आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

टुरिष्ट भनेर भाष्य निर्माण गर्न खोजियो, निर्वाचन क्षेत्रलाई न्याय गर्छु : स्वर्णिम वाग्ले

शुक्रबार, २४ चैत २०७९, २० : ०९
शुक्रबार, २४ चैत २०७९

पोखरा । अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे । कांग्रेस नेताहरूलाई पत्र पठाएर वाग्लेले पार्टी छाडेको जानकारी दिए । उनी आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

वाग्लेले समयसीमा नै तोकेर डेलिभरीको राजनीतिमा लाग्नुपर्ने र नेपाल बनाउने महाअभियानमा होमिएको बताउँदै आएका छन् । कांग्रेस परित्याग, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी र चुनावी एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले स्वर्णिम वाग्लेसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

कांग्रेससँगको लामो विरासत त्यागेर उपनिर्वाचन लड्न नयाँ पार्टी प्रवेश गर्नुभयो नि ? 

यो उर्बर उमेरमा देशमा केही योगदान गर्ने उद्देश्यले उपनिर्वाचनमा उम्मेदवार बनेको छु । रास्वपाको विधान पढेको छु । नयाँ लोकतान्त्रिक दलको रुपमा उदाएकाले २१ औं शताब्दीको आवश्यकता पनि हो भन्ने लाग्यो । यो संसारबाट बिदाइ भएर जाँदा आफ्ना केही लिगेसी छोडेर जान नयाँ विचारका साथ राजनीतिमा आएको हुँ । कानुन निर्माण, जलावायु परिवर्तनका मुद्दाहरु र धरासायी अर्थतन्त्रलाई निकास दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टी आजको आवश्यकता लाग्यो र  देश बनाउने महाअभियानमा जोडिएको हुँ । 

टिकट नपाएर कांग्रेस छोड्नु भयो भन्ने छ नि, हो ? 

हैन, टिकट नपाएको ६/७  महिना अघिको कुरा हो । त्यसपछिका घटनाहरुले सोच्न बाध्य बनाएको हो । यसपछिका बाटो, विचारहरु केही परिवर्तन भए । 

अहिले तनहुँलाई स्वर्णिम वाग्ले आवश्यक हो कि तपाईंको बाध्यता ? 

तनहुँका जनताले जिताएर पठाएका रामचन्द्र पौडेल भर्खरै राष्ट्रपति हुनुभयो । भूभागको हिसाबले पनि तनहुँ नेपालको केन्द्रविन्दुमा छ । राष्ट्रिय मुद्दाहरुमा पनि तनहुँ मुलुकको प्राथामिकता बन्न पुग्यो । यहाँबाट एउटा राष्ट्रिय सन्देशहरु पठाउन सक्छौं । तनहुँले जिताएर पठाए विकास निर्माणका काममा सहजीकरण गर्ने, लगानी भित्र्याउन सहज बनाउने छु । अर्को, सरकारलाई उत्तरदायी बनाइराख्नुपर्ने छ । 

तपाईंको उम्मेदवारी किन ? 

यस्तो सांसद बन्न सकौँ, जसले गर्दा तनहुँका जनतालाई गर्व होस् । अहिले राजनीतिक दलहरुले विकास निर्माणमा लामो फेरिस्त बताउँछन् । तर, नेपालमा सुशासन छैन । यहाँ कुशासन छ । हामीसँगै भएका देशहरु माथि पुगिसके । तर, नेपाल लगभग धेरै पछाडि परेको छ । सुधार गर्नुपर्ने पक्ष आर्थिक उन्नतिको हो । नेपालमा रोजगारी वृद्धि गर्न र सुशासन कायम गर्न र ठूलाठूला भ्रष्टाचारका फाइलहरु खोल्ने भनिएको छ । यसलाई सशक्त भएर अगाडि बढाउन एउटा आशाको सञ्चार गर्न मेरो उम्मेदवारी हो । अर्थतन्त्रमा झारफुक गर्न हैन, चिरफार गर्न आएको हुँ । विभिन्न दबाबलाई चिर्न आएको हुँ । 

आफ्नो प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ? 

अहिलेको आधुनिक युगमा सन्देशहरु घरघरमा, हातहातमा पुगेका छन् । वैशाख १० को निर्वाचनले के भन्छ, हेरौं । अब जनताले यसपाली तिम्रो बेला भएको छैन भनेको खण्डमा त्यो सहज तरिकाले स्वीकार्छौैं । तर,  हामी जित्छौं भन्ने छ । नेपालमै सम्भावना छ, सिर्जना गर्न मिलेर अघि बढ्नुपर्छ भन्ने हो । 

टुरिष्ट उम्मेदवारको संज्ञा पाइरहनु भएको छ नि ? 

नेपालको संविधानले कुनै पनि नागरिक जुनसुकै निर्वाचन क्षेत्रमा गएर लडे पनि हुन्छ भनेको छ । तनहुँका आदरणीय मित्र प्रदिप पौडेल काठमाडौं गएर जित्नु भयो । जिताउन म पनि हिँडेँ । त्यहाँका जनताले यस्तै प्रश्न गर्थे । म भन्थेँ– प्रदिपलाई म चिन्छु, प्रदिप टुरिष्ट होइन । 

टुरिष्ट भनेर एउटा भाष्य निर्माण गर्न खोजिएको छ । जो मान्छे खुबी देखेर त्यो निर्वाचन क्षेत्रलाई न्याय गर्छु भन्दा कुतर्क गर्ने प्रश्न हो यो । प्रचण्ड कास्कीमा जन्मनुभयो, चितवनमा हुर्कनुभयो । गोरखाबाट जित्नुभयो । म यही भेगको हिमालको पानी खाएर हुर्केको हुँ । भोलि संसदमा सशक्त कसरी बनाउने भन्ने बरु प्रश्न हुन सक्छ । 

जित्ने आधार के हुन् ? 

राजनीति एकदमै विकृत भयो । पैसाको लेनदेन गरेर उम्मेदवार बन्ने कुरा मौलायो । पार्टीभित्र सरकारमा यसले विकृति सिर्जना गरेको छ । मलजल गरेको छ । यसलाई प्रहार नगरी रोजगारी वृद्धि गर्ने, लगानीको माहोल बनाउन सकिँदैन । युवाहरुलाई विदेश पठाउनबाट रोक्ने योजना, मेरो अनुभव ज्ञान सिपलाई यो क्षेत्रमा ल्याएर घोप्ट्याउने कुरा नै मैले जित्ने आधार हो । 

तल्लो तह अर्थात् आम मतदाताको रेस्पोन्स के पाउनुभयो ?  

मैले अहिलेसम्म गरेका काम विकाससँग नै सम्बन्धित छ । त्यो राष्ट्रिय तहमा भए पनि गाउँगाउँमा पुगेर गरेका काम हुन् । पछिल्लो चरणमा पोषणमा काम गरेको छु । महाअभियानमा जोडिएका छौं । जनता एकदमै उत्साहित हुनुहुन्छ । राजनीतिक मोडेललाई धक्का दिने गरी हामी चुनाव जित्छौं । हामीले सोचेको लोकतान्त्रिक अभ्यासमा छोटो समयमा छिटो विकास गर्न आवश्यक छ । त्यो जनताले मूल्याङ्कन गरेर मतदान गर्नुहुन्छ । हामी घरदैलोमा पुग्दा एकदमै उत्साहित हुनुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप