शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कोरोनाभाइरस

फेरि बढ्दैछ कोभिड

सावधानी अपनाए आत्तिई हाल्नुपर्ने अवस्था छैन: सरुवा रोग विशेषज्ञ
बिहीबार, २३ चैत २०७९, १९ : ३५
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड सङ्क्रमण पुष्टि भएकालाई आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना सङ्क्रमणको जस्तो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरे । रुघा, खोकी, अन्य ज्वरो प्रमाणित नभएसम्म कोभिड पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन उनको आग्रह छ ।

यस्तै मन्त्रालयले सूचना नै जारी गरी ‘अस्तिको पानीमा भिजेको’ ‘हिजो चिसो खाएको’ आज धुलोमा गएको भनेर बहाना नबनाऔँ,’ भनेको छ । 

बढ्दै सङ्क्रमित सङ्ख्या 

साढे ६ महिनाअघि अर्थात् भदौ मसान्तसम्म सङ्क्रमितको दर दैनिक ११० को हाराहारीमा थियो । त्यसपछि क्रमशः सङ्क्रमण दर शून्य भएकोमा हाल पुनः उकालो लाग्न थालेको छ । 

भारतमा कोरोना भाइरस सङ्क्रमित बढेसँगै नेपालमा पनि यही चैत्र दोस्रो साता यता कोरोना सङ्क्रमितका सङ्ख्या बढ्न थालेको मन्त्रालयको तथ्याङ्कले पुष्टि गर्छ । 

गएको २४ घण्टामा ९८ जना कोरोना सङ्क्रमित भएका छन् । गएको एक साताको सङ्क्रमण दरको आँकडालाई हेर्दा बिहीबार चैत्र १६ गते ४२ जना, १७ गते १४२ जना, १८ गते ३८ जना, १९ गते ३८ जना, २० गते ७६ जना, २१ गते ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार विगतका अनुभवलाई आधार मान्दा बिस्तारै अब सङ्क्रमण दर बढ्न सक्छ । 

यही बेलामा नेपालमा लगातार मौसमी फ्लूका बिरामीहरू समेत देखिएका छन् । फ्लू सङ्क्रमण हुँदा जाँच गर्न जाने चलन छैन, जसले गर्दा कोरोना सङ्क्रमणको यकिन आँकडा आउन नसक्ने उनले बताए । कोरोना सङ्क्रमितको तथ्याङ्क अहिलेको भन्दा बढी हुन सक्ने उनको अनुमान छ । त्यसैले, सावधानी अपनाएर दैनिकी अघि बढाउन उनको सुझाव छ । 

‘पहिलोको जस्तो कोरोना भाइरस सङ्क्रमण जटिल छैन भनेर बेवास्ता भने गर्न हुँदैन,’ उनले भने, ‘कोरोना भाइरसविरुद्ध खोप लगाएका सबैमा प्रभावकारी हुन्छ भन्ने हुँदैन ।’

रोग प्रतिरोधात्मक क्षमता कमजोर, वृद्धावृद्ध, गर्भवती महिलामा सङ्क्रमण भई स्वास्थ्यमा समस्या आउने भएकाले सजग हुन अति आवश्यक रहेको उनको भनाइ छ । 

शंका गरिएकालाई परीक्षण

भाइरसले निरन्तर स्वरूप परिवर्तन गरिरहन्छन् । कोरोना भाइरसले पनि नयाँ नयाँ स्वरूप परिवर्तन गरिरहनुलाई नौलो मान्न नहुने डा. पुन बताउँछन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही दिन अघि गरेको र्‍यान्डम रूपमा २४ नमुनाको जिनोम सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोनको भेरियन्ट पुष्टि भएको थियो ।

विगत केही दिनदेखि छिमेकी मुलुकमा ओमिक्रोन एक्सबीएफ १.१६ को सङ्क्रमण फैलिएको हुँदा सिमानाबाट आवतजावत गर्ने शङ्कास्पद  यात्रुलाई सिमानाका हेल्थ डेस्कमा परीक्षण गराउन इडीसीडीका निर्देशक डा. चुमनलाल दासले आग्रह गरे । 

परीक्षण गर्दा पोजेटिभ देखिएमा आवश्यक परामर्श गरी उपचारका लागि नजिकैको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको डा.दासले बताए । 

सीमा नाका श्रीनगर, कृष्णनगर, बेलहिया, गड्डा चौकी हुँदै नेपाल प्रवेश गर्नेहरूमा सङ्क्रमण भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले सीमा नाकाहरूमा निगरानी बढाइएको छ । 

दृष्टि परिवर्तन गरौँ

नेपालमा पहिलो, दोस्रो चरणको कोरोना महामारी अघिको अवस्था र त्यसपछिको अवस्थालाई फरक नजरले हेरिनुपर्ने सरुवा रोग विशेषज्ञ डा. पुनको भनाइ छ । प्रि भ्याक्सिनेसन एरा अर्थात् कोरोना विरुद्धको खोप पर्याप्त मात्रा उपलब्ध नहुनु अघि र लगाएपछिको समयलाई हेरेर जोखिमलाई आकलन गर्न सकिने उनको बुझाई छ । 

‘धेरैमा दोस्रो लहरसम्म एक जनालाई कोरोना सङ्क्रमण हुँदा बिरामीको निको हुने हो कि होइन । उपचार कसरी, कहाँ गर्ने भन्ने बारेमा एक खालको अन्योल थियो ।’ उनले भने, ‘अस्पतालहरूमा स्वास्थ्य उपकरण पर्याप्त मात्रामा उपलब्ध नहुँदा विगतमा चिकित्सकहरू पनि कसरी उपचार गर्ने भन्नेमा अन्योल रहेको अवस्था थियो ।’

विगतमा जनशक्ति, स्वास्थ्य पूर्वाधार, औषधि र उत्परिवर्तित भाइरस सङ्क्रमण जटिल हुँदा तथा पर्याप्त मात्रामा खोप उपलब्ध नहुँदा पनि त्रसित भएको उनले बताए । 

कोरोना भाइरस सङ्क्रमण सुरु भएदेखि हालसम्म विभिन्न अनुसन्धानबाट नयाँ जानकारी पनि सहज भएकाले अहिलेको अवस्था भिन्न भएका उनको जिकिर छ । 

यस्तै, सङ्क्रमितको उपचार कसरी, औषधि के के, स्वास्थ्य संस्थामा पहिलाभन्दा स्वास्थ्य पूर्वाधारको उपलब्धता रहेकाले आत्तिई हाल्नुपर्ने अवस्था नभएको डा. पुनले बताए । 

कोरोना विरुद्धको खोप सहज उपलब्ध भएकाले यस अघिका महामारी भन्दा कोरोना सङ्क्रमणबारे एउटै दृष्टिकोण बनाउन नहुने उनको भनाई छ । 

विगतका अनुभवलाई आत्मसाथ गर्दै सङ्क्रमण उकालो लागेसँगै ओरालो लाग्ने भएकाले सावधानी अपनाएर दैनिकीलाई अगाडि बढाउन उनको सुझाव छ । दैनिक कार्य गर्दा मास्क लगाउने, साबुन पानीले हात धुँदा अहिले फैलिएको फ्लूलाई समेत रोक्न सहयोग गर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप