आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय भलिबल मंगलबारदेखि

शुक्रबार, २४ चैत २०७९, १९ : ३१
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

स्वर्गीय नेता बोगटीको सम्झनामा चैत २८ देखि वैशाख २ गतेसम्म प्रतियोगिता हुन लागेको हो । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले भाग लिने बताइएको छ । 

६ टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

प्रतिष्ठानका महासचिव निर्मल आचार्यले आठ वर्षअघि दिवंगत भएका नेता बोगटीको योगदानलाई संस्थागत गर्दै त्यस अनुसार सामाजिक कार्यहरु गर्न २०७२ सालमा कृष्णबहादुर महराको अध्यक्षतामा प्रतिष्ठान गठन भएको जानकारी  दिए । 

उनले यसै उद्देश्यअनुरुप भलिबल प्रतिगोयताको आयोजना गर्न लागेको बताए । आचार्यका अनुसार यस प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २०  लाख रुपियाँ प्रदान गर्ने र अपुग रकम अन्य स्रोतबाट संकलन गरिनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टिमले एक लाख तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने टिमले ५० हजार रुपियाँ प्राप्त गर्ने छन् । यसैगरी, विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई जनही दस हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिबलतर्फ पहिलो श्रृंखलामै उल्लेख्य राशीको पुरस्कार राखेकोमा आयोजकलाई धन्यवाद दिँदै प्रतियोगिताले निरन्तरता पाउनु पर्नेमा जोड दिए ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीकृष्ण अधिकारीले सादगी नेता बोगटीलाई नयाँ पुस्तामाझ चिनाउन खेल आयोजना गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप