बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेतको पञ्चपुरी नगरपालिकाका पूर्व मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मङ्गलबार, २१ चैत २०७९, १५ : १५
मङ्गलबार, २१ चैत २०७९

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकाका पूर्व मेयर उपेन्द्रबहादुर थापासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । 

अख्तियारले थापाविरुद्ध ५० लाख बिगो कायम गरी मुद्दा दायर गरेको छ । थापाले नमुना समाज सुर्खेतसँग सम्झौताबमोजिमको कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाको कुनै बैठकबाट निर्णय नगराएको, नमुना समाजको कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्ताव समेत माग नगरेको, संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन/नियमावली लगायतका प्रचलित कानुनसमेतलाई बेवास्ता गरेको अख्तियारको ठहर छ ।

यस्तै सम्झौता गर्नु पूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र विश्वसनीयता रहे÷नरहेको आधार बिना हचुवाको भरमा नै नमुना समाजले सम्झौताबमोजिम रकम खर्च गरी फिल्डमा काम सम्पादन गरेको थियो/थिएन सो समेतको अनुगमन, मूल्याङ्कन र कार्य सम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन निर्देशन दिएको देखिएको छ । अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ नमुना समाजले सम्झौता विपरीत कार्य गरेको देखिँदादेखिँदै पनि दोस्रो किस्ताको रकमको भुक्तानी रोकी कानुनबमोजिम गर्नुपर्नेमा सो नगरी उल्टै कार्य सम्पन्न भएको भनी रकम भुक्तानीको लागि निर्देशन दिने निर्णय गरी भुक्तानी दिएका थिए ।’ 

यो विषयमा पूर्व मेयर थापाको मुख्य भूमिका बदनियत पूर्वक नगरपालिकाको सरकारी रकम हानि नोक्सानी गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो ५० लाख रकम कायम गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ,‘ तोकिएको कैद सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको रकम निजबाट असुल उपर गर्ने माग दाबी लिइएको छ ।’

यस्तै सोही नगरपालिकाका  तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीविरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यसैगरी लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख र नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जीएम र नमुना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ बिगो कायम गरी सजाएँ हुन र बिगो रकम समेत जफत गर्न अख्तियारले माग दाबी गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप