मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु’

‘गण्डकीको मुख्यमन्त्री बन्ने प्रस्ताव छोडेर पर्खिबसेको थिएँ’ : गोविन्द भट्टराई
शुक्रबार, २४ चैत २०७९, ११ : ०४
शुक्रबार, २४ चैत २०७९

पोखरा । आगामी १० वैशाखमा हुने तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा काँग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार भएका छन् । भट्टराईले आफू रामचन्द्र पौडेलको उत्तराधिकारीका रूपमा निर्वाचन लडेकाले जित सुनिश्चित भएको बताउँदै आएका छन् । प्रस्तुत छ, उपपनिर्वाचनको विषयमा केन्द्रित रही रातोपाटीका लागि सञ्जय रानाभाटले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः 

उपनिर्वाचन आउन अब केही दिन मात्र बाँकी छ, तपाईंको तयारी के कस्तो छ  ? 

मेरो तयारी व्यक्तिगत चिनजान र यो ठाउँमा मैले काम गरेको आधारमा हो । यो चुनाव मैले एक्लै लडेको पनि होइन । नेपाली काँग्रेस दल र गठबन्धनमा आबद्ध सम्पूर्ण दल लडेको हुँदा यो सबै जना परिचालित भएर चुनाव लड्न कुरा भयो । मेरो व्यक्तिगत तयारी एउटा छ, त्यो भन्दा पनि पार्टी र गठबन्धनबाट भएकाले सामूहिक तयारीमा जुटेको छौँ । 

तपाईंका पार्टीका पूर्व नेता स्वर्णिम वाग्लेले पार्टी छोडेर तपाईंसँग प्रतिस्पर्धामा हुनुहुन्छ नि ?  

पार्टी छोड्ने, आउने क्रम त भइरहन्छ । यस क्रममा पार्टी छोडेर पहिला भइरहेको भन्दा राम्रो अवसर खोज्ने प्रयास त भइरहन्छन् । काँग्रेसमा स्थापना कालदेखि नै दुई वटा सोच देखिन्छ । जति दुःख पाए पनि जति सङ्घर्ष, जेल बस्नु परे पनि नेपाली काँग्रेस नेपाली जनतालाई स्वतन्त्रता दिलाउन, प्रजातन्त्र स्थापना गर्न अविचलित लाग्ने निष्ठाको राजनीति गर्ने एकथरी छन् । 

सँगसँगै अर्को थरी विचलनको राजनीति गर्ने देखिए । पञ्चायत कालमा अञ्चलाधीश प्राप्त गर्न जाने पनि थिए, मन्त्रीको लोभमा जाने पनि थिए । अहिले अन्य दलको लोभ देखेर जाने भेटिएका छन् । यो कुनै नौलो विषय पनि होइन । 

मान्छेमा कहिलेकाहीँ विचलन पनि आउँदो रैछ । त्यो विचलनका कारण मान्छेले पार्टी छोड्छन् । फेरि त्यो सोचमा परिवर्तन भएपछि ती मान्छे फर्किने गरेका पनि छन् । यस कारण यो पार्टी हाँक्ने भनेको दरो सोच र प्रतिबद्धता, सिद्धान्तप्रतिको निष्ठा, इमानदारिता, नैतिकता र लोभलालचमा नफस्ने मान्छेहरू नै हो । यस कारणले त काँग्रेस काँग्रेस भएको छ । 

काँग्रेसमा स्वर्णिम वाग्लेको लामो विरासत थियो । पार्टीको सिफारिसबाट योजना आयोगको दुई दुई पटक त उपाध्यक्ष भइसकेको मान्छे, पार्टी परिवर्तन गर्ने परिस्थितिमा किन पुग्नुभयो, तपाईंलाई के लाग्छ ?  

पार्टी भित्रका कतिपय तिक्तताले गर्दा केही साथीहरू त्यो ठाउँमा पुग्नु भएको छ । अहिले  मलाई के लाग्छ भने अहिले केन्द्रीय कार्यसमितिको बैठकले खास गरी तनहुँ र चितवनको हकमा केही निर्णय गरेको छ । अब केही दिनमै त्यो असन्तुष्टि पनि बिस्तारै हट्दै जानेछ । अब तनहुँमा हामी भारी मतान्तरका साथ चुनाव जित्छौँ । 

कुरा रह्यो लामो विरासतको । अघिल्लो पटक लगातार १० वर्ष क्रियाशीलता नपुगेको कारणले उहाँ केन्द्रीय सदस्य बन्न सक्नु भएन । कसले कहाँ पढेको हो, कसले कहाँबाट सङ्घर्ष गरेको, त्यो इतिहासले देखाउँछ  । म सबै सत्य तथ्य बोल्ने मान्छे हु । मेरो विरासत  खुला किताबजस्तै छ । घरपरिवार इतिहास खोतल्दै गयो भने भेटिन्छ । यहाँ आफै विरासत बनाउँदै जान्छन् र देखाउँछन् पनि । त्यस्तो विरासत भएको मान्छे मेरो जिल्लामा कोही आउँछ जस्तो मलाई लाग्दैन ।

उपचुनावमा त्रिपक्षीय भिडन्त हुने देखियो नि ? 

हैन, यहाँ दुई पक्षीय भिडन्त हुन्छ । जित्ने काँग्रेस पार्टी हो । निकटतम प्रतिस्पर्धी एमाले हुन्छ । तेस्रो अब को हुन्छ, त्यो समयले नै बताउला । 

काँग्रेसभित्र तपाईंलाई अवसर नपाएको नेता भन्छन्, यसबारे के भन्नु हुन्छ ? 

अवसर त मैले वडामा चुनाव लड्ने पनि पाएको थिए, लडिनँ । स्थानीय चुनावमा भाग लिन र आउट पोस्ट तयार गर्ने मलाई घाँसीकुवा गाउँपालिकाको अध्यक्षको अफर गरिएको थियो, त्यो लिइनँ । 

विगतमा तनहुँमा जुन परिस्थिति सिर्जना भयो, यहाँ पुराना नेता धेरै भएको हुँदा पनि वास्तवमा थिचिएका अवस्था आयो । अहिले पनि प्रदेशमा चुनाव लडेर मुख्यमन्त्री हुन अवसर आएको थियो, त्यो बाटो सम्हालिनँ । 

मैले यहाँ बसिराख्दा ती पदमा काम गरेका मान्छेहरूका लागि हौसलालाई निरुत्साहित गरिनँ । अर्को मलाई समानुपातिकमा पनि राखिएको थियो । समानुपातिकमा पनि जान्नँ, मैले प्रत्यक्ष निर्वाचन नै लड्छु भनेर निर्णय गरेँ, जो अहिले बल्ल जुर्‍यो । 

२०७४ को निर्वाचनमा त प्रदेशसभा सदस्यमै हार्नु भएको थियो नि ? 

त्यति बेला काँग्रेसमा आन्तरिक रूपमा कलह थियो । अहिले परिस्थिति त्यस्तो छैन, चेन्ज भएको छ । केन्द्रमा हाम्रो सरकार छ भने प्रदेशमा हाम्रो सरकार बन्ने अवस्थामा छ । सत्तापक्ष सँगसँगै छौँ । पहिला जे भयो, त्यो दुर्घटना थियो । त्यसले तनहुँमा काँग्रेस पत्ता साफ हुने अवस्था जो आयो  । 

अहिले काँग्रेसमा सुधार आएको छ भन्ने तथ्य मंसिरकै चुनाव हेर्दा पनि हुन्छ । केन्द्रमा र प्रदेशमा काँग्रेस उम्मेदवार भारी मतान्तरले विजयी भएको अवस्था हो । अहिले यहाँ अवस्था सुधारिएर आएको छ । 

रामचन्द्र दाइलाई मतदान गर्ने जिल्लावासीहरू अत्यन्त खुसी हुनुहुन्छ । किनकि उहाँ देशको राष्ट्रपति बन्नुभएको छ । अर्को पक्ष रामचन्द्र दाइले अघि बढाएका जे जति योजना थिए, त्यसलाई डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप