सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रामपुर कृषि क्याम्पसमा पुनः स्ववियु निर्वाचन गराउन नेविसंघले दियो २४ घण्टे अल्टिमेटम

सोमबार, २० चैत २०७९, २० : ४७
सोमबार, २० चैत २०७९

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रामपुर कृषि क्याम्पसमा पुनः स्ववियु निर्वाचन गराउन २४ घण्टे अल्टिमेटम दिएको छ । 

त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै कृषि क्याम्पसमा पुनः स्ववियु निर्वाचन गराउन अल्टिमेटम दिएको हो । 

चितवनको रामपुर कृषि क्याम्पसमा १७ चैतमा स्ववियु निर्वाचन भएको थियो । जसमा अनेरास्ववियुका दिवस पौडेल निर्वाचित भएका थिए । उनले कुल खसेको १२० मतमध्ये ११९ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा नेविसंघले बहिस्कार गर्दै मतदानमा भाग लिएको थिएन ।

कृषि क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी मिलेर चुनाव लडेका थिए । नेविसंघले गरेको तालाबन्दीका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन । 

१७ चैतमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा एकलौटी फर्जी मतदान गरी निर्वाचन गराएको भन्दै नेविसंघले पुनः मतदानको माग गरेको हो ।

स्ववियु निर्वाचनमा क्याम्पसका विद्यार्थीहरूलाई मतदानमा सहभागी नगराई पार्टीका कार्यकर्ताहरूद्वारा मतदान गराई उम्मेदवार विद्यार्थीहरूमाथि कुटपिट गरेको नेविसंघको आरोप छ । निर्वाचन प्रक्रिया मै सहभागी हुन नदिई निर्वाचन सम्पन्न भएको नाटकीय नतिजा प्रकाशन गरिएको भन्दै नेविसंघले त्यसको विरोध गर्दै आएको छ । नेविसंघ केन्द्रीय समितिले रामपुर कृषि क्याम्पसमा घटेको असह्य घटनाको भत्सर्ना समेत गरेको छ । 

रामपुर कृषि क्याम्पसको घटनाको छानबिन गरी पुन निर्वाचन सम्पन्न नगराए सम्म नेवि संघ अन्य कुनै पनि क्याम्पसमा निर्वाचन गराउन असमर्थ रहने जनाएको छ । यस घटनालाई बेवास्ता गरे नेविसंघले गर्ने आन्दोलनबाट उत्पन्न क्षतिबारे क्याम्पस र त्रिभुवन विश्वविद्यालय नै जिम्मेवार रहनुपर्ने नेविसंघले चेतावनी दिएको छ । 

यसअघि नेपाली कांग्रेसले समेत स्ववियु चुनाव रद्द गर्न माग गरेको थियो । क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकले नेविसंघलगायत अन्य विद्यार्थी संगठनसँग समन्वय नगरी निर्वाचन गराएको भन्दै कांग्रेसले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । 

स्ववियु चुनावका लागि २४१ जना मतदाता भए पनि १२० जनाले मतदान गरेका थिए। क्याम्पस प्रशासनले नेविसंघका कारण यो अवस्था सिर्जना भएको बताएको छ ।

ns

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप