
चलचित्र

रफ्तारमा फिल्म निर्माण : आधा दर्जन फ्लोरमा, दर्जनौँ तयारीमा

शनिबार, १८ चैत २०७९, १८ : ५१
शनिबार, १८ चैत २०७९

काठमाडौँ । फिल्मको व्यवसाय प्रतिदिन गिर्दो छ । कोरोनाको कहरको केही वर्ष छोडेर भन्ने हो, भने वर्षमा करिब ८०देखि ९० हाराहारीका फिल्म रिलिज हुन्छन् । व्यावसायिक लाभ उठाउने भनेको ५ देखि १० वटाले मात्र हो । फिल्मको व्यवसाय नभए पनि निर्माण, प्रदर्शन, फेस्टिभल, अवार्ड लगायतका गतिविधि भने धेरै हुँदै आएका छन् ।

स्टार हुन् कि नयाँ कलाकार । अहिले कसैको पनि चलेको देखिन्न । तैपनि निर्माणको गति रफ्तारमै छ । पोष्ट प्रोडक्सनमा रहेका दर्जनौँ फिल्म छोडौँ, अहिले पनि छायाङ्कनमा लागि फ्लोरमा थुप्रै फिल्म छन्, भने त्यो भन्दा बढी छायाङ्कनमा निस्कने तयारीमा छ ।

फ्लोरमा कति ?

यति बेला ‘नाङ्गो गाउँ’देखि ‘पशुपति प्रसाद २ः भष्मे डन’सम्म करिब आधा दर्जन बढी फिल्म फ्लोरमा छन् । ती मध्य केही भर्खर छायाङ्कन सुरु भएका छन्, भने केही छायाङ्कनको अन्तिम चरणमा छ ।

दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ अहिले फ्लोरमा छ । फिल्म गत १० गतेदेखि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा छायाङ्कन भइरहेको छ । दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा शाक्य, शिशिर वाङ्देल, मिरुना मगर, बुद्धि तामाङ लगायतको अभिनय फिल्ममा रहनेछ । मनिष्मा फिल्मस्को ब्यानरमा हिमाल शर्मा प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता जय श्रेष्ठ हुन् । लामाको निर्देशन रहेको केही अगाडि प्रदर्शित फिल्म ‘२ नम्बरी’ यो वर्षको व्यावसायिक सफल फिल्ममा पर्छ ।

त्यस्तै, फिल्म ‘जय हो’ को छायाङ्कन केही दिन अगाडिबाट पोखरामा सुरु भएको छ । सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी लगायत मुख्य भूमिकामा देखिने फिल्म पोखरा र मुस्ताङमा खिचिनेछ । शोभित बस्नेतको प्रस्तुति रहेको फिल्म अर्को वर्षको भदौ ५ गते रिलिज हुनेछ ।

झरना थापाको निर्देशन रहने ‘भगवत् गीता’को अहिले छायाङ्कन जारी छ । केही अगाडि जनकपुरको सेड्यूल सकेको टिम अहिले पोखरा छायाङ्कनमा छ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर मुख्य भूमिकामा छन् ।

‘अ‍ैचो पैँचो’ पनि अहिले फ्लोरमा छ । केही अगाडि झापाको छायाङ्कन सकेर फर्किएको फिल्मको काठमाडौँमा इन्डोर छायाङ्कन भइरहेको छ । फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, सुशील सिटौला लगायत छन् ।

यस्तै राजु शाह (राजेन्द्र) को निर्देशनमा फिल्म ‘जाँड’ को छायाङ्कन भइरहेको छ । फिल्मको नगरकोटका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा बाल कलाकार सानबी खतिवडा, पदम गुरुङ र कमला दाहाल, अलावा फिल्ममा मञ्जु श्रेष्ठ, सुवास गजुरेल, लक्ष्मी तिमिल्सेना लगायतको अभिनय रहनेछ । जाँडले समाज र घरमा कस्तो असर पर्छ भन्ने फिल्मले देखाउने निर्देशक राजु शाहले बताए ।

हिट फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल ‘पशुपति प्रसाद २ः भष्मे डन’ पनि पशुपतिनाथ परिसरमा छायाङ्कन जारी छ । दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायत मुख्य भूमिकामा छन् ।

वैशाखको १ गते रिलिज मिति तोकिएको फिल्म ‘नाइँ नभन्नु ल ६’ को छायाङ्कन भने बिहीबार साँझबाट सकिएको छ । फिल्मको केही अपुग दृश्य अहिले छायाङ्कन भएको हो । विकासराज आचार्य निर्देशित फिल्ममा आँचल शर्मा, आशिर्वाद क्षेत्री, प्रियङ्का कार्की, केकी अधिकारी मुख्य भूमिकामा छन् ।

जो निस्कँदै छायाङ्कनमा

फ्लोरमा आधा दर्जन फिल्म भए पनि त्यो भन्दा बढी फ्लोरमा निस्कने तरखरमा छन् । जसमा ‘कामिनो’, ‘दौतरी’, ‘सतिदेवी’, ‘मीराः स्याडो अफ अ रेन्बो, ‘जेरी २’, ‘डिग्री माइला’, ‘द अनब्रेकेबल : अगस्त्य’ लगायत हुन् ।

‘कामिनो’ दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म हो । प्रदीप खड्का, वर्षा सिवाकोटी, नीति शाह, राजबल्लभ कोइराला, सौगात मल्ल, भोलाराज सापकोटा, रवीन्द्र झा लगायतको अभिनय रहने फिल्म एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्मातामा छन् । फिल्म वैशाख दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा साथ अहिले वर्कसपमा छ ।

‘सतिदेवी’ लक्ष्मण सुवेदीको निर्देशनमा बन्ने फिल्म हो । ग्रामीण युवतीको संघर्षको कथा भन्ने फिल्ममा अभिनेत्री मलिका महतको मुख्य भूमिकामा छिन् । निर्देशक सुवेदीकै निर्माण तथा लेखन रहेको फिल्ममा मलिकासँगै भोलाराज सापकोटा, कुलदीप अधिकारी लगायतको अभिनय रहनेछ । दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन बैशाखको पहिलोसाता बताइएको छ ।

‘मीरा : स्याडो अफ अ रेन्बो’ पनि छायाङ्कनको लागि फ्लोरमा निस्कदैछ । केही दिन अगाडि शुभ–मुर्हुत गरिएको फिल्म एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने आमाको सङ्घर्षपूर्ण कथामा बन्न लागेको हो । अनिता पण्डितले निर्देशन गर्ने फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भूमिका रहनेछ । आश्वि फिल्मस्ले निर्माण गर्न लागेको फिल्मका निर्माता शङ्कर कार्की हुन् । फिल्मको छायाङ्कन छिट्टै सुरु हुने बताइन्छ ।

मधुसूदन भट्टराईको निर्देशन रहने फिल्म ‘दौतरी’ पनि छायाङ्कनमा सकिँदैछ । आर्यन सिग्देल, मुकुन भुसालको मुख्य भूमिका रहने फिल्म वैशाखबाट छायाङ्कनमा निस्किदैछ । लक्ष्मण सुवेदीको लेखन, जय माँ दुर्गा फिल्मुस्को ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक र प्रेमकथामा बन्न लागेको हो । 

निर्देशक दिनेश राउत पनि अभिनेता आर्यन सिग्देल लिएर छिट्टै फिल्म निर्माणको तयारीमा छन् । ‘क्लासिक’ मा सहकार्य गरेका आर्यन र दिनेशको फेरि सहकार्य हुन लागेको हो ।

यस्तै अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहने फिल्म ‘जेरी २’ पनि वैशाखबाट फ्लोरमा रहनेछ । हेमराज बिसीको निर्देशन रहने फिल्म ‘जेरी’ को सिक्वेल हो । अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माण हुने फिल्ममा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको लगानी रहनेछ । फिल्म अस्ट्रेलिया, अमेरिका र सगरमाथा आसपासमा खिचिने बताइन्छ ।

अभिनेत्री रेखा थापा र पूजा शर्माको अभिनय रहने एक फिल्म निर्माण हुँदैछ । ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्म छिट्टै घोषणा हुनेछ । 

ज्ञानेन्द्र देउजाको निर्देशनमा अर्को फिल्म ‘जेल ब्रेकर’ निर्माण हुँदैछ । निर्देशक ज्ञानेन्द्र देउजा र छविराज ओझाले मिलेर बनाउन लागेको फिल्म पनि छायाङ्कन तयारीमा छ ।  कपनगडी फिल्मस् र गुडन्यूज इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

नाटक ‘डिग्री माइला’मा आधारित रहेर निर्देशक रामबाबु गुरुङले फिल्म ‘डिग्री माइला’ केही अगाडि घोषणा गरेका थिए । दयाहाङ राई, पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायत कलाकारको अभिनय रहने फिल्म छिट्टै फ्लोरमा निस्कने तयारीमा छ । कमेडी ड्रामा जनरामा बन्ने फिल्मले शैक्षिक बेरोजगारको कथा भन्छ ।

‘द अनब्रेकेबल : अगस्त्य’ पनि अहिले छायाङ्कनमा निस्कने तरखरमा रहेको फिल्म हो । सौगात मल्ल, नाजिर हुसेन मलिका महतको अभिनय रहने फिल्म दुई च्याप्टरमा बन्नेछ ।  फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको काठमाडौँ, नवलपरासी र भारतको गोरखपुर, बनारसमा छायाङ्कन हुनेछ । 

अभिनयमा स्टार नै व्यस्त ?

नेपाली फिल्मका धेरै निर्माता÷निर्देशक कथावस्तु भन्दा पनि स्टार कलाकारको पछि लाग्छन् । स्टार कलाकार भए फिल्म प्रचारदेखि प्रदर्शनसम्म राम्रो हुने उनीहरूको मान्यता रहन्छ ।

फ्लोमा रहेकादेखि छायाङ्कनमा निस्कने तयारीमा रहेका फिल्ममा बढी स्टार कलाकार नै देख्न सकिन्छ । छायाङ्कनमा रहेका फिल्म ‘नाङ्गो गाउँ’, ‘पशुपति प्रसाद २ः भष्मे डन’, ‘भगवत् गीता’, ‘जय हो’, ‘अ‍ैचो पैँचो’ लगायत हुन् । जसमा दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म शाक्य, शिशिर वाङ्देल, मिरुना मगर, बुद्धि तामाङ, सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, केकी अधिकार, विपिन कार्की, सुहाना थापा, धिरज मगर, स्वस्तिमा खड्का, वर्षा राउत, सुशील सिटौला, आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियङ्का कार्की लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

त्यस्तै फ्लोरमा जाने तयारीमा ‘कामिनो’, ‘दौतरी’, ‘सतिदेवी’, ‘मीराः स्याडो अफ अ रेन्बो, ‘जेरी २’, ‘डिग्री माइला’, ‘द अनब्रेकेबल : अगस्त्य’ लगायत छन् । यी फिल्ममा प्रदीप खड्का, वर्षा सिवाकोटी, नीति शाह, राजबल्लभ कोइराला, सौगात मल्ल, मलिका महत, आर्यन सिग्देल, मुकुन भुसाल, अनमोल केसी, आना शर्मा, रेखा थापा र पूजा शर्मा, नाजिर हुसेन लगायतको अभिनय रहनेछ ।

फिल्मको व्यवसाय राम्रो हुने आसले स्टार कलाकार लिएर फिल्म बन्ने गरेको निर्माता तथा वितरक रोहित कट्टेले बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप