प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
सारांश
- त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएपछि विश्वविद्यालय प्रशासनमा हलचल मच्चिएको छ ।
- त्रिविले घटनाको छानबिनका लागि आइतबार आकस्मिक बैठक आह्वान गरेको छ र दोषी पत्ता लगाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
- त्रिवि स्ववियुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ, अन्यथा डिन र सहायक डिनले राजीनामा दिनुपर्ने चेतावनी दिएको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएपछि विश्वविद्यालय प्रशासनमा हलचल मच्चिएको छ ।
बिहीबार देशभरका क्याम्पसहरूमा सञ्चालित MGT 515: Organizational Behavior विषयको प्रश्नपत्र १२ बजेर ६ मिनेटमै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि त्रिविको परीक्षा प्रणालीको गोपनीयता र सुरक्षामाथि गम्भीर प्रश्न उठेको हो।
यो गम्भीर लापरबाही सार्वजनिक भएलगत्तै विश्वविद्यालयले दोषी पत्ता लगाउन कदम चाल्ने निर्णय गरेको छ । त्रिवि व्यवस्थापन सङ्कायका डिन प्रा.डा. महानन्द चालिसेले घटनाको छानबिनका लागि आइतबार बिहान ७:३० बजे आकस्मिक बैठक आह्वान गरेका छन् ।
उक्त बैठकले त्रिवि र डिन कार्यालयको तर्फबाट संयुक्त छानबिन समिति गठन गर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन आधिकारिक रूपमा गृहकार्य अघि बढाउने तयारी गरेको छ ।
प्रश्नपत्र ह्वाट्सएप र फेसबुकका विभिन्न ग्रुपहरूमा भाइरल भएपछि त्रिवि प्रशासनले अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई औपचारिक रूपमा पत्राचार गरेको छ । प्रश्नपत्र सामाजिक सञ्जालमा फैलाउन प्रयोग भएका मोबाइल नम्बर र च्याटहरूलाई पछ्याउँदै साइबर ब्युरोले अनुसन्धान सुरु गरेको छ ।
गत बिहीबार १२ बजेदेखि ४ बजेसम्म सञ्चालित एमबीएस प्रथम सेमेस्टरको परीक्षामा प्रश्नपत्र वितरण भएको दुई देखि ६ मिनेटभित्रै बाहिरिएको थियो ।
सामान्यतया केन्द्राध्यक्षको रोहबरमा परीक्षा सुरु हुनुभन्दा केही समय अघि मात्र शिलबन्दी खोलिने प्रश्नपत्र हलभित्र वितरण गर्दागर्दै सामाजिक सञ्जालमा पुग्नुले परीक्षा केन्द्रको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाएको छ ।
यद्यपि, डिन चालिसेले यो 'प्रश्नपत्र लिक' नभएर परीक्षा सुरु भएपछि कसैले मोबाइल प्रयोग गरी खिचेर बाहिर पठाएको दाबी गरेका छन् ।
यस घटनाले विद्यार्थीहरूको मेहनत र विश्वविद्यालयको प्रतिष्ठामा आँच पुगेको भन्दै त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले कडा आपत्ति जनाएको छ । स्ववियु सभापति दिपक राज जोशीले यो घटना अत्यन्तै गम्भीर र संवेदनशील भएको बताउँदै दुई दिनभित्र छानबिन गरी दोषी सार्वजनिक गर्न माग गरेका छन् ।
सभापति जोशीले चेतावनी दिँदै भने, 'परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन। यदि दुई दिनभित्र सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न सकिँदैन भने व्यवस्थापन सङ्कायका डिन र परीक्षा हेर्ने सहायक डिनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्छ ।'
त्रिविले आइतबारको बैठकबाट छानबिन समितिको कार्यादेश र थप कदमहरू तय गर्ने बताएको छ । साइबर ब्युरोको प्राविधिक सहयोगमा दोषी पत्ता लाग्ने विश्वास लिइएको छ ।
व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईले शनिबार साइबर ब्युरोलाई पत्राचार गर्दै प्रश्नपत्रसम्बन्धी सामग्री विभिन्न ह्वाट्सएप समूहमा पोस्ट गरिएको जानकारी साउन ८ गते राति करिब १० बजे 'टीयू स्टुटेन्ट' नामक फेसबुक आईडीमार्फत प्राप्त भएको उल्लेख गरेका छन्।
पत्रमा घटनामा संलग्न व्यक्ति, संस्था तथा सम्भावित परीक्षा केन्द्रको पहिचान गरी आवश्यक अनुसन्धान गर्न तथा प्रचलित कानुनबमोजिम कडा कारबाहीका लागि आवश्यक सहयोग गरिदिन साइबर ब्युरोसँग अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण