शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासंघको चुनाव

महासंघको ‘वेटिङ प्रेसिडेन्ट’ मा त्रिपक्षीय भिडन्त, उपाध्यक्षमा ८ जनाको उम्मेदवारी

मङ्गलबार, २१ चैत २०७९, १४ : ४८
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ ।  महासंघको यही चैत २८ र २९ गते काठमाडौंमा साधारण सभा तथा निर्वाचन हुँदैछ ।  उक्त निर्वाचनपछि महासंघको २०औँ अध्यक्षकारुपमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आउनेछन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । 

सोहीअनुसार वरिष्ठ उपाध्यक्ष पदमा ३ जना व्यवसायी उम्मेदवार बनेका छन् । उनीहरुले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गरेसँगै महासंघको चुनाव रोचक बन्ने देखिएको छ । सुरुमा वरिष्ठ उपाध्यक्षमा ४ जनाले आकांक्षा देखाएका थिए । तर, अन्तिम समयमा आएर जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले उमेशलाल श्रेष्ठलाई साथ दिने निर्णय गरेसँगै ३ जनाबीच भिडन्त पक्का भएको हो । जसअनुसार उमेशलाल श्रेष्ठ, अन्जान श्रेष्ठ र रामचन्द्र संघई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

उमेशलाल श्रेष्ठ क्वेस्ट फर्मासिटिकल्सका प्रबन्ध निर्देशक हुन् भने अन्जान श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । यस्तै, रामचन्द्र संघई त्रिवेणी समूहका निर्देशक हुन् ।

ज्योत्सनाको सरप्राइजपछि भरत साझा उम्मेदवार

अध्यक्षको नेतृत्वमा चल्ने महासंघको सिंगो प्रणालीलाई सहयोग गर्न वरिष्ठ उपाध्यक्ष खडा गरिएको छ । महासंघको वरिष्ठ उपाध्यक्षलाई ‘वेटिङ प्रेसिडेन्ट’ समेत भनिन्छ । यस्तै, महासंघको संरचनामा ३ जना उपाध्यक्ष बनाइएको छ । आफ्ना सदस्यहरुको संरचनाअनुसार उपाध्यक्षमा ३ जनाको व्यवस्था गरिएको छ । जसमा कर्पोरेट कम्पनीहरुको उपाध्यक्षकारुपमा एसोसिएट उपाध्यक्ष तय गरिएको हुन्छ । यसैगरी, जिल्लानगर र वस्तुगत समेत गरी ३ जना उपाध्यक्षको व्यवस्था हुन्छ ।

वरिष्ठ उपाध्यक्षमा ३ समूहबीच भिडन्त पक्का भएसँगै उपाध्यक्षमा समेत सोहीअनुसार भिडन्त हुँदा ३ उपाध्यक्षका लागि ९ जनाबीच भिडन्त हुनुपर्ने हो । तर, यसपटकको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा ३ समूह बन्दा उपाध्यक्ष पदमा भने ८ जनाबीच मात्रै भिडन्त हुने भएको छ ।

सुरुमा उमेशलाल श्रेष्ठ समूहबाट उम्मेदवारी दिने घोषणा गरेका भरत आचार्य अन्तिम समयमा अन्जान–उमेश समूहको साझा उम्मेदवारकारुपमा अघि बढेपछि ८ जनाबीच मात्रै भिडन्त हुने भएको हो । 

यसको अर्थ एसोसिएट उपाध्यक्षका उम्मेदवार आचार्यलाई अन्जान र उमेश समूहले नै सघाउने छ । खासगरी, अन्जान समूहबाट चुनाव लड्ने घोषणा गरेकी ज्योत्सना श्रेष्ठले अन्तिम समयमा कित्ता फेर्दै रामचन्द्र प्यानलमा पसेपछि यो अवस्थामा सृजना भएको छ ।

खासगरी, ज्योत्सनाको आकस्मिक मुभपछि समस्यामा परेको अन्जान समूहबाट प्रबलजंग पाण्डे एसोसिएट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर, पाण्डे र आचार्य व्यवसायीक साझेदार तथा मिल्ने साथी हुन् । आचार्यलाई सुरुदेखि पाण्डेले अन्जान समूहमा ल्याउन खोजेपनि आचार्यले उमेश समूह नै रोजेका थिए । साथी–साथिबीच नै भिडन्त हुने भएपछि आज रातभरको कसरतपछि आचार्य साझा उम्मेदवारकारुपमा स्थापित बनेका हुन् ।

एसोसिएट उपाध्यक्षमा २ जनाबीच भिडन्त पक्का भएपनि अन्य २ उपाध्यक्ष पदमा भने ३ समूहबाटै उम्मेदवार तय भएका छन् । उमेशलाल समूहबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल छन् । यस्तै, अन्जान समूहबाट जिल्लानगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मणिषलाल प्रधान छन् भने रामचन्द्र समूहबाट जिल्लानगर उपाध्यक्षमा शुरकृष्ण वैद्य र वस्तुगततर्फ सकुन्तला हिराचन छन् ।

यद्यपी, उम्मेदवारहरुले नामावली फिर्ता लिने समय अझै बाँकी रहेकाले यसबीचमा सर्वसम्मतको प्रयास समेत अघि बढ्नेछ ।

कुन पदमा कति निर्वाचित हुनेछन् ?

यही चैत १९ गते हुने निर्वाचनले ६४ सदस्यीय जम्बो टोली निर्वाचित गर्नेछ । निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्षसहित जम्बो टोली निर्वाचित गर्नेछ । निर्वाचनबाट एसोसिएटतर्फ १९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यस्तै, जिल्ला/नगरतर्फ १८ जना र वस्तुगतमा १४ जना केन्द्रीय सदस्य समेत निर्वाचनबाट निर्वाचित हुनेछन् ।

यसका साथै, द्वीराष्ट्रिय सदस्य १ जना हुनेछन् भने ७ वटा प्रदेशत अध्यक्ष स्वतः सदस्य बन्नेछन् । प्रदेशतर्फका अध्यक्ष निर्वाचित भइसकेपनि पदबहाल भने निर्वाचनपछि नै गर्नेछन् । यसबाहेक, महासंघका अध्यक्षले ५ जना मनोनित गर्ने छन् भने एक जना निवर्तमान अध्यक्ष समेत कार्यसमित सदस्य बन्नेछन् । यसअनुसार चैत २९ गतेको निर्वाचनले ६४ जनालाई निर्वाचित गर्नेछ भने ७ प्रदेशका र अध्यक्षले मनोनित गर्ने र निर्वतमान अध्यक्ष समेत गरी कूल ७७ जनाको जम्बो कार्यसमितिले आगामी ३ वर्ष महासंघको नेतृत्व हाँक्नेछ ।

निर्वाचनमा २ हजार मतादाता छन् । एसोसिएटतर्फ १७४८ मतदाता छन् भने जिल्लानगरतर्फ ११७ जना मतदाता छन् । यस्तै, वस्तुगततर्फ १२३ जना मतदाता छन् भने द्वीराष्ट्रिय मतदाताको संख्या १२ छ । निर्वाचनमा उठेका उम्मेदवारले जित हासिल गर्नका लागि खसेकोमध्ये कम्तीमा ५१ प्रतिशत मत ल्याउनुपर्छ । यसमध्ये वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारलाई सबै समूहका मतदाताले मत दिन पाउनेछन् ।

महासंघको विधानले जिल्लानगर, वस्तुगत र एसोसिएट गरी ३ समूहमा विभाजन गरेको छ । यो तीन वटै समूहले वरिष्ठ उपाध्यक्षलाई मत दिन पाउनेछन् । यसअनुसार, जिल्लानगरतर्फको मतभार ५० प्रतिशत, वस्तुगतको ३० एसोसिएटतर्फको मतभार २० प्रतिशत कायम गरिएको छ । वरिष्ठ उपाध्यक्ष बाहेकका उम्मेदवारको हकमा भने आ–आफ्नै समूहले मात्रै मतदान गर्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप