शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जब बलात्कारको दृश्यका लागि निर्देशकसँग भिडिन् जया बच्चन

आइतबार, २६ चैत २०७९, १६ : १०
आइतबार, २६ चैत २०७९

जया बच्चन आज आफ्नो ७५ औँ जन्मदिन मनाइरहेकी छिन् । फिल्म ‘गुड्डी’ बाट फिल्मी उद्योगमा कदम राख्ने जयाले आफ्नो करियरमा थुप्रै उत्कृष्ट भूमिका निभाएकी छिन् र ठुला फिल्म निर्मातासँग काम गरिन् । आज जयालाई निर्धक्क बोल्ने र शक्तिशाली व्यक्तित्वको रूपमा हेरिन्छ । तर उनको यस्तो स्वभाव निकै अघिदेखि नै थियो ।

बलात्कारको दृश्यका लागि निर्देशकसँग भिडिन् जया

आफ्नो समयमा जया बच्चन उत्कृष्ट अभिनेत्री थिइन्, तर पर्दामा छाला देखाउनुलाई उनी सही मान्दिन थिन् । यस्तोमा जब फिल्म ‘एक नजर’ को एक बलात्कारको दृश्य छायाङ्कनका लागि निर्देशकले उनको कपडा च्यात्नुपर्ने माग राख्दा उनी अस्वीकार गरिन् । राज्य सभा टिभीसँगको कुराकानीमा जया बच्चनले यसबारे बताएकी थिइन् । यो फिल्ममा अभिनेता सुधीरको पात्रले जयाको पात्रलाई बलात्कार गर्दछ ।

दृश्य छायाङ्कनको कहानी सुनाउँदै उनले भनेकी थिइन्, ‘‘तिम्रो कपडा च्यातिने’ भनेर निर्देशकले भनेका थिए । मैले म यस्तो हुन दिन्नँ भनेकी थिएँ । मेरो र बाबु दा (निर्देशक बि आर इशारा) बीच ठुलो बहस भयो । उनले फिल्म बन्द गरिदिने धम्की दिए मैले ‘ठिक छ, बन्दै होस्’ भनिदिएँ । त्यसपछि फिल्मका निर्माताले आर्टिस्ट असोसिएसनमा जाने बताए । मैले पनि जे मन लागेको छ, त्यही गर भनेँ ।’

जयाले यसका लागि सबैसँग झगडा गरिन् तर आफ्नो कुरामा अडिग भइन् । उनले ‘मलाई यो फिल्ममा जबरजस्ती केही गराइयो भने तिमीहरूले हेर्दै जाओ न, म यति खराब काम गर्नेछु कि तिमीहरूको फिल्म डुब्नेछ’ भनेर तर्साइन् ।’ जया र निर्माताको यो बहस पछि त्यस दिन सुटिङ रद्द भयो । त्यसको दुई दिनसम्म पनि यसबारे कुनै काम भएको थिएन ।’

अमिताभले गरे बचाउ

यसका लागि अमिताभले निर्माताको बचाउ गरेका थिए । यसबारे नायिकाले भनेकी थिइन्, ‘अमित जीले मलाई ‘तपाईं यहाँ काम गर्न आउनुभएको हो । यदि यो तपाईंको भूमिका हो र यही तरिकाले लेखिएको हो भने तपाईंले यो गर्नु नै पर्ने हुन्छ । तपाईंले कसरी अस्वीकार गर्न सक्नुहुन्छ ? ’ मैले उनलाई भनेँ, ‘म आफ्नो कपडा च्यात्न दिन्नँ । म स्क्रिनमा च्यात्तिएको कपडासहित देखिन चाहन्नँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप