शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

गायक–गायिका बाँच्ने आधार नै स्टेज कार्यक्रम हो : गायिका मिलन नेवार

शनिबार, २५ चैत २०७९, १६ : ३३
शनिबार, २५ चैत २०७९

मिलन अमात्यको रूपमा चर्चित गायिका अचेल मिलन नेवारका रूपमा चिनिन्छिन् । पति मेन्सन अमात्यसँग डिभोर्सपछि आफ्नो थर ‘अमात्य’ हटाएर उनले नेवार राखेकी हुन् ।

अहिले उनी जहाँ जान्छिन्, आफूलाई मिलन नेवारको रूपमा परिचय गराउँछिन् । तर नेपाली सांगीतिक क्षेत्रमा उनी मिलन अमात्यकै रूपमा चर्चित छिन् । आधुनिक, गजल र फिल्मका अलावा उनले एक दर्जनभन्दा बढी भाषामा गीत गाइसकेकी छन् ।

उनी स्टेज कार्यक्रममा धेरै व्यस्त कलाकार पनि हुन् । स्टेज कार्यक्रम गायक–गायिकाको बाँच्ने आधार भएको बताउँछिन् उनी । स्टेज कार्यक्रमको अलावा ‘द भ्वाइस किड्स’ को कोचसमेत रहेकी गायिका मिलन नेवारलाई रातोपाटीले दश प्रश्न गरेको छ–

पछिल्लो समय के गर्दै हुनुहुन्छ ?

बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को सुटिङ चलिरहेको छ । म त्यसमा कोचको रूपमा छु । त्यसको अलावा विभिन्न स्टेज कार्यक्रमहरुमा व्यस्त छु ।

स्टेज कार्यक्रमले त भ्याइ–नभ्याई होला नि, हैन ?

स्टेज कार्यक्रम धेरै आउने गरेका छन् । ‘द भ्वाइस किड्स’ को सुटिङले समय मिलाउन निकै गाह्रो छ । मिलेसम्म समय म्यानेज गरेर कार्यक्रमहरू गर्ने गरेकी छु ।

२०७९ साल बिदा हुँदैछ, यो वर्ष कस्तो रह्यो ?

यो वर्ष मेरालागि निकै ‘लकी’ साबित भयो । ‘चरीले काफल टिप्यो’, ‘सुनसान रातमा’ जस्ता मेरा गीत हिट भए । ‘फुलबुट्टे सारी’ पनि यो वर्ष चर्चामै छ । केही दिन अगाडि रिलिज भएको ‘प्रसाद २’ मा मेरो स्वर रहेको गीत पनि चर्चामा छ । देश विदेशका स्टेज कार्यक्रम गरिरहेकी छु । 

272233943_4502637733181288_875414004854512752_nस्टेज कार्यक्रमबाट राम्रै आम्दानी हुन्छ ?

अहिले गायक–गायिका बाँच्ने आधार नै स्टेज कार्यक्रम हो । मेरो पनि महिनामा १०/१२ वटासम्म कार्यक्रम हुन्छ । कहिले हप्तामै ३/४ वटा हुन्छ । सिजनमा स्टेज कार्यक्रमबाट १०/१२ लाख, कहिले त्यो भन्दा पनि बढी कमाउँछु । स्टेज कार्यक्रम कम हुँदा आम्दानी थोरै पनि हुन्छ ।

स्टेज कार्यक्रममा कस्ता गीत बढी चल्छन् ?

स्टेज कार्यक्रममा दर्शक आउने भनेको रमाउन, नाँच्न र खुसी हुन आउने हुन् । त्यसैले कार्यक्रममा सेन्टिमेन्टलभन्दा पनि रोमान्टिक मेलोडियस गीतसंगीत बढी चल्छ । कतिपय अवस्थामा त्यहाँको परिस्थिति हेरेर गाउनुपर्ने हुन्छ । मैले भने स्टेजमा ‘सुनसान रातमा’, ‘गाला रातै’, ‘चरिले काफल टिप्यो’, ‘फुलबुट्टे सारी’ लगायत रोमान्टिक गीत प्रस्तुत गर्दै आएकी छु ।

गायक/गायिका स्टेज केन्द्रित हुँदा कालजयी गीत बन्न छोड्यो भनिन्छ नि ?

दर्शक स्रोताको रुची जेमा छ, त्यस्ता गीतसंगीत बन्ने हो । अचेल गायकगायिका बाँच्ने आधार भनेको स्टेज कार्यक्रम हो । त्यसलाई लक्षित गरेर गीत बन्नु स्वाभाविक पनि हो । अचेल सेमी क्लासिकल, मेलोडियस र डान्सिङ नम्बर प्रायः रुचाउने गरिन्छ । मचाहिँ सबै प्रकारको गीत गाउने गर्छु ।

धेरै गीत गाउनु भएको छ । यस्तोचाहिँ गीत गाउन पाए हुन्थ्यो भन्ने केही छ ?

गजल, रोमान्टिक, डान्सिङ, सेन्टिमेन्टल, फिल्मी लगायत अहिलेसम्म धेरै प्रकारको गीत मैले गाइसकेँ । अहिले सेमी क्लासिकलमा रहर छ । त्यस्तो एउटा राम्रो गीत तयार पार्न मन लागेको छ । त्यो गीत यस्तो हुनेछ, जसले नयाँ पुस्तालाई प्रेरणा दिन सकोस् । कसैलाई गायन अभ्यास गर्न मन लाग्यो भने त्यो गीत सदुपयोग गर्न सकोस् ।

गायनमा भित्रिने नयाँ पुस्ताले पुरानालाई विस्थापित गरे भनिन्छ नि, हो ?

मलाई त्यस्तो लाग्दैन । पुरानाको स्थान आफ्नै छ । उनीहरूको गायन आफ्नो तरिकाबाट अगाडि बढिरहेका छन् । समय परिवर्तन हुँदै जाँदा नयाँ पुस्ता भित्रिनु स्वाभाविक हो । अहिले भित्रिएका नयाँ पुस्ता ट्यालेन्टसहित आएका छन् । नयाँ पुस्ताको आगमनले गायन परिमार्जित भएको छ भने भेराइटी पनि भित्रिएको छ ।

गायक–गायिकालाई मोडलिङमा पनि देख्न सकिन्छ । त्यो रहर हो कि बाध्यता ?

गायक–गायिकाको गीत हिट हुन्छ, सबै सुनेको हुन्छ । नाम पनि सबैले सुनेको हुन्छ । तर यो गीत गाउने व्यक्ति को हो भन्ने कुरा ओझेलमा हुन्छ । कतिपय अवस्थामा स्टेजमा गाउँदा यो गीत तपाईको पो हो भनेर सोध्छन् । यो कुराबाट पीडित भएर पनि कतिपय गायक–गायिकाले आफ्नो गीतमा आफैले मोडलिङ गर्दै आएका छन् । त्यो मोडलिङ फेस चिनाउने हिसाबले गरिएको हो । कतिपयले गायन र मोडलिङ समेत एकसाथ अगाडि बढाइरहेका छन् । विदेशका गीत–संगीत नियाल्ने हो भने गायक–गायिका आफै अभिनय गरिरहेका हुन्छन् । उनीहरू अभिनेता, अभिनेत्रीभन्दा पनि चर्चित छन् ।

अचेल गायक–गायिकालाई गायनको अलावा अर्काे पेसा रोजेको देख्न सकिन्छ । गीत–संगीतबाट बाँच्ने अवस्था नरहेको हो ?

अहिले देशकै अर्थतन्त्र समस्यामा छ । धेरै मानिस आर्थिक चपेटामा छन् । यो अवस्थाले गीत–संगीतमा पनि असर गर्नु स्वाभाविक हो । मेरो कुरो गर्ने हो भने गीत–संगीतले सबैथोक दिएको छ । मसँग घर, गाडी लगायत जे–जति छ, त्यो सबै गीत–संगीतकै देन हो ।

अहिलेसम्म संगीतको कारणले म कहिल्यै अप्ठ्यारोमा परेकी छैन । ‘स्ट्रगल पिरियड’मा मलाई पनि गाह्रो थियो । तर मैले गीत–संगीत बाहेकको विकल्प खोजिनँ । गीत–संगीत नै रोज्छु, यही पेसा बनाउँछु भनेर अठोटका साथ आउनेले अर्काे विकल्प खोज्नुपर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप